वि.सं. २०६० सालमा ‘देउरालीको डाँडैमाथि पर्खी बस्छु तिमीलाई साथी…’ पहिलो पटक सार्वजनिक गरेर नेपाली गीत लेखनमा होमिएका गीतकार अशोककुमार तामाङका अहिले आउँदा स्रोता÷दर्शकमाझ लोकप्रिय छन् गीतकारका रुपमा । उनका जति गीत सार्वजनिक छन् ति सबै स्रोता÷दर्शकको रोजाइमा पर्न सफल भएका छन् । उनको पछिल्लो समय सार्वजनिक आधुनिक गीतिसङ्ग्रह ‘मातृभूमि’मा रहेका ‘हजार गल्ति तिम्रा मैले माफ गरिदिएँ…’, ‘हाम्रो माया संसारभरि अमर बनिरहोस्…’, ‘विदेशमा छु त के भो र…’, ‘एक अञ्जुली मायाको प्यासी खोज्दै म तिमी सामु आएँ…’, जस्ता गीत लोकप्रिय छन् ।
दक्षिणकाली नगरपालीका–१मा बुबा कालीबहादुर तामाङ र माता कान्छीमाया तामाङको कोखबाट पहिलो सन्तानका रुपमा जन्मिएका अशोक सानैदेखि गीत सङ्गीतमा रुची भएका कारण आफू यो क्षेत्रमा आएको बताउँछन् । बाघ भैरव स्कुल कीर्तिपुरबाट एसएलसी, पव्लिक युज कलेज क्षेत्रपाटीबाट इन्टरमिडियट र सप्तगण्डकी क्याम्पसबाट शिक्षा शास्त्रमा स्नातक गरेका अशोक विगतका केही वर्ष शैक्षिक संस्थाहरुमा अध्यापनका रुपमा सक्रिय थिए ।
मथुरा श्रेष्ठसँग र गोविन्द थापासँग भोकल (शास्त्रीय सङ्गीत)को समेत प्रशिक्षण लिएका अशोक २०४८ सालतिर ‘स्होम्हेन्दो’ साँस्कृतिक परिवारको उपाध्यक्षमा रहेका उनी सो संस्थाबाट धेरै साङ्गीतिक कार्यक्रम सम्पन्न गरेका थिए ।
एक भाइ र एक बहिनीका दाजु समेत रहेका अशोकका कर्महरुलाई यतिवेला उनकी श्रीमती रञ्जना र छोरा अरोज अनि छोरी अरोमाले साथ दिइरहेका छन् । सुख–दुःख, माया–प्रेम, सामाजिक परिवेशका गीतहरु लेखेर स्रोताहरुको मन जित्न सफल भएका अशोकले सानो छँदा रेडियोबाट बज्ने गीतहरु सुनेर आफू पनि यस्तै गीत लेख्न पाए कस्तो हुन्थ्यो भन्ने मनमा लागिरहने र स्थानीय प्राकृतिक परिवेशले आफूले गीत लेख्न सुरु गरेको बताउँछन् ।
‘गीत सङ्गीत भनेको मान्छेका लागि अनिवार्य हो । जीवनका लागि गीत सङ्गीत उपयोगी भइसकेको छ । जसले दुःख र सुखका क्षणहरुमा साथ दिन्छ । जीवनका लागि सङ्गीत भनेको मेडिटेशन नै भइसकेको छ’, उनी भन्छन् । खास गरी सुगम सङ्गीतमा कलम चलाउने तामाङ अहिले ‘अरोमा इन्टरटेनमेन्ट’ मार्फत युट्यव च्यानलबाट पनि उनी यस क्षेत्रको श्रीबृद्धिमा तल्लिन देखिन्छिन् ।
यतिवेला दोस्रो एल्बमको तयारीमा रहेका उनी यो एल्बममा डान्सिङ, आधुनिक र राष्ट्रिय सबै गीत समावेस गर्न लागेको बताउँछन् । यो एल्बमा रहेका गीतमा एउटा गीत आफैँ गाउने सोचमा रहेका छन् उनी । खासगरी राष्ट्रभाव रहेका गीत मनपराउने उनी सबैखाले गीत लेख्न रुची भएको बताउँछन् ।
गायकहरु त विभिन्न स्टेज शोहरुले बाँचिरहेका हुन्छन् भने यसमा लाग्ने अन्य क्षेत्रका मानिसहरुलाई जीवन निर्वाह गर्नका लागि वैकल्पिक पेशा अपनाउनुपर्ने बाध्यता भएको छ । गीत सङ्गीतकै क्षेत्रमा आफूलाई निरन्तर क्रियाशील गराउने प्रण गरेका अशोक जीवनको आरोह–अवरोहमा भोगेका अनुभूतिहरुलाई गीत सङ्गीतमार्फत उजागार गर्ने लक्ष्य छ ।
पछिल्लो समय विभिन्न सौन्दर्य प्रतियोगितामा संलग्न रहेका उनी यतिवेला सौन्दर्य प्रतियोगिता मिस ग्ल्याम नेपालको अन्तिम तयारीमा जुटेका छन् । मिस ग्ल्याम नेपालका अध्यक्ष रहेका उनी किशोरीहरुमा आत्म विश्वास बढाउने, व्यक्तित्व विकास गराउने, वतृत्व कलाको विकास गराउने र नेपाली पोशाकलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य लिएर यो प्रतियोगिता आयोजना गरिरहेको बताउँछन् । यो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी माघ ४ गते राजधानीको छायाँ सेन्टरमा हुँदैछ ।
विभिन्न क्षेत्रमा आफूलाई संलग्न गराएको भए पनि गीत सङ्गीत क्षेत्रमै आफूलाई पूर्णरुपमा सर्मपित गर्ने चाह रहेको र अबका दिनमा आफूलाई यसतर्फ लगाउने उनको चाह छ ।
गीत सङ्गीतका कर्महरुमा आफूलाई ब्यस्त बनाउँदै आएका अशोकका आगामी दिनमा अझ राम्रा राम्रा क्रिएशनले नेपाली गीत सङ्गीत समृद्ध बनोस्, उनका मौलिक क्रिएशनको रस्वादन गर्न पाइयोस यही गीताकामना अशोकसँग ।

-साभार रंगसंसार डट कम , गीता अधिकारी

तपाईको प्रतिक्रिया