नयाँ आयमका गीत, दुखी गरिब, भरिया, नारीका गीत, दमन र शोसनविरुद्धका सयौँ गीतहरु उहाँले रेर्कड गरिसक्नु भएको छ । धेरैले उहाँलाई जनवादी गायिका भनेर चिन्ने गर्छिन्, उहाँ हुन् चर्चित गायिका निर्मला घिसिङ । त्यति मात्रैमा सिमित नभएर नेपाली गीत–संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी घिसिङले नेपाली आधुनिक संगीतमा पनि एउटा अमिट छाप छोड्न सफल भएकी छिन् । राष्ट्रिय अन्तराष्ट्रिय रुपमा जहाँ पुगे पनि नेपाली संगीतको प्रवद्र्धन र फिजाइरहनु भएको छ ।
उहाँका पछिल्लो समय बजारमा आएका “कसले बनायो दाजै उडि जाने बस”, “होई च्याङ्बा ओई च्याङ्बा”, “विदेशी गल्लि गल्लिमा” लगायतका गीतहरु निकै चर्चामा छन् । चलचित्रहरुमा उहाँको स्वर धेरै नै रुचाइएकी छिन् । तिनै गायिका घिसिङ बुबा सोनाम सिं घिसिङ र आमा मन्दो मायाँ तामाङको कोखबाट मकवानपुर जिल्लाको फापरबारी गाउँपालिकास्थित लामिटारमा जन्मिनु भएकी हुन् । प्रस्तुत छ, झण्डै एक दशक नेपाली गीतमा–संगीतमा बिताउनु भएका घिसिङसँग कला संवादमा इकमान लामासँग गरिएको कुराकानीः
हिजोआज के मा व्यस्त हुनुहुन्छ ?
अहिले प्राय गीत रेकिर्डिङ र प्रोग्रामहरुमा नै बिजी छु ।
छोटो समयमा नै यति धेरै चर्चित हुनुभयो, कस्तो महसुस हुन्छ?
मैले यो क्षेत्रमा करिब १ दशक भन्दा बढी समय बिताईसकेकी छु, त्यसकारण छोटो समय भन्न त्यति नमिल्ला बरु यो अवधिभरी मैले आफुलाई क्रियाशिल राखेँ त्यसकारण अहिले केहि हदसम्म भएपनि मलाई स्रोता दर्शकले गायिकाको रुपमा चिन्न थाल्नु भएको छ, हरेक कुरामा निरन्तरता भयो भने एकदिन अवश्य समयले साथ दिन्छ जस्तो लाग्छ मलाई ।
तपाईको पहिलो रेकर्डिङ गीत कुन हो, र कहिले गर्नु भएको थियो ?
२०६२÷०६३ साल तिर पहिलो चोटि स्टुडियोमा गीत रेकर्डिङ भएको थियो मेरो, जुन प्रगतिशिल गीत थियो त्यो । “तिमी झन आगो बन्नु लक्ष्य नपुग्दै म ढलेछु भने” भन्ने बोलको गीत थियो ।
तपाईलाई त जनवादी गायिकाको रुपमा पनि चिनिन्छ, आफुलाई के लाग्छ ?
विशुद्ध मनोरन्जनात्मक मात्रै भन्दा पनि समाज, जनता र सिंगो राष्ट्रको लागि गाएको गीतहरुमार्फत आफ्नो परिचय बनाउन पाउनु अवश्य नै गौरवको कुरा हो । मनोरन्जनका लागि मात्रै गाउने धेरै हुनुहुन्छ, सामाजिक÷राजनीतिक विषयहरुलाई लिएर रुपान्तरणका लागि गाउने गायक÷गायीका भने अत्यन्तै न्युन छन् । त्यसकारण यसको एक हिस्सा बन्न पाउनु मेरा लागि खुशीको कुरा हो । यद्यपि पछिल्लो समय दुवै धारलाई संगै लगिरहेकिछु । यो परिचयले मलाई गौरवान्वित बनाउँछ ।
गायनबाट जिविका चलाउन कठिन छ भनिन्छ नि ?
सफल नहुन्जेल त गायनमा मात्रै नभएर सबै क्षेत्रमा कठिन नै छ । यद्यपि गायन सहज विषय र छिट्टै प्रगति गर्न सक्ने क्षेत्र होईन । यसमा निश्चित समय पार भएपछि प्रोफिटको हिसाब गर्छु भन्ने पनि हुन्न । त्यसकारण यो क्षेत्रमा सर्वप्रथम त रुचि, समर्पण र मेहनत हुन जरुरी छ । अरु बाँकी अवसरहरु त समयले निर्धारण गर्ने हो, निरन्तरता चाहिँ हुनुपर्छ ।
तपाईले गाउँनु भएको पछिल्लो समयको चर्चित गीतहरु लिनु पर्दा कुन–कुन पर्छ ?
पछिल्लो समय मैले गाएको गीत “कसले बनायो दाजै उडि जाने बस” सर्वाधिक चर्चामा रह्यो । यो गित नेत्रविक्रम चन्दले लेख्नु भएको र माईला लामाले संगित गर्नु भएको हो । त्यस पश्चात तामाङ सेलो गित “होई च्याङ्बा ओई च्याङ्बा” सर्वाधिक चर्चित गीत हो । भर्खरै रिलीज भएको गीत “विदेशी गल्लि गल्लिमा”लाई पनि धेरैले रुचाउनु भएको छ । यो गितको शब्द संगितकार चिरण पुन हुनुहुन्छ ।
यदि तपाई गायिका नभएको भए आज के गर्दै हुनुहुथ्यो होला ?
गायिका नै बन्छु भन्ने थियो, यो बाहेक केहि पनि सोचिएन ।
तपाईको आवाज अरुको भन्दा पृथक छ भनिन्छ, यसले तपाईलाई के फाइदा हुन्छ ?
सबैको आफ्नै प्रकारको हुन्छ, मेरो नि आफ्नै प्रकारको छ । आफ्नै प्रकारको क्वालिटी भएको राम्रो ।
अहिले देशमा हत्या र बलात्कार र चोरीका घटनाहरु बढिरहेको छन्, किन होला ?
सामाजिक सुरक्षाको विषयलाई मजबुत नबनाईदा देशमा यस्ता घटनाहरु बढेको जस्तो लाग्छ । अपराधीलाई कानुनको कठघरामा भन्दा पनि राजनीतिक संरक्षण दिई उन्मुक्त बनाईँदा अपराधीको मनोबल बढ्दै गएको छ ।
देशको राजनीतिक घटनाक्रमहरुसँग अपडेट हुनुहुन्छ होला, कस्तो लाग्दैछ ?
हजुर, समाचार पत्रपत्रिकाद्धारा नै अपडेट हुने हो । राजनीतिक स्थायित्व होला, देश विकास होला र जनताले सुःख पाउँला भन्ने आशा त भईहाल्छ नै । तर सोचे जस्तो र अपेक्षा गरेजस्तो राजनीतिक परिस्थित अझै बनेको छैन । देश र जनताको लागि राजनीती भन्दा पनि व्यक्ति र पार्टीको स्वार्थ केन्द्रित राजनीति देशले कहिलेसम्म भोग्नु पर्ने हो भन्न सकिन्न ।
अन्त्यमा केही भन्नु छ की ?
तपाईलार्ई यो समयको लागि हार्दिक धन्यवाद भन्न चाहन्छु ।
यो हरेक हप्ताको विहीबार प्रकाशित हुने डाँडापारि सन्देश साप्ताहिकमा छापिएको छ ।