काठमाडौ २० कात्तिक ।
सगरमाथा टेलिभिजनकी पत्रकार शिखा श्रेष्ठ र क्यामरा पर्सन अजय हाकुजुलाई समाचार संकलनका क्रममा दुर्व्यवहार गर्ने या तायात व्यवस्था विभागका निर्देशक श्रीचन्द शाहले क्रान्तिकारी पत्रकार संगठन समक्षमा माफी मागेका छन् ।
संगठनका उपाध्यक्ष जन्मदेव जैसी र महासचिव बाबुराम भुषालको नेतृत्वमा गएको संगठनको टोलीले निर्देशक शाहलाई रिपोर्टिङका क्रममा पत्रकारमाथि दुर्व्यवहार गरेकोमा माफी माग्न र आइन्दा यस्ता व्यवहार नदोहोर्याउने प्रतिवद्धता व्यक्त गर्न अडान लिएको थियो ।
क्रान्तिकारी पत्रकार संगठन, नेपालले मुलुकी ऐन (फौजदारी र देवानी संहिता) संशोधनका लागि शुरुदेखि नै आन्दोलन गरिरहेको अवगत गराउँदै संगठनका उपाध्यक्ष जैसीले उक्त व्यवहारप्रति माफी माग्न र आइन्दा यस्ता घटना नदोहोर्याउने प्रतिवद्धता जनाउन दवाव दिईका थिए ।

निर्देशक शाहले उक्त घटना दुखत भन्दै माफी (सरी) माग्दैआइन्दा यस्तो व्यवहार नगर्ने र पत्रकारहरुको आन्दोलनमा आफ्नो पनि ऐक्यबद्धता रहेको बताए । महासचिव भुषालले सार्वजनिक पदमा बसेपछि फोटो खिच्न अनुमति माग्नुपर्छ भन्नू र जथाभावी गालीगलौजमा उत्रनु प्रेस विरोधी हर्कत भन्दै आपत्ति जनाएका थिए ।
बरिष्ठ केन्द्रीय सदस्य कमल बुढा, भौतिक मल्ल, धनन्जय बुढा, केन्द्रीय सदस्यहरु करण बडाल, सुरज प्याकुरेल, शोभराज बराललगायतका जुझारु पत्रकारको टोलीले निर्देशकलाई मिडियाप्रति राज्यका कर्मचारी जिम्मेवार बन्न र यस्ता हर्कत नदोहोर्याउन सचेत गराएका थिए ।

यसैबिच निर्देशक शाहबाट दुर्ववहार भोगेका टेलिभिजन पत्रकार शिखा र अजयले आफुहरुप्रति भएको व्यवहारप्रति चासो दिएर खबरदारी गरेकोमा धन्यवाद दिएका छन् ।
केन्द्रीय सदस्य सुरज प्याकुरेलसँग टेलिफोनमा कुरा गर्दै पत्रकारद्वयले भने, “हामीमाथि भएको प्रेसविरोधी हर्कतका विरुद्ध सशक्त खबरदारी गरेकोमा टोली र संगठनलाई धन्यवाद दिन्छौ ।“

तपाईको प्रतिक्रिया