हेटौंडा — नाबालिका छोरीलाई बलात्कार गरेको आरोपमा मकवानपुरमा आइतबार बेलुका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको थाहा नगरपालिकाकी १३ वर्षीया छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय पालुङले उनका ३६ वर्षीय बाबुलाई पक्राउ गरेको हो ।
जेठी श्रीमतीकी छोरीलाई बाबुले कात्तिक महिनादेखि पटक पटक बलात्कार गर्दै आएका थिए । जेठी श्रीमती छोरी घरमा छोडेर दोस्रो विवाह गरेर गएकी थिइन् ।
बाबुले पटक पटक बलात्कार गरेपछि सहन नसकेर बालिकाले फुपुलाई पीडा सुनाएकी थिइन् । फुपुहरुको सहयोगमा इलाका प्रहरी कार्यालय पालुङमा उनले उजुरी दिएकी थिइन् । उजुरीकै आधारमा बाबुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले बताए ।
यसैगरी, थाहा नगरपालिका– १२ का एक व्यक्तिले गत महिना ८० वर्षीया वृद्धा आमालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय पालुङले दुवै आरोपीलाई हाडनाता बलात्कारमा मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आवको १० महिनामा २२ बालिका बलात्कृत भएका छन् । यस अवधिमा ३८ वटा बलात्कारका घटना भएका छन् ।