केजिन राई

बेल्जियम, वैशाख ७ गते। एनआरएनए बेल्जियमले नेपालमा परोपकारी काम गरिरहेका बेल्जियन नागरिक एवम् संस्थालाई सम्मान गर्दै ‘नेपाल बेल्जियम दिवस’ सम्पन्न भएको छ।

नेपाली नयाँ वर्षको अवसरमा आयोजित “नेपाल बेल्जियम डे” मा नेपालका विभिन्न जिल्लामा शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गरिरहेका बेल्जियन दातृ संस्थालाई सम्मान गरिएको हो।

सो अवसरमा दातृ संस्थाका पदाधिकारीसँग उनीहरुले सहयोग गर्दा प्राप्त गरेका अनुभव र स्थलगत कठिनाइका बारेमा अन्तरक्रिया पनि गरिएको छ।

नेपाल बेल्जियम डे समारोहको बेनेलक्स र युरोपियन युनियनका लागि नेपाली राजदूत सेवा लम्साल, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा र लुभेन नगरपालिका उपप्रमुख लोठे रामकरले दीप प्रज्वन गरेर संयुक्त रुपमा उद्घाटन गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत लम्सालले नेपाल र बेल्जियमको मैत्रीपूर्ण सम्बन्ध बलियो बनाउन दुई देशका सांस्कृतिक मूल्य मान्यताको सम्मान हुनुपर्छ भन्नुभयो।

लुभेन नगरपालिकाका मेयर मोहम्मद रुद्वानी र उपमेयर दिर्क भानसेनाले नेपाली नयाँ वर्षको शुभकामना दिनुभयो। मेयर रूद्वानीले नेपाली समुदाय परिश्रम र लगनशीलताको लागि बेल्जियममा एक उदाहरण भएको बताउनुभयो।

नेपाली र बेल्जियमका राष्ट्रिय गीत गाएर सुरु भएको कार्यक्रममा नेपाली बालबालिकाले नेपाली संस्कृति झलकाउने पोशाकसहित लोक सांस्कृतिक नृत्य प्रस्तुत समेत गरेका थिए।

कार्यक्रममा एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष गंगाधर गौतम, प्रेम गुरुङ, लोक दाहाल र चित्र सुवेदी लुभेन नगपालिका उपप्रमुखहरू बर्थ कोर्नेली , दिर्क भान्सिना लगायत नेपाली दूतावासका अधिकारी र नेपाली समुदायका संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया