काठमाडौं । स्रष्टा डा.आशबहादुर तामाङको लेखनमा रहेको पुस्तक ‘सिपाहीको कलमबाट’ अंक २ को चर्चा र परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । गीतकार संघ नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा संघका अध्यक्ष वसन्त वित्यासी थापाको सभापतित्व रहेको थियो भने पूर्वमन्त्री तथा प्रतिष्ठित गीतकार एसपी कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । गीतकार संघ नेपालको सभाहलमा भएको ‘श्रष्टा र सिर्जना–चर्चा र परिचर्चा’ कार्यक्रममा साहित्यकार उपरथी आश बहादुर तामाङ (पिएचडी) को कविता, गीत–गजल, लेखको सङ्ग्रह ‘सिपाहीको कलमबाट अङ्क २’ माथि गीतसंगीत एवं साहित्य क्षेत्रका प्राज्ञिक व्यक्तित्वहरुले चर्चा तथा परिचर्चा गरिएको थियो ।
स्रष्टा डा.आशबहादुर तामाङको बारेमा बोल्दै कवि गीतकार आनन्द अधिकारीले उहाँको पारिवारिक तथा कला साहित्यको बारेमा विचार व्यक्त गर्नुभएको थियो । स्रष्टा तामाङका बुबा चन्द्र बहादुर तामाङ र माता धनमाया तामाङ लमजुङ जिल्लाका ठाडो भाकाका गायक तथा गायिका भएको हुँदा त्यसको निरन्तरतामा सांगीतिक घराना बन्नेतर्फ डा.तामाङ लाग्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना सिनुभएको थियो । गीतकार अधिकारीले स्रष्टा तामाङको पारिवारिक पृष्ठभूमि नै संगीतमय भएको र सँगसँगै सुरक्षा सेवामा रहँदा पनि सिर्जनाको उभार आएको बताउँदै साहसी सिपाही र सिर्जनाका धनी भएको बताउनुभएको थियो ।
त्यसैगरी संस्कृतविद् बुलु मुकारुङले स्रष्टा आशबहादुर तामाङद्वारा लेखिएका कविता, गीत र गजल सिर्जनाको बारेमा बोल्दै बहुप्रतिभाशाली व्यक्तित्व भएको बताउनुभएको थियो । मुकारुङले तामाङको भूगोल, पारिवारिक पृष्ठभूमि र सुरक्षा क्षेत्रमा रहँदा गरिएका सिर्जनाले राष्ट्रभक्त निडर सिपाही मात्र नभएर बहुप्रतिभाशाली सर्जक भएको बताउनुभएको थियो ।
त्यस्तै डा.आशबहादुर तामाङकी आमा धनमायासँग सांगीतिक सहकार्य गर्नुभएको वरिष्ठ गायक, निर्देशक, संगीतकार नारायण रायमाझीले शुभकामना मन्तव्य दिनुभएको थियो । पारिवारिक संगत र डा.आशबहादुर तामाङको सिर्जनशील चेतलाई नजिकबाट नियालेको बताउँदै सिङ्गो प्रतिभाको खानी भएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि तथा गीतकार एसपी कोइरालाले डा. आशबहादुर तामाङ विशिष्ठ श्रेणीका सर्जक भएको बताउँदै सिपाहीका रुपमा मात्र वाङ्मयको सिङ्गो भण्डार भएको बताउनुभएको थियो । उहाँको सांगीतिक चेत, काव्यिक चेतसँग देश अनुसार परिवेशलाई छर्लङ्ग पारिएको समेत प्रमुख अतिथि कोइरालाले बताउनुभयो ।