सामान्यतः वंश भन्नाले कुनै पनि परिवारको मुली वा मुख्य व्यक्ति र उसको पुस्ता, पिँढी वा सन्ततिहरू भन्ने बुझिन्छ । नेपाली बृहत शब्दकोशमा वंश भन्नाले परिवार, कूल, खलक, खानदान, सन्तति, सन्तान, वा लहरो भनिएको छ । त्यसैगरी वंशावली भन्नाले कुनै वंशमा जन्मेका मानिसहरूको मुख्य पुरुषदेखि हालसम्मका शाखासन्तानको क्रमैसँग बनाइएको तालिका अर्थात वंशको बृत्तान्त वा पुख्र्यौली भनेर ब्याख्या गरेको पाइन्छ (नेपाल प्रज्ञा प्रतिष्ठान, २०७५) । फ्रेइडरिचका अनुसार वंशावलीले ऐतिहासिक वा आफन्तहरू र उनीहरूसँग वर्तमान समयमा नातेदार सम्बन्ध भएका जीवित व्यक्तिहरूको बारेमा विस्तारित ज्ञान सिर्जना गर्ने सामाजिक अभ्यासलाई बुझाउँछ ।
एक्काइसौं शताब्दीमा डिजिटल प्रविधिहरूको आगमन र डीएनए परिक्षण जस्ता कार्यले यस अभ्यासलाई थप लोकप्रिय, व्यापक र नयाँ दृष्टिकोण दिएको छ (Friedrich, 2025)। यसैगरी प्रसिद्ध फ्रेन्च दार्शनिक मिसेल फुकोका अनुसार मूल्यमान्यता, नैतिकता तथा ज्ञानको वंशावलीले उत्पतिको खोजीलाई प्रष्ट पार्दछ भने इतिहासको उत्तरचढावहरूमा पनि यो पहुँचयोग्य भएर रहेको हुन्छ । यसले प्रत्येक सुरुआतसँगै हुने विवरण र घटनाहरूमा ध्यान केन्द्रित गर्दछ र कमीकमजोरीहरूलाई सावधानीपूर्वक ध्यान दिई पूर्वानुमान गर्न ऐनाको रूपमा काम गर्दछ (Foucault, 1977)। विभिन्न अनुसन्धानमूलक लेख वा वंशावली मोडेलअनुसार नातासम्बन्ध मोडेलहरू मध्ययुग (सन् ४७६–१४५३) मा पश्चिमी युरोपेली समाजमा पहिलो पटक पारिवारिक वृक्षको रूपमा देखा परेका थिए भने पछि १६औं शताब्दीमा यसलाई वंशवृक्षको अवधारणाको रूपमा प्रस्तुत गरिएका हुन् (Johnson & Paul, 2016)। यसर्र्थ वंशावली भन्नाले मूल व्यक्तिदेखि हालसम्म भएका उनका सन्ततिहरूको पूर्ण विवरण सहितको वंशवृक्ष क्रमानुगत तालिका भन्ने बुझिन्छ ।
वंशावलीले कुनै पनि परिवार वा सम्प्रदायको पहिचान खुलाउने कार्य गर्छ जुन विशुद्ध जैविक तथा सामाजिक अध्ययनको एक पाटो हो । वंशको आधारमा त्यस्ता समूह तथा सम्प्रदायको रहनसहन, रीतिरिवाज, धर्म संस्कार आदि जीवन्त रहिआएको पाइन्छ । यो एउटा ऐतिहासिक सूचनामा आधारित ज्ञानको अभिलेख हो । हाल एक्काइसौँ शताब्दीमा थप आनुवंशीय अध्ययन प्रविधिले कुनै पनि व्यक्ति तथा उनका सन्ततिहरूको पूर्खाहरू पहिचान गर्न यस वंशावली अध्ययनमा थप मद्दत गरेको पाइन्छ । इतिहास तथा इतिहासलेखनमा नित्सेको वंशावली आलोचना व्युत्पत्ति र भाषाशास्त्रअनुसार नैतिकताको वंशावली वृत्तचित्र प्रमाणमा निर्भर गर्दछ जुन निश्चित प्रमाणको लागि वास्तविक अस्तित्वमा रहेको हुन्छ । सङ्क्षेपमा भन्नु पर्दा वंशावली भन्नाले सबैले सहज रूपमा बुझ्न सक्ने चित्रलिपि अर्थात् वंशवृक्षको माध्यममा मानव नैतिकताको विगतको इतिहास कुदिएको तालिका हो (Knauft, 2017) ।
वंशावलीले कुनै पनि व्यक्तिको पारिवारिक पहिचान दिने हुँदा यो जातीयतासँग केहीहदसम्म समान देखिन्छ । वंशावलीले साझा पूर्खा र उनका सन्ततिको जैविक क्रमागत पारिवारिक वंशरेखा देखाउँछ भने उनै वंशभित्रको साझा सामाजिक तथा सांस्कृतिक भाषा, धर्म, रहनसहन र रीतिथितिलाई पनि देखाउछ । तसर्थ यो जैविक सामाजिक इतिहास हो जसले जातीय पहिचान पनि दिन्छ । जातीयताले चाहिँ विशुद्ध सामाजिक तथा सांस्कृतिक पक्षबाट साझा भाषा, धर्म, रहनसहन तथा रीतिथितिलाई इङ्गित गरी जातीय पहिचान दिएको पाइन्छ । यसले वंंशको झैँ साझा पूर्खाको सन्ततिको दृष्टिकोणबाट सबै जातीय समूहको जैविक पहिचान दिन भने सक्दैन । तसर्थ सामाजिक तथा सांस्कृतिक रूपमा केही समानता भएकै कारण वंशावलीलाई पनि कुनै न कुनै कोणबाट जातीयताको विश्लेषण गर्ने मानवशास्त्रीय सिद्धान्तबाट पनि व्याख्या गर्न सकिन्छ ।
जातीयता सम्बन्धी मानवशास्त्रीय सिद्धान्तहरूलाई तीन आधारभूत वर्गहरूमा वर्गीकृत गर्न सकिन्छ : आदिमतावादी (प्राइमोर्डालिस्ट) सिद्धान्त, उपयोगीतावादी (इन्स्ट्रुमेन्टालिस्ट) सिद्धान्त र रचानावादी (कन्स्ट्रक्टिभिस्ट) सिद्धान्त । आदिमतावादी सिद्धान्तअनुसार जन्मको आधारमा जातीयता निश्चित हुन्छ र यसको पहिचान समूह वा संस्कृतिसँग गहिरो हुन्छ । त्यसैगरी उपयोगीतावादी इन्स्ट्रुमेन्टालिस्ट सिद्धान्तअनुसार जातीयता भन्नाले मानिसहरूको एतिहासिक र प्रतीकात्मक स्मृतिमा आधारित त्यस्तो चिज हो जसलाई अन्य तथा राजनितिज्ञहरूले उनीहरूको आर्थिक तथा राजनैतिक स्वार्थको लागि व्यावहारिक रूपमा सिर्जना, प्रयोग र शोषण गरेको हुन्छ । रचानवादी सिद्धान्तअनुसार जातीय पहिचान भन्नाले मानिसहरूले धारण गरेको कुरा नभएर उनीहरूले आफ्नो विशिष्ट सामाजिक र ऐतिहासिक सन्दर्भहरूमा आधारित रही इच्छा पूरा गर्न निर्माण गरेको अवधारणा हो । यसैले यो जहिले परिवर्तनशील र व्यक्तिपरक हुन्छ (Wan & Vanderwerf, 2009) । यसर्थ वंशावलीलाई दुई सिद्धान्त यानिकी आदिमतावादी (प्राइमोर्डालिस्ट) र रचनावादी (कन्सट्रक्टिभिस्ट) बाट व्याख्या तथा विश्लेषण गर्न सकिन्छ । आदिमतावादी (प्राइमोर्डालिस्ट) सिद्धान्तअनुसार मानिस जुन वंशमा जन्मन्छ उसैको आधारमा वंशरेखाको निर्माण भई उसको पहिचान कायम हुन्छ भने रचनावादी (कन्सट्रक्टिभिस्ट) सिद्धान्तअनुसार कुनै परिस्थितिमा अन्य वंशको सन्तानलाई आफ्नो वंश वा कूलमा आफ्नै बनाई हुर्काइ बढाई उसलाई जातीय पहिचान दिने गरिन्छ । उदाहरणका लागि कुनै निसन्तान बाबुआमाले धर्म छोरा वा छोरी राख्ने प्रचलन वा कुनै अनाथ बालबालिकालाई आफ्नै सन्ततिको रूपमा पहिचान दिने प्रचलनलाई लिन सकिन्छ जसलाई भविष्यमा गएर पनि एउटै वंशवृक्षमा समाहित गर्ने गरिन्छ ।
हाल संसारमा प्राय धेरै समुदायले पितातर्फको वंशावली यानिकी वाइ क्रोमोजम (Y chromosome) मातहतको वंशवृक्ष तयार गर्ने गरेको पाइन्छ । तर १९ औं शताब्दीमा पुरातत्वविद् जोहान बाचोफेनको अनुसन्धान रेखा पहिलो मानवहरू मातृसत्तात्मक पारिवारिक समूहहरूमा सङ्गठित थिए भन्ने परिकल्पनामा केन्द्रित थियो । उनका अनुसार तिनै माताको नेतृत्वमा परिवार चल्ने गरेको थियो तर पछिल्लो सामाजिक अवधिहरूमा पिताको व्यक्तित्वले समाजको नेताको रूपमा माताको नेतृत्वलाई प्रतिस्थापन गरेको थियो (Allen, 1999) । प्राचीनकालमा पुस्ता वा पिढीँको रेखा अर्थात् सन्तति आमा तथा पिता दुवैको तर्फबाट राखिने प्रचलन रहेको पाइन्छ (Gomes, Palomo-Diez, Lopez-p, & Arroyo-Pardo, 2021) । यद्यपि जन्मको आधारमा वास्तविक कुन पुख्र्यौली वंशको सन्तति हो भनी पहिचान आमाले मात्र दिनसक्ने हुँदा यसलाई अनुवंशीय अधारमा नै वास्तविक क्रमागत वंशवृक्षको रूपमा परिभाषित गरी पहिचान गर्नु पर्दछ जसलाई थप सहज बनाउन हिजोआज अनुवंशीय अध्ययनले मद्दत गरेको छ । यस अर्थमा आनुवंशिक दृष्टिकोणले जैविक विज्ञानको मानव वंशावलीमा व्यक्तिकेन्द्रित गहिरो अध्ययन मात्र नभएर थर विरासतको मामलामा वा फोरेन्सिक क्षेत्रमा पनि नयाँ दृष्टिकोणका साथ व्याख्या गर्न मद्दत गर्दछ (Gomes, Palomo-Diez, Lopez-p, & Arroyo-Pardo, 2021) । यसर्थ वंशावली विगतको जैविक तथा सामाजिक मानवशास्त्रीय इतिहास हेर्ने ऐना हो । यसले हामी को हौँ, कहाँबाट आएको अर्थात् थातथलो कहाँ हो, कुन वंशको हो, के कस्ता संस्कार तथा रीतिरिवाज, धर्म तथा रहनसहन अँगालिरहेका छौँ भन्ने कुरा बुझ्न मद्दत गर्दछ । मानिसहरूले वंशावलीलाई किन महत्व दिन्छन् भन्ने केही प्रमुख कारणहरू यस प्रकार रहेका छन् :
- पारिवारिक इतिहास थाहा पाउने हुँदा व्यक्तिहरू कहाँबाट आएका हुन् भन्ने थाहा पाउने तथा पूर्खाको जरा, पारिवारिक कथा, परम्परा तथा पहिचानको गहिरो बुझाई हुने,
- ऐतिहासिक अभिलेखीकरण हुनेहुँदा भावी पुस्ताका लागि मार्गदर्शन तथा पारिवारिक विरासत संरक्षण भई सुरक्षित हुन्छन् र यसले पूर्खाहरूलाई सम्मान मात्र नभएर सन्ततिहरूका लागि दस्तावेजीकरण भई संरक्षण हुने,
- यसले वंशानुगत रोग तथा लक्षणहरू थाहा हुनेहुँदा भावी सन्ततिका लागि व्यक्तिगत स्वास्थ्यको लागि महत्वपूर्ण निर्णय गर्न तथा चिकित्सा निर्णय गर्नमा मद्दत पुग्ने,
- यसले प्रायः ऐतिहासिक घटनाहरू, जस्तै– बसाइँसराई, युद्ध वा सामाजिक परिवर्तनहरूले पारिवारिक इतिहासलाई कसरी आकार दिएको थियो भन्ने कुरा थाहा दिनुका साथै सामाजिक सांस्कृतिक विकासको बुझाइलाई समृद्ध बनाउने,
- वंशावलीले मानिसहरूले आफन्तहरूसँग पुनर्मिलन गर्न सहयोग गर्ने साथै लामो समयसम्म हराएका परिवारका सदस्यहरू पत्ता लगाई पारिवारिक रूखको हाँगाहरू जोड्ने पुलको निर्माण गर्ने,
- यसले एतिहासिक अनुसन्धान र आनुवंशिकीलाई संयोजन गर्ने भएकोले यो बौद्धिक खोज अनुसन्धानको लागि उपयोगी हुने ।
समग्रमा भन्नु पर्दा वंशावली पारिवारिक वंशवृक्ष बनाएर राख्न मात्र नभएर इतिहाससँग जोड्ने, विगतलाई बुझ्ने र वर्तमानलाई समृद्ध बनाउनका लागि ज्ञानको अभिलेखीकरण गर्ने कार्य हो ।