खाेटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव २०८२’ सम्पन्न भएको छ ।
‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ को अवसर पारेर नगरपालिकाले पर्यटकीयस्थल हुर्लुङमा आयोजना गरेको दुई दिने महोत्सव सम्पन्न भएको हो । लोपोन्मुख वन्यजन्तुको सूचीमा रहेको रेडपाण्डा तथा थारको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो । महोत्सवको अवसर पारेर ‘रेडपाण्डा तथा थार रुट’ को औपचारिक रूपमा शुभारम्भ तथा नक्शासमेत सार्वजनिक गरिएको छ ।
यसैबीच मुन्दुम पदमार्गकाे विकास तथा प्रवर्द्धनका लागि भोजपुरको चखेवामा रैथाने खाना महोत्सव सञ्चालन गरिएको छ । महोत्सवमा टेम्केमैयुङ गाउँपालिकामा पाउने कोदो, फापर, गुन्द्रुक, भटमासको किनिमा भुटेको मकै, कुखुराको वाचिपा अर्थात् तितेलगायत परिकारसँगै स्थानीय उत्पादनको प्रदर्शनी गरिएको गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले जानकारी दिनुभयो ।