काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ ।

होली पर्वका अवसरमा आज राष्ट्रपति पौडेलले होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवद्र्धन गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण नेपाली समाजलाई विविधता बीचको एकता कायम गर्न पर्वले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले ‘विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो । यो पर्वले समस्त नेपालीहरूबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास लिएको छु’, शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

उहाँले होलीमा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता भएको बताउनु भएको छ ।

राष्ट्रपति पौडेलले नेपालीहरूको विशेष पर्व होलीको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

यसैगरि होली पर्वको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति रामसहायप्रसाद यादव, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतले पनि शुभकामना व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया