विराटनगर ÷ विराटनगरस्थित हिमालय दर्शन कलेजमा उद्घोषण तथा भाषणकला तालिम सुरु भएको छ । कलेजमा अध्ययनरत विद्यार्थीको वाकक्षमता वृद्धि गराउने उद्देश्यसहित कलेजले तालिमको आयोजना गरेको हो । क्याम्पस प्रमुख भरत सापकोटा र कवि एवं पत्रकार मीनकुमार नवोदितले तालिम उद्घाटन गरे । अहिलेको विश्व बोल्नेहरूको भएकाले विद्यार्थीलाई पनि बोल्ने र उद्घोषण कलाबारे जानकारी दिई उनीहरूको क्षमता विकास गर्न कलेजले तालिमको आयोजना गरेको क्याम्पस प्रमुख सापकोटाले बताए । विद्यार्थीको चौतर्फी व्यक्तित्व विकासमा कलेजले पूर्ण रुपमा ध्यान दिएको उनको भनाइ थियो । पाठ्यक्रमको अध्ययनसँगै कलेजले विद्यार्थीको रुचीअनुसारका अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीभित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन गराउँदै आएको प्रमुख सापकोटाले बताए । कलेजले विद्यार्थीमा सबै क्षेत्रको ज्ञान होस् भनेर बेलाबेला खेलकुदसँगै वक्तृत्वकला, हाजिरीजवाफ, कविता, वादविवाद प्रतियोगितालगायतका अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको उनले बताए । शनिबार मात्रै कलेजले कोशी प्रदेशस्तरीय पब्जी प्रतियोगिता आयोजना गरेको थियो ।
तालिममा उद्घोषण तथा भाषणकलाका प्रशिक्षक मीनकुमार नवोदितले सहजीकरण गर्नेछन् । उद्घोषणकलाको तालिम लिँदा भविष्यमा हरेक क्षेत्रमा काम लाग्ने नवोदितले बताए । कुशल उद्घोषकले जस्तोसुकै सभा समारोहमा कुनै पनि विषयमा केन्द्रित रहेर आफ्ना विचार प्रकट गर्न सक्ने प्रशिक्षक नवोदितको दाबी थियो । कार्यक्रममा एचओडी म्यानेजम्यान्ट विभागका प्रमुख भूपाल मिश्र, आइटी विभागका प्रमुख सुमितकुमार साह, जनसम्पर्क अधिकृत लेसन सापकोटालगायतले विद्यार्थीका लागि तालिम फलदायी हुने विश्वास व्यक्त गरेका थिए । आइतबारदेखि सुरु तालिम शनिबारसम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया