विराटनगर÷फागुन ८ गते
कोशी प्रदेशमा एक वर्षको अवधिमा परिवारजनबाट ३४ जना महिलाको हत्या भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले जनाएको छ ।
इन्सेक कोशी प्रदेश कार्यालयले वुधवार विराटनगरमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ सार्वजनिकीकरण गर्दै एक वर्षको अवधिमा परिवारजनबाट ३४ जना महिलाको हत्या भएको जनाएको हो ।
देशभर परिवारजनबाट १ सय जना महिलाको हत्या भएकोमध्ये ३४ जना कोशी प्रदेशका भएको इन्सेक कोशी प्रदेश कार्यालयका प्रलेख अधिकृत पुण्य अधिकारीले बताए । ओखलढुङ्गामा तीन, भोजपुरमा एक, इलाममा तीन, झापामा पाँच, सोलुखुम्बुमा एक, पाँचथरमा दुई, सङखुवासभामा एक, मोरङमा चार, सुनसरीमा तीन, ताप्लेजुङमा एक, तेहृ्रथुममा तीन र उदयपुरमा सात गरी ३४ जना महिलाको परिवारजनबाटै हत्या भएको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को मानव अधिकार सूचकाङ्कमा कोशी प्रदेशमा चौथो स्थानमा परेको प्रलेख अधिकृत अधिकारीले बताए ।
सातओटै प्रदेशहरूमा शारीरिक हिंसाका घटनाहरूसँग सम्बन्धित मानव अधिकार उल्लङ्घन सूचकाङ्कमा यस वर्ष कोशी प्रदेश ३६ दशमलव १८ प्रतिशत सूचकाङ्क मूल्यसहित चौथो स्थानमा भएको अधिकृत अधिकारीले बताए । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का आधारमा कोशी प्रदेश भन्दा बागमती, मधेश, लुम्बिनी प्रदेशको मानव अधिकारको अवस्था खराब देखिएको छ ।
इन्सेकले ५३ ओटा सूचकमार्फत गरेको विश्लेषणका आधारमा सन २०२३ मा ३३ दशमलव ३२ प्रतिशत मानव अधिकार उल्लङ्घन सूचकाङ्क रहेकोमा सन २०२४ को कोशी प्रदेशको मानव अधिकारको अवस्था खराव देखिएको छ ।
सन् २०२३ मा राज्य पक्षबाट र अन्य पक्षबाट १ हजार ४ सय २५ जना पीडित भएकोमा यस वर्ष १ हजार ६ सय ९४ जना पीडित भएको तथ्याङ्कले देखाएको छ । गएको वर्ष भन्दा यस वर्ष २ सय ६९ जना बढी मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा पीडित भएका छन् । गएको वर्षको तुलनामा यस वर्ष कोशी प्रदेशमा राज्य पक्षबाट मानव अधिकारको अवस्थामा केही सुधार आएको तथ्याङ्कले देखाएको छ । सन् २०२३ मा राज्य पक्षबाट १ सय १६ जना पीडित भएकोमा यस वर्ष ४१ जना पीडित भएका छन् । यस वर्ष कोशी प्रदेशमा राज्यको नियन्त्रणमा रहेका ६ जनाको मृत्यु भएको छ । राज्यको सुरक्षामा रहेकाहरूको शंङ्कास्पद मृत्युले जीवनको अधिकारमाथि गम्भीर प्रश्न चिन्ह खडा भएको इन्सेकले जनाएको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का अनुसार सन् २०२४ मा कोशी प्रदेशमा प्रहरी हिरासतमा एक जनाको मृत्यु र कारागारमा पाँच जनाको मृत्यु भएको छ । गएको वर्षसमेत राज्यको नियन्त्रणमा रहेका ६ जनाको मृत्यु भएको इन्सेकको तथ्याङ्कमा उल्लेख छ ।
यस वर्ष कोशी प्रदेशमा राज्य पक्षबाट गिरफ्तारीका घटनामा दुई जना, कुटपिटका घटनामा चार जना, कुटपिटबाट घाइते एक जना, गोली प्रहारबाट घाइते तीन जना, धारिलो हतियार प्रहारबाट ११ जना, झडपमा प्रहरीको लाठी प्रहारबाट ६ जना घाइते भएका छन् । यस वर्ष भेला हुन पाउने अधिकारबाट चार जना वञ्चित भएको वर्ष पुस्तकमा उल्लेख छ ।
सन् २०२३ को तुलनामा यस वर्ष कोशी प्रदेशमा अन्य पक्षबाट मानव अधिकार ज्यादतीका घटनामा वृद्धि भएको तथ्याङ्कले देखाएको छ । सन् २०२३ मा अन्य पक्षबाट महिला अधिकारका घटनामा ९ सय २६ जना र बाल अधिकारका घटनामा ३ सय ३६ जना पीडित भएकामा सन् २०२४ मा महिला अधिकारका घटनामा १ हजार १ सय ४० जना र बाल अधिकारका घटनामा ३ सय ५२ जना पीडित भएका छन् । यस वर्ष कोशी प्रदेशमा बलात्कारका घटनामा १ सय ७६ जना, बलात्कारपछि हत्याका घटनामा दुई जना, बलात्कार प्रयासका घटनामा २० जना, कथित बोक्सी आरोप घटनामा दुई जना, दाइजोजनित हिंसाका घटनामा दुई जना, सामूहिक बलात्कार घटनामा एक जना, अत्याचारका घटनामा १४ जना, वैवाहिक बलात्कारका घटनामा तीन जना, वेचविखनका घटनामा दुई जना, यौनजन्य साइवर क्राइमको घटनामा एक जना, घरेलु हिंसाका घटनामा ८ सय ८३ जना र परिवारजनबाट हत्याका घटनामा ३४ जना महिला गरी १ हजार १ सय ४० जना महिला पीडित भएका छन् ।
सन् २०२४ मा कोशी प्रदेशमा अन्य पक्षबाट भएका बाल अधिकारविरूद्धका घटनामा ३ सय ५२ जना पीडित भएका छन् । जसमा बलात्कारका घटनामा २ सय २५ जना, सामूहिक बलात्कारका घटनामा तीन जना, यौन दुव्र्यवहारका घटनामा ९४ जना, बाल विवाहका घटनामा तीन जना, वेचविखनका घटनामा पाँच जना, शिक्षण संस्थामा दिइएको शारिरीक सजायका घटनामा चार जना, नवजात शिशु हत्यामा ६ जना, अत्याचारका घटनामा १२ जना गरी ३ सय ५२ जना पीडित भएका छन् ।
सन् २०२४ मा कोशी प्रदेशमा अन्य पक्षबाट मोसो दलेका घटनामा तीन जना, कुटपिटबाट घाइते घटनामा ६ जना, गोली प्रहारबाट घाइते घटनामा दुई जना, बम विष्फोटबाट घाइते घटनामा दुई जना, धारिलो हतियार प्रहारबाट घाइते घटनामा १७ जना र झडपमा ३३ जना घाइते भएको इन्सेकले अभिलेख गरेको छ । यस वर्ष अन्य पक्षबाट ३१ जनाको कुटपिट गरी हत्या, बम विष्फोटमा दुई जनाको मृत्यु, सेवन गर्न दिइएको विषबाट दुई जनाको मत्यु, धारिलो हतियार प्रहारबाट ३४ जनाको मृत्यु भएको छ । धम्कीका घटनामा ६ जना र जातीय विभेदका घटनामा सात जना पीडित भएको इन्सेकले सन् २०२४ मा अभिलेखीकरण गरेको छ ।
कोशी प्रदेशमा रहेका जिल्ला कारागारको क्षमता ३ हजार १ सय ८४ रहेकोमा ६ हजार १ सय ७५ जनालाई राखिएको छ । यो वर्ष बालसुधार गृह विराटनगरमा २ सय ४४ जना बालकलाई राखिएको छ ।
सन् २०२४ देखि इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तकमा जलवायु परिवर्तन, बढ्दो वातावरणीय प्रदूषण, मानव अधिकार र वातावरणको अधिकारलाई समेत उठान गरेको छ ।
संविधानले प्रदान गरेको स्वच्छ वातावरणको हकसहित विश्वव्यापी रूपमा गम्भीर सङ्कटका रूपमा देखा परेको जलवायु परिर्वतनको असर र यसले मानव अधिकारमा पर्ने प्रभावलाई नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ ले उजागर गरेको इन्सेकले जनाएको छ ।
सन् २०२४ मा कोशी प्रदेशमा वायु प्रदुषण, पानीेको मुहान सुक्नु, बाढी पहिरोलगायत प्राकृतिक विपद्का कारण कोशी प्रदेशमा १८ हजार ५ सय ३२ जनाले बसाइँसराइ गरेका छन् । कोशी प्रदेशमा भएका १ सय २६ ओटा इँटाभट्टा र १३ ओटा सिमेन्ट उधोगका कारण वायु प्रदुषण भएको छ ।
प्रदेशभरी २ सय ४० ओटा सार्वजनिक शौचालय मात्र रहेको देखिन्छ भने ६७ प्रतिशत जनतामा मात्र पिउने पानीको पहुँच पुगेको इन्सेकको वर्ष पुस्तक २०२५ मा उल्लेख छ ।
कोशी प्रदेशमा सुनसरी, मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगका कारण भएको पर्यावरण प्रदूषणलाई इन्सेकले यस वर्ष कोशी प्रदेशको वातावरणको सवालका रूपमा आलेखमार्फत उठान गरेको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५, कोशी प्रदेशको मानव अधिकार अवस्था सार्वजनिकीकरण कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग विराटनगरका प्रमुख वीरबहादुर बुढामगर, इन्सेक कोशी प्रदेशका संयोजक मनोहर पोखरेल, नेपाल पत्रकार महासंघ कोशीका सचिव अरविन्द कुमार मेहता, मानव अधिकार विज्ञ कोषराज न्यौपाने, वुद्धिजीवी दिनेश श्रेष्ठ, अधिकारकर्मी मञ्जीता उपाध्याय, वासु अधिकारी, शोभा गुरागाईँलगायतको उपस्थिती रहेको थियो ।

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसँगै जलवायु परिर्वतनको विषयलाई अधिकारकर्मीले अब साझा मुद्दाको रूपमा लिएर अघि बढ्न आवश्यक छ । मानव अधिकारमैत्री समाज निर्माणका लागि राज्यको प्रयासलाई हामी सबैको साथ र सहयोग आवश्यक छ ।

तपाईको प्रतिक्रिया