विराटनगर ÷ विराटनगर महानगरपालिकाले हटियामा प्रयोग गरिने ढुंगाको ढक विस्थापन गर्ने निर्णय गरेको भोलिपल्टै बिहीबार एक दर्जनभन्दा बढी ढुंगाको ढक र तराजु नियन्त्रणमा लिएको छ ।
उपमेयर शिल्पा निराला कार्कीको अध्यक्षतामा बसेको ‘बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति’को बुधबार बसेको बैठकले अनुगमनलाई तीव्र पारेर ढुंगाको ढक प्रयोगलाई विस्थापन गर्ने निर्णय गरेको थियो । बिहीबार महानगरका प्रहरी प्रमुख राजन पौडेलको नेतृत्व टोलीले विराटनगर–५ स्थित पृथ्वीचोकबाट एक दर्जनभन्दा बढी ढुंगाको ढक र तराजु नियन्त्रणमा लिएको छ । अबदेखि महानगर क्षेत्रभित्र लाग्ने हाटबजारमा ढुंगाको ढक र तराजुलाई विस्थापन गरिने कार्कीले जानकारी दिनुभयो । बिहीबारदेखि नै नगर प्रहरी परिचालन गरेर ढुंगाको ढक, तराजु नियन्त्रण सुरु गरिएको उहाँले बताउनुभयो । ‘हाटबजारमा नापतौल गर्ने ढक ढुंगाको तथा अन्य वस्तुबाट मापन गरिरहेको पाइएको हुँदा अनिवार्य रुपमा मापदण्डबमोजिम ढक प्रयोग गर्न÷गराउन नगर प्रहरीमार्फत प्रचारप्रसार गर्ने निर्णय गरिएको छ,’ उपमेयर संयोजक रहेको समितिले गरेको निर्णयमा भनिएको छ । विशेषगरी साप्ताहिक रुपमा लाग्ने हाटबजारमा नापतौलका लागि ढुंगाको ढक प्रयोग गर्ने गरेको पाइन्छ । जसबाट उपभोक्ता ठगिने क्रम बढेको भन्दै महानगरले अबदेखि ढुंगाको ढकलाई पूर्ण रुपमा विस्थापन गर्ने भएको छ ।
त्यस्तै समितिको बैठकले माछा र तरकारीको बिक्रीस्थल छुट्टाछुट्टै स्थानमा रहने व्यवस्था गर्ने निर्णय गरेको छ । महानगरको नियमन क्षेत्राधिकारभित्र सञ्चालनमा रहेका सम्पूर्ण मासु पसललाई महानगरको मापदण्डबमोजिम व्यापार गर्ने विषयमा प्रतिबद्ध गराउन १५ दिनको म्याद दिने बैठकले निर्णय गरेको छ । साथै आफूले मापदण्डबमोजिम मासु पसल सञ्चालन गरेको स्वघोषणापत्रसमेत संकलन गर्ने निर्णय गरिएको समितिकी संयोजकसमेत रहनुभएकी उपमेयर कार्कीले जानकारी दिनुभयो । बैठकले बजारमा विषादीयुक्त तरकारी तथा फलफूल बिक्री भइरहेको जनगुनासो आएको भन्दै महानगरले तरकारी तथा फलफूलको विषादी परीक्षण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसँग समन्वय तथा सहकार्य गर्ने निर्णय गरेको छ । अबदेखि हरेक हप्ताको शुक्रबार सरोकारवाला निकायका प्रतिनिधिसमेतको सहभागितामा संयुक्त रुपमा बजार अनुगमन गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । ‘यसअघि पनि बजार अनुगमन गरिरहेका थियौं,’ समितिकी संयोजक कार्कीले भन्नुभयो, ‘अबदेखि दिनै तोकेर अनुगमन गर्ने निर्णय गरेका छौं ।’
विस्थापन गर्ने निर्णय गरेको भोलिपल्टै एक दर्जन ढुंगाको ढक–तराजु नियन्त्रण
![](https://www.entertainmentkhabar.com/wp-content/uploads/2025/02/anugaman-baithak-2.jpeg)