विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आफ्नो कार्यकालमा सुरु गरेका एक दर्जनभन्दा बढी ठूला बहुवर्षीय योजनाहरू चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने बताउनुभएको छ । सीमित स्रोत र साधनको बाबजुत महानगरवासीको असीमित चाहना पूरा गर्न लागिपरेको उहाँको भनाइ थियो । कोइरालाले विराटनगरको विकासमा अहोरात्र खटिँदासमेत महानगरवासीले जस नदिने गरेको गुनासोसमेत गर्नुभयो ।

विराटनगर महानगरपालिकाको समन्वयमा मकालु टेलिभिजनले मंगलबार आयोजना गरेको सार्वजनिक सुनुवाइमा मेयर कोइरालाले भौतिक संरचनाको विकासले गति लिएको दाबी गर्नुभयो । उमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का अध्यक्ष कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ५ का सन्तोष न्यौपाने, ७ का मधुबाबु तिवारी, ८ का राम पोखरेल, १० का अर्जुन गिरी, ११ का तीर्थेन्द्र नेउपाने, १४ का सूर्यनारायण महतो, १५ का प्रकाश साह, १६ का उद्धव भुजेल, १९ का श्याम घिमिरेसहित कार्यपालिका सदस्यसमेतको उपस्थितिमा भएको कार्यक्रममा महानगरवासीले उठाएका जिज्ञासाको मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्कीले जवाफ दिनुभएको थियो । वडाका विषयमा उठेका प्रश्नको जवाफ भने सम्बन्धित वडाका अध्यक्षले दिनुभएको थियो ।
मेयर कोइरालाले बहुवर्षीय योजनाअन्तर्गत १७ करोड १३ लाख रुपैयाँको लागतमा विराटनगरलाई जन्मथलो र कर्मथलो बनाएका सातजना प्रधानमन्त्रीको शालिकसहित निर्माण भइरहेको प्रधानमन्त्री पार्कको काम हालसम्म ६५ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिनुभयो । त्यस्तै ३ करोड ९८ लाख रुपैयाँको लागतमा विराटनगर–२ मा सन्ध्याकालीन आरतीस्थलको निर्माण ८० प्रतिशत, १४ करोड ७५ लाख रुपैयाँको लागतमा महानगरको सुविधासम्पन्न प्रशासनिक भवन ५० प्रतिशत, विराटनगर–१४ मा बहुवर्षीय योजनाअन्तन्तर्गत ६ करोड १६ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको रानीपोखरीसहित हरियाली पार्कको काम ७० प्रतिशत, ७ करोड ३७ लाख रुपैयाँको लागतमा विराटनगर–१४ मै निर्माण भइरहेको मण्ठापोखरीको पनि काम ६५ प्रतिशत सम्पन्न भइसकेको मेयर कोइरालाको भनाइ थियो ।
उहाँका अनुसार १ करोड ३२ लाख रुपैयाँको लागतमा जीर्णाेद्वार भइरहेको पुष्पलाल चोक सडकको पनि ८० प्रतिशत काम सकिएको छ । विराटनगर–२ स्थित त्रिभुज मार्गको काम ७० प्रतिशत सम्पन्न भएको छ । जसको निर्माण लागत ३ करोड ३८ लाख रुपैयाँ रहेको छ । डुबान नियन्त्रण गर्ने अभियानअन्तर्गत वडा नम्बर ३ स्थित प्रतीक मार्ग, मानगढ मार्ग, आस्थामार्ग, फिफा मार्ग, मितेरी मार्ग, त्रिमार्गमा कभरसहित आरसीसी नाला, रिटेरिङवाल तथा कालोपत्रे निर्माण कार्य ४० प्रतिशत सम्पन्न भइसकेको छ । जसको लागत ४ करोड रुपैयाँ रहेको छ । ५ करोड ३८ लाख रुपैयाँको लागतमा विराटनगर वडा नम्बर ५ र ६ को शान्तिचोकदेखि विएफएम हुँदै केशलिया रोडसम्म नाला, कल्भर्ट, नालामा स्ल्याबसहित कालोपत्रे गर्ने कार्य सम्पन्न भइसकेको मेयर कोइरालाले बताउनुभयो । राजवंशी चोक पश्चिम वडा नम्बर ४ को पुलचोकदेखि नोवेलसम्म र केशलिया रोडदेखि ११ र १२ वडा नम्बर हुँदै जोगबनी–विराटनगर सडकअन्तर्गत पूर्वाञ्चल बालआश्रम दक्षिणसम्मको करिब ५ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य ५० प्रतिशत सम्पन्न भइसकेको छ । ३ करोड ८२ लाख रुपैयाँ निर्माण भइरहेको सो सडक यसै आर्थिक वर्षभित्र सम्पन्न हुनेछ । विराटनगर वडा नम्बर १३ को विराटनगर आँखा अस्पताल अगाडिको सडकमा नालाको काम ९५ प्रतिशत सकिएको छ । अब स्ल्याब र कालोपत्रे गर्न मात्रै बाँकी रहेको छ ।
६ करोडभन्दा बढीको बहुवर्षीय योजनाअन्तर्गत विराटनगर–८ स्थित विश्वकर्मा चोकदेखि दक्षिण हुँदै स्वागत चोक पश्चिमको नाला र कल्भर्ट निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको मेयर कोइरालाले बताउनुभयो । बहुवर्षीय योजनाअन्तर्गतको १२ करोड लागत रहेको महानगर बहुप्राविधिक शिक्षालयको भवन निर्माणको काम पनि ५० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ । बहुवर्षीय योजनाअन्तर्गत सञ्चालन भइरहेका सबै ठूलो परियोजनाहरु चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी तीव्र रुपमा काम भइरहेको मेयर कोइरालाले बताउनुभयो ।
मेयर कोइरालाले १० वर्षमा हुन नसकेको विकास निर्माणको काम १ वर्षको अवधिमा भएको दाबी गर्नुभयो । मेयर कोइरालाले समग्र विराटनगर महानगरपालिका क्षेत्रको विकास निर्माणको काम भइरहेको बताउनुभयो । विराटनगरको वडा नं. ४ र ५ को सिमानामा पर्ने जामुनगाछी सडक मार्गको काम संघीय सरकारले गरिरहेको भए पनि विराटनगर महानगरपालिकाको निरन्तर समन्वय र दबाबका कारण द्रुत गतिमा निर्माणको काम भइरहेको उहाँको दाबी थियो । मेयर कोइरालाले १० वर्षको अवधिमा अलपत्र अवस्थामा रहेको हुलाकी राजमार्गअन्तर्गतको जामुनगाछी सडक मार्ग विराटनगर महानगरपालिकाकै समन्वय र दबाबका कारण काम भइरहेको बताउँदै मेयर कोइरालाले आगामी जेठभित्र कालोपत्रे हुने उल्लेख गर्नुभयो । मेयर कोइरालाले भौतिक संरचनाको विकाससँगै शिक्षा, स्वास्थ्य, सामाजिक, पार्किङ, ट्राफिक व्यवस्थापनलगायतका विषयमा उठेका जिज्ञासाको उत्तर दिनुभएको थियो ।
कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले बजार अनुगमनलाई प्रभावकारी रुपमा अगाडि बढाइरहेको दाबी गर्नुभयो । उहाँले न्यायिक समितिमा परेका उजुरीका विषयमा छानबिन गरी छिटो र छरितो रुपमा न्याय सम्पादन गरिरहेको जानकारी दिनुभयो । समितिले प्रभावकारी रुपमा काम गर्दा धेरै विवाद सहज रुपमा निरुपण हुने गरेको उहाँले बताउनुभयो । जसबाट विवाद नमिलेर महानगरवासीले अदालत पुग्नुपर्ने बाध्यता कम भएको उहाँको भनाइ थियो । धेरै उजुरी दुवै पक्षलाई राखेर मिलाएर पठाउने गरेको उपमेयर कार्कीले जानकारी दिनुभयो । ३ नम्बर वडाको डुबान समस्याका विषयमा उठेको जिज्ञासाको वडाध्यक्ष वासुबहादुर बस्नेतले जवाफ दिनुभएको थियो भने ट्राफिक व्यवस्थापन र पार्किङका विषयमा उठेका प्रश्नको नगर प्रहरीका प्रमुख राजन पौडेल र ट्राफिक प्रहरीका प्रमुख राजन लम्सालले जवाफ दिभयो । सार्वजनिक सुनुवाईमा उपभोक्ता जागरण अभियानका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली, जागरण अभियानका मोरङ सचिव स्वयम्भूनाथ कार्की, ज्येष्ठ नागरिक समाज महानगर समितिका अध्यक्ष सुरेशकुमार श्रेष्ठ, विराटनगर–१४ का सत्यनारायण यादव, विराटनगर–४ की शान्ता दाहाल, विराटनगर–४ कै सुनिता ताम्राकार, विराटनगर–३ का निर्मला नेपाल, विराटनगर–११ का अर्जुन भट्टराई, विराटनगर–५ का डेविट घिमिरे, विराटनगर–३ का विकास लिम्बू, विराटनगर–४ का बाबुराम घिमिरे, विराटनगर–३ का कृष्ण खतिवडा, ४ का फडिन्द्र ढकाल, सुदीप रेग्मी, २ का अभयकुमार वैद्य, दधिराम अधिकारीलगायतले सडक, नालासहितको भौतिक संरचना निर्माणका साथै बजार अनुगमन, सुशासन, सडक बत्ती, फोहोर व्यवस्थापन, पार्किङ, ज्येष्ठ नागरिकका अधिकार, टोल विकास संस्थाको गठन, छाडा चौपाय नियन्त्रणलगायतका विषयमा जिज्ञासा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया