विराटनगर÷ विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले शिक्षासेवी प्राध्यापक कृष्ण पोखरेलसहित कलेजका शिक्षकलाई सम्मान गरेको छ ।
वार्षिकोत्सवका अवसरमा कलेजले शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान गरेको भन्दै शिक्षासेवी पोखरेललाई सम्मान गरेको हो । कार्यक्रममा कलेजका तर्फबाट पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजुकुमार थपलियाले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । सम्मानित पोखरेल त्रिभुवन विश्वविद्यालयका विभिन्न कलेजमा ३८ वर्षभन्दा लामो समय प्राध्यापन गर्नुभएको थियो । पोखरेल पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोगका अध्यक्षका रुपमा समेत कार्य गरिसक्नुभएको छ ।
सोही अवसरमा कलेजमा १५ वर्षदेखि कार्यरत भरत साहलाई पनि सम्मान गरिएको थियो । साहलाई दोसल्ला ओढाएर कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका उपकुलपति प्रा.डा. थपलियाले सम्मान गर्नुभयो । सो अवसरमा वीवीए र एमवीए अध्ययन पूरा गरेर जाने विद्यार्थीको विदाई र नवआगन्तुक विद्यार्थीको स्वागतसमेत गरिएको थियो । त्यस्तै २०८१ सालमा भएका विभिन्न खेलकुद प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कारसमेत प्रदान गरिएको क्याम्पस प्रमुख सन्दिप दास श्रेष्ठले बताउनुभयो । विद्यार्थीहरुले सांस्कृतिक नृत्य र गीतसमेत प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिसमेत रहनुभएका उपकुलपति प्रा.डा. थपलिया, विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्देश दास श्रेष्ठ, कलेजका कार्यकारी अध्यक्ष चौधरी, क्याम्पस प्रमुख तथा कार्यक्रम संयोजक सन्दिप दास श्रेष्ठलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सो कलेजमा ३ सय २५ जना विद्यार्थी अध्ययनरत छन् ।
जेनिथ इन्टरनेशनल कलेजद्वारा शिक्षासेवी पोखरेल सम्मानित
![](https://www.entertainmentkhabar.com/wp-content/uploads/2025/02/Zenith-college-2.jpeg)