विराटनगर : कोशी प्रदेश खेलकुद विकास बोर्डले विराटनगर महानगरपालिका वडा नं १९ मा रहेको बैजनाथपुर क्रिकेट रंगशाला संरक्षण तथा सम्वर्द्धन समितिको संयोजक पदमा प्रदिपकुमार भगत थारुलाई मनोनयन गरेको छ। खेलकद विकास बोर्डको २३ औं बैठकले बोर्डका सदस्य समेत रहनु भएको थारुलाई संयोजक पदमा मनोनयन गरेको हो।
बोर्ड बैठकले क्रिकेट रंगशाला संरक्षण तथा सम्वर्द्धन समितिको सदस्य पदमा विराटनगर महानगरपालिका वडा नं १९ का वडाध्यक्ष श्याम घिमिरे , राष्ट्रिय तेक्वान्दो संघका कोशी प्रदेश अध्यक्ष मनोज विक्रम शाह , अन्तर्राष्ट्रिय प्रशिक्षक प्रभाकर राना मगर र मोरङ जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख राजन कुमार पोखरेललाई मनोनयन गरेको खेलकुद विकास बोर्डका अधिकृत कालिदास भट्टराईले जानकारी दिनु भयो।
त्यस्तै , बोर्ड बैठकले प्रादेशिक रंगशाला इटहरीको संरक्षण तथा सम्वर्द्धन समिति संयोजकको जिम्मेवारी बोर्ड सदस्य शैलेश कुमार विष्टलाई दिएको छ। इटहरी उपमहानगरपालिका वडा नं ९ स्थित रंगशालाको संरक्षण तथा सम्वर्द्धन समिति सदस्यमा बोर्ड सदस्य सन्दीप राई , इटहरी वडा नं ९ का वडाध्यक्ष जितेन्द्र थापा , सुनसरी जिल्ला क्रिकेट संघ अध्यक्ष चेतनाथ पौडेल र रंगशालाका प्रशासकीय अधिकृत चण्डिका प्रसाद बास्तोलालाई मनोनयन गरिएको भट्टराईले बताउनु भयो।
मनोनित संयोजकद्वय तथा सदस्यहरुलाई पत्र हस्तान्तरण गर्दै खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले राज्यले खेलकुदको विकासका लागि निर्माण गरेको संरचनाको संरक्षणमा समाज र राज्यका सबै पक्ष एकजुट भनेर लाग्नु पर्ने बताउनु भएको थियो। बस्नेतले खेलकुदको विकासका तथा विस्तारका लागि खेलकुद संरचना अति महत्वपूर्ण रहेको बताउँदै सबै सरोकारवालाहरुसँग समन्वय गरेर कार्य गर्न निर्देशन समेत दिनु भएको थियो।