विराटनगर ÷ संखुवासभाको चिचिला गाउँपालिकाले प्रकाशित गरेको ‘चिचिला अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलन–२०८१’ नामक स्मारिका विमोचन गरिएको छ ।
संखुवासभामा आयोजित कार्यक्रममा कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले स्मारिकाको विमोचन गरे । चिचिला गाउँपालिकामा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त साहित्यकार ताराबहादुर बुढाथोकीले सम्पादन गरेको उक्त स्मारिकाले चिचिला गाउँपालिकाको परिचय अन्तर्राष्ट्रियस्तरमा पुग्ने कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मन्त्री राईले बताए ।
स्मारिकाको परिकल्पना, संयोजन, संकलन तथा सम्पादन पाख्रिबासे कान्छो नामले समेत परिचित साहित्यकार बुढाथोकीले गरेका हुन् ।
गाउँपालिका अध्यक्ष पासाङ नूर्वू शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला समन्वय अधिकारी तथा पूर्वप्रशासकीय अधिकृत शुक्रादेवी राईले पुस्तकको चर्चा गरिन् । उनले लामो समयसम्म गहिरो अनुसन्धान गरी आफूले सोचेभन्दा धेरै गुणा राम्रो पुस्तक बनेकोमा सम्पादकलाई धन्यवादसमेत दिइन् । बालकुमार तामाङले पुस्तक चिचिलाको दस्तावेज भएको चर्चा गरे । मन्त्री राईले पुस्तकको निर्माण हुनु मुलुकमै भिन्न र महान काम भएको बताउँदै पुराना पुस्ताहरुको उजारगर गरी पुस्तान्तरण गर्ने र सबै सपनाहरु समावेश भएको एउटा ऐतिहासिक दस्तावेज भएको भन्दै प्रशंसा गरे । गाउँपालिका अध्यक्ष पासाङ नूर्वू शेर्पाले सबै श्रेय सम्पादकमा जाने बताउँदै आफ्नो कार्यकालको एउटा ऐतिहासिक र उत्कृष्ट कार्य भएको बताए ।
कार्यक्रममा महेन्द्र राईले पुस्तकको सम्पादन कार्यबाट आफूलाई निकै ठूलो प्रेरणा मिलेको बताएका थिए । लेखक तथा सम्पादक बुढाथोकीले पुस्तकभित्र चिचिलाको जीवन र जगतलाई प्राथमिकता साथ समेटेको र लामो समयको मेहनतले पुस्तक तयार भएको बताए । उनले चिचिलावासीको अपनत्व हुने काम गर्न सकेकोमा खुसी व्यक्त गरे । पुस्तकभित्र जातीय सांस्कृतिक पहिचान, प्राकृतिक सौन्दर्यको प्रकाशन र गाउँपालिकाको तथ्यलाई समावेश गरिएको छ ।
औपचारिक कार्यक्रम सुरु हुनुभन्दा अघि पन्चैबाजा र पन्चकन्याबाट अतिथि र आगन्तुकलाई स्वागत गरिएको थियो ।

तपाईको प्रतिक्रिया