विराटनगर । उधौली पर्वले प्रकृति र मानवबीचको सम्बन्धलाई उजागर गर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभएको छ ।
आज उधौली पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले प्रकृति पुजक किरात समुदायको यो पर्वले मानव समुदायलाई प्रकृतिप्रति कृतज्ञ हुन प्रेरित गर्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले भन्नुभयो – ‘उधौली पर्वले मानव जीवन र प्रकृतिबिचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्दै मानव जातिको अस्तित्वको निरन्तरताका लागि प्रकृति र वातावरणको संरक्षण अपरिहार्य रहेको सन्देशसमेत दिएको छ भन्ने मलाई लाग्दछ ।’

उहाँले ऋतु परिवर्तनको प्राकृतिक चक्रसँगसँगै आफ्नो जीवनचर्यालाई एकाकार बनाउन अभ्यस्त प्रकृति र पितृपूजक किराँत समुदायको यस चाडले हाम्रो मौलिक साँस्कृतिक परम्परालाई समृद्ध बनाएको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले उधौली पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव र सहिष्णुतालाई मजबुत पार्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो । किरात समुदायले आज उधौली पर्व मनाइरहेका छन् ।

तपाईको प्रतिक्रिया