राजविराज– ०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले जितेका सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ को वडाध्यक्ष पद उपनिर्वाचन मार्फत जनता समाजवादी पार्टी (जसपा) नेपालले खोसेको छ।
मतगणनाको अन्तिम परिणाम अनुसार डाक्नेश्वरी नगरपालिका १ को वडाध्यक्षमा जसपा, नेपालका धिरेन्द्रकुमार साह निर्वाचित भएका छन्। ६५२ मत ल्याएर उनी निर्वाचित हुँदा यसअघि वडाध्यक्ष निर्वाचित भएको कांग्रेसका उम्मेदवार भूलिया देवी थरुनीले ५८७ मत ल्याएर दोस्रो भएकी छिन्।
नेकपा एमालेका भगवानी साहले २ सय ६५ मत मात्रै पाए। ०७९ को निर्वाचनमा यस वडामा ५३५ मत ल्याएर प्रितमलाल चौधरी निर्वाचित भएका थिए।
यसैगरी, वडा नम्बर ४ को वडाध्यक्षमा पनि जसपा नेपालकै देवेन्द्रप्रसाद यादव निर्वाचित भएका छन्। उनले ३७२ मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जोगिन्द्र राय अमात २७७ र जनमत पार्टीका उदयनारायण पण्डितले २३१ मत पाएका छन्।
यो वडामा पनि ०७९ को निर्वाचनमा नेपाली कांग्रेसका हरिप्रसाद राय विजयी भएका थिए। ३३३ मत ल्याएर हरिप्रसाद विजयी हुँदा जसपा नेपालका महेन्द्र यादव २६९ मत ल्याएर दोस्रो भएका थिए।