विराटनगर । यु–१९ महिला क्रिकेट टोलीलाई विश्वकप पुर्याउने मुख्य प्रशिक्षक महेशप्रसाद रिजाललाई विराटनगरमा रहेको विकेभिएम स्कुलले सम्मान गरेको छ ।

शुक्रबार स्कुलमा आयोजित कार्यक्रममा स्कुलले रिजाललाई खादा, माला र मायाको चिनो प्रदान गरेको हो । विकेभिएम स्कुलमा वि.सं. २०६० सालदेखि प्रशिक्षकको भूमिका निभाउँदै आएका रिजाललाई नेपाल क्रिकेट संघ (क्यान)ले २०८१ भदौ ११ गते यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

नेपालको महिला क्रिकेटले इतिहासमै पहिलोपटक आफूलाई विश्वकपको मञ्चमा उभ्याउदा विराटनगरका रिजाल त्यसका प्रमुख नेतृत्वकर्ता थिए । देशलाई खुशी दिने यही कोशेढुङ्गा पार गराएका उनी गृहनगरमा आएको समयमा सम्मानित भएका हुन् ।
उनको नेतृत्वमा महिला टि–२० विश्वकपको एसिया छनोटमा नेपालले ६ खेलमा ५ जित हासिल गर्दै विश्वकपको यात्रा तय गरेको छ । नेपालले यूएईलाई नेट रनरेटमा पछि पार्दै विश्वकपमा स्थान सुरक्षित गरेको हो ।

नेपालको युथ–१९ महिला टिमले आउँदो डिसेम्बरमा एशिया कप र जनवरीमा विश्वकप खेल्दैछ ।

तपाईको प्रतिक्रिया