दमक, कात्तिक १६ गते । झापासँग सीमा जोडिएको ईलामको चुलाचुली गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालनका लागि भवन बनेको दूई बर्ष भइसकेको छ । बजेट अभावमा अस्पताल सञ्चालन हुन नसकेपछि आर्थिक सहयोग जुटाउन बहुधार्मिक प्रवचनसहित समावेशी श्रीमद भागवत महापुराण तथा ज्ञान महायज्ञ लगाउने तयारी गरिएको छ ।
गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार बि.स. २०७७–७८ देखि निर्माण शुरु भई गत आर्थिक बर्षमा अस्पतालको भौतिक पूर्वाधार निर्माणले पूर्णता पाएको भए पनि अस्पताल सञ्चालनका लागि दिगो स्रोतको सुनिश्चितता नहुँदा अस्पताल सञ्चालन भएको छैन ।
चुलाचुली गाउँपालिका वडा नं २ बाह्रगोठेमा अस्पतालका लागि सुविधायुक्त आधुनिक भवन निर्माण भइसकेको छ । महायज्ञबाट संकलित रकमबाट अस्पताल सञ्चालका लागि बेग्लै दिगो अक्षयकोष बनाउने लक्ष्य रहेको केरुङले बताउनुभयो । कात्तिक २६ देखि मसिंर ३ गतेसम्म यो महायज्ञ आयोजना हुँदैछ ।
स्थानीय सबैको सल्लाह र सुझावअनुसार दिगो स्रोतको सुनिश्चितताका लागि अक्षयकोष बनाउने उद्देश्य समेत राखेर बहुधार्मिक प्रवचनसहितको श्रीमद भागवत ज्ञान महायज्ञ आयोजना गर्न लागिएको हो ।
चर्चित धार्मिक प्रवचक राधिका दासी र ओमनन्द तथा लामा गुरुहरु लगायतबाट धार्मिक प्रवचन हुने महायज्ञ मूल आयोजक समितिका सचिव विवश बलिभद्र कोइरालाले बताउनुभयो ।