दशैँमा विशेषतः मासुको बढी मात्रा प्रयोग गरिन्छ । मासु प्रयोग गर्दा सकेसम्म ताजा र कम प्रयोग गर्नु नै स्वास्थ्यका लागि राम्रो मानिन्छ । तर एकचोटि काटेको मासु दशैँभर नै प्रयोग गरेको पनि पाइन्छ । दशैँ भन्नेबित्तिकै अधिकांश मानिसको लागि थरी–थरीका मीठा परिकार बनाएर स्वादिष्ट खानाको स्वाद लिन पाउने अवसरको रुपमा बुझ्ने गरिन्छ ।
खानेकुराहरुको परिकारमध्ये अझ बढी मासुको प्रयोग हरेक नेपालीको भान्छामा हुने गर्छ । तर दशैँ, तिहारजस्ता चाडपर्वमा खुशी साट्न खाने र खुवाइने मासुका परिकारहरु सही तरिकाले खान जानिएन भने त्यो एकछिन्को खुशी शरीरको लागि दुःखको समाचार बन्न पनि सक्छ ।
मासु मानिसको शरीरलाई अत्यावश्यक खानेकुरा होइन तर हामी प्रायः पौष्टिक आहार परिपूर्तिका लागि मासु खाने गर्छौं । तर यो आवश्यकता भन्दा बढी भयो भने यसले अनेकौं किसिमका रोग निम्तिने गर्छ । कुनै रोगहरु यस्ता हुन्छन् कि एकै वर्षको दशैँमा खाएको मासुले गरेको असर जीवनभर खेपिरहनुपर्ने पनि हुन सक्छ । त्यसैले यस्तो अवस्थामा ध्यान पु-याउनुपर्ने हुन्छ ।
यस्ता रोगीले कम खानुस् मासु
दशैँमा अन्य समयभन्दा मासु अनि गुलियो र चिल्लो पदार्थको सेवन बढी मात्रामा हुन्छ । जिब्रोको स्वादका लागि अमिलो, पिरो र मसलाको धेरै प्रयाग गरिन्छ । यसले स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने बारे भने कमैले ध्यान दिएका हुन्छन् ।
दशैँमा माछामासुको प्रयोग अत्यधिक मात्रामा हुन्छ । धेरैको घरमा खसी, बोका, राँगा, बंगुर, कुखुरा, च्याङ्ग्र्रा काटिन्छ । माछामासुमा पनि दशैँको समयमा रातो मासुको प्रयोग बढी मात्रामा प्रयोग हुन्छ । यो समयमा मासु पकाउनका लागि तेल, मसला र अन्य सामानको प्रयोग बढी हुन्छ । रातो मासुमा यसै पनि चिल्लोको मात्रा बढी हुन्छ ।
यसले युरिक एसिड बढाउँछ । रातो मासुको सट्टा सेतो मासु प्रयोग गर्दा स्वास्थ्यलाई लाभदायक हुन्छ । चिकित्सकको भनाइअनुसार रातो मासुमा अत्यधिक प्रोटिनका साथै फ्याटी एसिड पनि प्रशस्त मात्रमा हुन्छ । मासुमा भएको कोलेस्ट्रोल र फ्याटी एसिडले स्वास्थ्यलाई बढी हानी गर्छ ।
यसले मुटु रोगीलाई बढी हानी गर्छ भने मुटु रोगको खतरा पनि निम्त्याउँछ । रातो मासु भन्नाले चारखुट्टे जनावरको मासुलाई जनाउँछ भने सेतो मासु भन्नाले कुखुरा वा माछालाई जनाउँछ । कुखुरा, माछा, अस्ट्रिच र इमुलगायतको मासु रातो मासुभन्दा फाइदाजनक मानिन्छ ।
छालायुक्त मासु नखानुस्
छालासहित जनवारको खुट्टा, पखेटा, साँप्रोमा चिल्लो पदार्थ, कोलेस्ट्रोल र क्यालोरीको मात्रा बढी रहेको हुन्छ । यसले पनि विभिन्न रोगहरू निम्त्याउँछ । सँगै खसी, बोका, राँगा, च्याङ्ग्र्रालगायतको जनावरको छालामा काटिएका रौँ पनि रहन्छ । त्यसैले यस्ता छाला भएको मासु खान अस्वस्थकर मानिन्छ ।
रातो मासुले कसरी बिमारी निम्त्याउँछ ?
रातो मासु बढी खानाले उच्च रक्तचाप, कोलेस्ट्रोल बढ्ने, मधुमेह हुने, मुटुका धमनीहरु सााघुरो हुने, हृदयाघात, पक्षघातलगायतका समस्या निम्तिन सक्छ ।
रातो मासु खाँदा हाम्रो पेटमा भएका जीवाणुहरुले रातो मासुबाट कारनिटिन भन्ने तत्वको उत्पादन गर्दछ । कारनिटिनले मुटु तथा अन्य धमनीहरुलाई साह्रो र साघुँरो बनाउँछ ।
मसला कम गर्नुस्
दशैँमा परिकारहरूमा मसलाको प्रयोग अत्यधिक मात्रामा हुने गर्छ । चिल्लोसँगै मसला धेरै प्रयोग गर्दा त्यसले स्वास्थ्यमा समस्या ल्याउन सक्छ । मासुका परिकारमा बेसार, अदुवा, खुर्सानी, जिरा, मरिच, मेथी, सुप, धनियाँ धेरै राख्नु पनि रामो होइन ।
बजारमा पाइने रेडिमेड मसलाहरूको शुद्धतामा ग्यारेन्टी गर्न नसकिने हुँदा तिनीहरूले शरीरमा समस्या ल्याउन सक्छन् । त्यसैले घरमै तयार गरेको मसला खाँदा राम्रो हुन्छ ।
दशैँको बेलामा दीर्घरोगीहरूले स्वास्थ्यको विशेष ध्यान दिन जरुरी हुन्छ । दशैँमा खानपिनमा ध्यान नदिँदा, मधुमेह, उच्च रक्तचाप, मुटु र एसिडका बिरामीले बढी मात्रामा ध्यान दिनुपर्ने हुन्छ । मुधुमेहका बिरामीले गुलियो र चिल्लो पदार्थ खानुहुँदैन ।
मासुसँग मदिराको प्रयोग
दशैँलाई मासु र मदिराको चाडको रुपमा पनि लिइन्छ । मासु र मदिराविनाको चाडबाड खल्लो हुनेसमेत भन्ने गरिन्छ । तर मदिरा अत्यधिक सेवनले निकै असर गर्छ । दशैँमा चिल्लो, बोसोयुक्त लगायत खानेकुराहरु खाइएको हुन्छ ।
यस्तोमा हाम्रो मृगौलालाई काम गर्न गाह्रो भइरहेको हुन्छ । त्यसमाथि हामीले मदिरा सेवन गर्नाले मृगौलामाथि थप भार पर्न जान्छ । यसले मृगौलामा अनेकौं किसिमका रोगहरु निम्तिने गर्छन् । त्यसैले क्षणिक रमाइलोका लागि दीर्घकालीन रोग निम्त्याउनुभन्दा समयमै ख्याल गर्नु राम्रो हुने चिकित्सकहरु सुझाउँछन् ।
कस्तो मासु खाने ?
चाडबाडमा मासु खानै नहुने भन्ने होइन । कस्तो मासु खाने, कति र कसरी खाने भन्नेले अर्थ राख्छ । रातोभन्दा सेतो मासु खान उपयुक्त हुन्छ । रातो मासु खानै हुँदैन भन्ने होइन तर मात्रा मिलाएर खान जान्नुपर्छ । मासुका लागि उपयुक्त पशु तथा पन्छीको उल्लिखित अंग नखाँदा स्वास्थ्यका लागि उपयुक्त हुन्छ ।
– शिवानी गौतम, कोहलपुर, बाँके ।
आयुर्वेदप्रतिको बढ्दो आकर्षण
कोरोनाबाट बच्न आयुर्वेदिक औषधिको प्रयोग बढेको देखिन्छ । विशेष गरी कोरोना महामारी शुरु भएसँगै आयुर्वेदिक औषधितर्फ नागरिकको आकर्षण बढेको हो । कोरोना संक्रमणबाट बच्न तथा यसको रोकथाम र नियन्त्रणका लागि आयुर्वेदिक औषधि उपयुक्त भएको भन्दै नागरिकहरुको आयुर्वेद चिकित्सा सेवाप्रति पछिल्लो समय चासो बढेको पाइएको छ ।
बिगतमा पनि आयुर्वेद चिकित्सा सेवाप्रति नागरिकको विश्वास रहेको थियो तर पछिल्लो समय महामारी शुरु भएसँगै यसको महत्व अझ बढेको देखिन्छ । जसले गर्दा सरकारी आयुर्वेद अस्पतालमा दिनहुँजसो नागरिकहरु रोगसँग लड्न तथा रोग प्रतिरक्षात्मक क्षमता बढाउने खालका आयुर्वेद औषधि लिन जाने गरेको पाइएको छ ।
विशेष गरी कोरोना संक्रमित भएका र कोरोना संक्रमणको जोखिम भएका नागरिकलाई रोग प्रतिरोधात्मक आयुर्वेद औषधिहरु निःशुल्करुपमा दिने पनि गरिएको छ । आयुर्वेद चिकित्सा पद्धतिहरु प्राकृतिक जडीबुटीबाट निर्मित हुने भएकाले मानव स्वास्थ्यका लागि फाइदाजनक र स्वास्थ्य उपचारमा समेत तुलनात्मकरुपमा बढी प्रभावकारी मानिएको छ ।
त्यसै गरी कयौँ जडीबुटी गाउँघरमै पाइने हुँदा प्रयोग गर्न पनि सहज भएकाले अब बिस्तारै नागरिकहरुको आयुर्वेद चिकित्सातर्फ आकर्षण र महत्व बढ्दै गएको छ ।
– सुमित्रा कोइराला, काठमाडौं ।