‘मिसेस पूर्वेली आइकन २०८१’ को बिहीवार ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । आयोजक संस्था ओपन स्पेसले संविधान दिवसको अवसर पारेर इटहरीको रोयल रिसोर्टमा यस कार्यक्रमको आयोजना गरेको थियो ।  प्रतियोगिताका ८ जना फाइनलिस्ट प्रतियोगीहरूले आ-आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । प्रतियोगितामा सुनिता पुरी, रेश्मा लिम्बु, मुना बजगाई, रेनुका श्रेष्ठ, रुबिना श्रेष्ठ, जिसिका सापकोटा, दिपिका भट्टराई, र सुस्मा बिस्टले निर्णायक तथा उपस्थित दर्शकका माझ आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।

सो राउण्डमा सुनिता, रेश्मा, रेनुका, दिपिका र सुस्माले विभिन्न भाषाभाषीका पहिरनमा नृत्य प्रस्तुत गरेका थिए भने रुबिना श्रेष्ठले गायन प्रस्तुति दिएकी थिइन् । मुना बजगाई र जिसिका सापकोटाले कविता वाचन गरेकी थिइन् । यो प्रतियोगिताको ट्यालेन्ट राउन्ड विशेषत: प्रतियोगीहरूले आफ्नो भित्री प्रतिभा उजागर गर्ने र आफ्नो क्षमता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा रहेको थियो । निर्णायक मण्डलमा राजु केसी, स्मित कार्की, प्रज्वल पराजुली र यसोदा रहेका थिए ।

निर्णायकहरूका अनुसार प्रतियोगीहरूले देखाएका कलामा मौलिकता, प्रस्तुतीकरण र आत्मविश्वास उच्च स्तरको रहेको थियो ।  यस कार्यक्रमले विवाहित महिलाहरूका लागी नयाँ आयाम थपेको छ । जहाँ सौन्दर्यको परिभाषा केवल बाहिरी स्वरूपमा सीमित नरही उनीहरूको भित्री कला, क्षमता र बौद्धिक विकासमा जोड दिइएको छ ।

प्रतियोगिताको फाइनल यहि असोज १२ गते इटहरीको लायन्स क्लबको सभा हलमा साँझ ६ बजेबाट सुरु हुनेछ । फाइनलमा यी ८ जना फाइनलिस्टहरूले विभिन्न विधाहरूमा प्रतिस्पर्धा गर्दै मिसेस पूर्वेली आइकनको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । विजेताले नगद ५० हजारसहित अन्य थुप्रै पुरस्कार जित्ने छन् भने सबटाईटलहरु पनि वितरण गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया