विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दैवी प्रकोपका समयमा उद्धार र राहत वितरणमा स्काउटको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । स्थानीय स्काउट परिषद्को दीक्षान्त तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय स्काउट परिषदका संरक्षकसमेत रहनुभएका मेयर कोइरालाले स्काउटको क्षेत्रलाई व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो । शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको भए पनि स्काउटले रक्तदान, बाढी पहिरो र डुबानपीडितको उद्धारलगायतमा सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । नेपालमा जहानिया राणा शासन अन्त्यपछि २००९ सालमा स्थापित स्काउटको आफ्नै छुट्टै पहिचान रहेको मेयर कोइरालाले उल्लेख गर्नुभयो ।

दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार तथा सहायता कार्यमा नेपाल स्काउटले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उहाँको भनाइ थियो । कोरोनाकालमा राहत वितरणसँगै नागरिकलाई सचेतना फैलाउन पनि स्काउटले खेलेको भूमिकाको मेयर कोइरालाले प्रशंसा गर्नुभयो ।
कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले स्काउटले समाजलाई अनुशासित बनाउन भूमिका खेलेको चर्चा गर्नुभयो । समाज रुपान्तरणमा स्काउटको योगदान महत्वपूर्ण रहेको बताउँदै उपमेयर कार्कीले स्काउटको मूल मर्म र भावनाअनुसार कार्य गर्नु आवश्यक रहेको औंल्याउनुभयो । इमान्दारिता, अनुशासन, परोपकारी, राष्ट्र र शान्ति स्काउटको मूल सिद्धान्त र नियम भएको उहाँले बताउनुभयो । कार्यक्रममा मेयर कोइरालालाई राष्ट्रिय प्रशिक्षक तथा राष्ट्रिय कार्यकारी समितिका सदस्य (आयुक्त) नवलप्रसाद उपाध्यायले दीक्षित गराउनुभएको थियो ।

त्यस्तै स्थानीय स्काउट परिषद् सदस्यहरूलाई पनि विराटनगर महानगरपालिकाकी उपमेयर तथा स्थानीय स्काउट प्रमुख शिल्पा निराला कार्कीले सपथ गराउनुभएको छ । कार्यक्रममा स्काउटका सहप्रमुख आयुक्त किरण गिरी, राष्ट्रिय सामुदायिक विकास आयुक्त सुदर्शन भट्टराई, प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । स्थानीय स्काउट कार्यालय विराटनगरको आयोजनामा भएको कार्यक्रममा स्थानीय स्काउट परिषदका २६ जना सदस्यलाई दिक्षित गरिएको स्थानीय स्काउट प्रमुख आयुक्त नवीन पहाडीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया