प्रिय प्यारी सरिता,
लाखौंलाख माया अनि अनेकौं सम्झना ।

तिमीलाई मैले गर्ने सम्बोधनमा कुनै परिवर्तन आएको छैन, परिवर्तन आवश्यक छजस्तो पनि लाग्दैन । तिमी मेरो लागि हिजो प्रिय थियौ, आज प्रिय छ्यौ, अनि भोलि पनि हुनेछ्यौ । एकचोटी माया गरिसकेको, मन मुटु, साँटिसकेको मान्छे उत्ति नै प्यारो र प्रिय हुँदोरै’छ आखिर हजारौं चोट दिएको किन नहोस् ।

पूर्णिमाको रातमा टहटह चम्किएको चन्द्रमाले शान्त अनि शितल प्रकाश छर्दै सिंगो धरतीलाई जाजल्यवान बनाएको झ्यालका सिसाबाट प्रष्ट देखिएको छ । उज्यालो धरतीको पृष्ठभूमिमा तिम्रा सम्झनाहरु बोकेर सुस्तरी आएका शितल हावाका तरंगहरु कसैलाई चाल नदिइकल कोठाभित्र छिर्दा मनमा हिमतालरुपी भावनाहरु एकाएक पग्लिन पुग्छन्, अनि नदी झै बग्दछन् माया, सम्झना र त्यहींसँगै जोडिएका भावनाहरु । अनि बाध्य बनाउँछन् मलाई, यी भावनाहरुलाई कलमको साहाराले कपीमा अक्षरको स्वरुप दिन ।

प्रिय, अब त म पनि गाउँघरको मेलापातमा कहलिएको लाठे भएको छु । एकाबिहानै तिम्री दिदी अनि मेरीचाहिं भाउजू सरस्वतीले धान थन्क्याउने मेला बोलाउनुभयो । प्रष्ट खुलेको नीलो आकाश, कलकल गर्दै बगेको निर्मल खोला, सुस्तरी चलेको बतास हुल बनाएर आकाशमा विचरण गरिरहेका चराहरुको समूह, वरपर देखिएका हरियाली डाँडापाखा, धान पाकेर पहेंलपुर बनेको बेसी अनि त्यही पाकेको धान थन्क्याउन व्यस्त मानिसहरुको बीचमा दिनभरि काम गरिरहँदा यो मनको मझेरीमा भने तिमी मात्र आइरह्यौ अनेकौं सम्झनाहरु लिएर, लाखौं कल्पना बोकेर अनि मायाको घुम्टो ओढेर !

लाग्थ्यो, खेतका प्रत्येक गरा अनि आलीहरुले तिम्रा यादहरुलाई अझै ताजा बनाउँदैछन् । आखिर नगराउन् पनि किन ? त्यही खेतको रोपाइँ त थियो, जसले हामी मिलन गरायो, पिरतीको डोरी बाट्न सहयोग अनि खै के–के, के–के गरायो । यति धेरै कुराहरुको साक्षी बनेको यो खेतलाई यति जाबो यादहरु दिलाउने अधिकार पनि छैन होला त ?

बैशाखमा आएको भूुकम्पबाट त्रसित गाउँ आधा असारसम्म नि पर्याप्त वर्षा नहुँदा आकुल–व्याकुल भएको थियो । म पनि कक्षा ११ को परीक्षा सकेर गाउँ फर्किएको थिएँ । त्यही दिन त हो प्रिय । जब रोपाइँमा लाठे नपुगेर कहिल्यै हिलो नटेकेको म आलोकाँचो केटोलाई रोपाइँको मेलोमा जान परेको थियो । मलाई के थाहा र प्रिय पारि देखिने गाउँबाट त्यो भीमकाय तामाकोशी तरेर दिदीको रोपाइँमा सहयोग गर्न आएकी तिमीसँग मेरो भेट हुन्छ भनेर !

अनि के थाहा त हामी एकअर्काको मायाको सागरमा यसरी चुर्लुम्मै डुब्छौं भनेर ! के थाहा त यसरी मुटु बिझाउने माया लाइन्छ भनेर !

ठिक्कको उचाइ अनुपात मिलेका तिम्रा शारीरिक अवयवहरु, पुष्ट र फराकिलो निधारमा टल्किएको टीका, छरितो शरीर, कुर्तामा सजिएर हातमा घुम बोक्दा तिमी त साँच्चै कति हो कति राम्री देखिएकी थियौ । त्यसैले त पहिलो नजरमै भुतुक्क बनाएकी थियौ मलाई । शान्त मनरुपी पोखरीमा तिम्रा निर्दोष अनि निश्चल आँखाहरुले ढुंगा हानी शरीरभरि फैलने तरंगहरु पैदा गरेका थिए । राम्री मात्रै कहाँ थियौ र तिमी, छरिती र जाँगरिली पनि थियौ । असारे हिलोमा कति कलात्मक रुपमा छुपु–छुपु धान रोपेकी थियौ तिमीले । कति लयबद्ध थिए ती धान रोपाइँका आवाजहरु । म मात्र कहाँ हो र, रोपाइँमा आएका सबैजना तिम्रो सीप र जाँगर देखेर छक्क परेका थिए ।

बेलाबेलामा मैले तिमीलाई हेरेको सुइँको पाएका रोपाहारहरु मतिर हेरेर व्याङ्ग्य गर्थे र भन्थे, ‘यति जाँगरिली मान्छेलाई त हाम्रै गाउँको बुहारी बनाउनुपर्छ ।’ अनि लाजले भुतुक्कै हुन्थें म पनि । एकातिर तिमी थियौ, जो गाउँको परिवेशमा हुर्किएर खेती किसानीको सबै काम जानेकी कति शान्त, सुशील अनि सहयोगी स्वभावकी मान्छे, अर्कोतिर म थिएँ, जो गाउँमै हुर्किको तर खेतका आली–पनि लाउन नजान्ने खेतका गराहरु पनि सम्याउन नजान्ने । साँच्चै त्यो दिन कति धेरै लाज लागेको थियो मलाई आफैदेखि प्रिय । त्यही दिन नै त हो मलाई तिमीप्रति प्रेम भएको । आफ्नो परिवेशप्रति प्रेम भएको । आफ्नो माटोप्रति प्रेम भएको । आफ्नो पुर्खाको पेशाप्रति सम्मान भएको । कति चाँडो परिवर्तन गराएको थियो तिम्रो मायाले, त्यो पनि एकैदिनमा ।

विगतका रोपाइँमा मेरो काम घरमा बसेर घर कुर्ने र वर्षे विदाको गृहकार्य गर्ने हुन्थ्यो, किताबसँग खेलेर किताबमै निदाउने बानी बस्दा । मैले आफ्नो परिवेश, माटो र पेशा नै पो चिन्न सकेको रहेनछु । बुबाले मजदुरी गरेरै भए पनि मिठो खुवाए । आमाले फाटेको चोली लगाएर भए नि हामीलाई राम्रो लाउन दिइन् र यसैको सुखमा मात्तिएर म त झण्डै आफ्नो माटोसँग पो टाढा भएको रहेछु । तर, तिमी नै थियौ प्रिय मलाई आफ्नो माटोको सामिप्यमा पु¥याउने ।
खै तिमीलाई सम्झना छ कि छैन, त्यही दिन नै तिमीबाट प्रेरित भएर कति मिलेका आली लगाएको थिएँ ।

कति राम्ररी सम्याएको थिएँ खेतका गराहरु अनि कति पंक्तिवद्ध बनाएर रोपेकी थियौ धानको बेर्ना तिमीले । जसरी हामीले रोप्न सुरु गरेका थियौं मायाका बीजहरु अनि मौका मिल्नासाथ कति धेरैपटक जुधाएका थियौं आँखाहरु अनि व्यक्त गरेका थियौं न्यानो र निश्चल माया । खै कसरी भनूँ त्यो दिनको खुसी ! मन त साँच्चै गगन छुन उडेको थियो । तिमीले त एकादशीको मेलामा कैलाश पर्वतबाट अनेकौं संघर्ष पार गर्दै आएकी पवित्र तामाकोशीलाई छुँदै मायाको कसम खाएको । कहिल्यै नछुटिने प्रण गरेको अनि नदीको किनारमा सँगै रमाएको र हाम्रो मायाको लागि हामीले फूल तारेको पनि बिर्सियौ होला । गरेका वाचाहरु पनि भुल्यौ होला, फेरि काठमाडौं चरिकोट र जिरी बजारमा लुकी–लुकी भेटेर माया अभिव्यक्त गरेको पनि बिर्सियौ होला हैन ?

हुनसक्छ, कालिञ्चोक मन्दिर जाँदा हातमा हात मिलाएर बक्रेली डाँडाको उकालो चढेको, बाटामा भेटिएका पुष्पगुच्छाहरु मैले तिम्रै लागि बडो बहादुरीसाथ टिपिदिएको । माथि डाँडाको टुप्पामा पुगेर गौरीशंकर हेर्दै आनन्दित भएको । सैलुङ र हनुमन्तेका डाँडाहरु हेर्दै आफ्ना प्रणहरु दोहो¥याएको । तामाकोशी, रोल्वालिङ र गाउँबस्ती हेर्दै रमाएको । अनि कालिञ्चोककी देवीसँग एकअर्कालाई मागेको पनि बिर्सियौ होला । तर, प्रिय, मैले त केही पनि बिर्सन सकेको छैन । तिमीसँग बिताएका प्रत्येक क्षहरु, खाएका वाचा कसमहरु अनि मायाका प्रतिबद्धताहरु मस्तिस्कको कुनामा पत्रपत्र बनेर बसेका छन् । तिम्रा सम्झनाहरु अनि मुटुका सबै कोठा टम्मै भरिएका छन् तिम्रो मायाले र अझै पनि बिर्सन सकिएका छैनन् तिम्रा मिठा स्पर्षहरु । आइस्न्टाइन आफ्नो सापेक्षतावादी सिद्धान्तमा भन्छन्, ‘प्रत्येक कुरा सापेक्षिक हुन्छन् ।’ त्यसैले त होला हिजोका तिम्रा न्याना स्पर्शहरु आज बिझाउने काँडा बनेका छन् अनि तिम्रो माया हिजोको प्रेरणाबाट आज मेरो कमजोरी बनेको छ ।

बडो अचम्मको छ यो मानव मष्तिस्क पनि, नसम्झनुपर्ने कुरा सजिलै सम्झन्छ, नबिर्सनुपर्ने कुरा बिर्सन्छ । यही दिमाग र मुटुको जिद्दीले नै त हो प्रिय, तिमीले दिएको माया होस् वा अचानक दिएको धोका सबै उत्तिकै ताजा छन् । र, तिनै ताजा सम्झनाहरु बिझाउने सुइला बनेका छन् र त छोच्छन् घरिघरि मन मुटुमा च्वास्स–च्वास्स पारेर ।
आज २ महिना बितेछ तिमीले छोडेर गएको, तिमी अर्कैकी भएको, मायाका प्रण अनि बाचाहरु तोडेको । खै, केही पनि नबताई कति सजिलै छोडिदियौ ३ वर्षभन्दा लामो साथ ! म त अचानकको चट्याङ लागेर घायलजस्तै भएको थिएँ । तिम्रो वैवाहिक सम्बन्धको बारेमा सुन्दा भनन रिंगटा चलेको थियो ।

धरती भासिएको आभास भएको थियो अनि तिरमिराएका थिए आँखाहरु र भक्कानो फुटाएर पहिलोपटक रोएको थिएँ जीवनमा । थाहा भएन किन केही भनिनौ पहिले । आखिर चोट नै दिनु थियो भने किस्ता–किस्तामा दिएको भए हुने नि ! खै को गलत थियो, म थिएँ वा तिमी । तिम्रो परिवार गलत थियो वा समाज कमजोर आर्थिक धरातलमा रहेको परिवारको छोरीको छिटो विवाह गरिदिनुपर्ने बाध्यता गलत थियो वा छोरीलाई धेरै पढाउन नहुने सोच । मैले छुट्याउन सकिनँ, छुट्याउने आवश्यकता महसुस नै गरिन । अब छुट्याउन पनि चाहान्न र न्यायाधीश बनेर कसैलाई दोषी करार गर्न पनि सक्दिनँ ।

जति नै भावनामा बहकिए पनि जीवन जिउन त आफ्नो वास्तविकता र धरातलमै फर्किनुपर्ने रहेछ, त्यसैले त जसोतसो फेरि जिउन सिक्दैछु तिम्रा यादहरुले दिएका पीडाहरु ब्यहोर्दै भएपनि । अरु त खै के भनूँ प्रिय, जिन्दगी फलोस्, सुखी रहनू, खुसी हुनू, वैवाहिक जीवनको ढिलै भएपनि शुभकामना !

अनि कुनै चिन्ता नगर्नू, तिमीप्रतिको मेरो मायामा कुनै गिरावट आएको छैन । मैले तिमी, तिम्रा सम्झनाहरु र स्पर्शहरु रत्तिभर बिर्सिको छैन । अनि खाएका कसम र गरेका वाचाहरु पनि तोडेको छैन, कमसेकम तिमीले तोडे पनि । अनि तिमीप्रति त्यति धेरै गुनासो पनि छैन, न त रिस नै । तिमीले बिर्सिए पनि मैले त मुटुभरि संगालेर राखेको छु, हाम्रो माया अनि मस्तिष्कमा सम्झनाहरु । बरु कुनै दिन आवश्यक परे माग्नु अतितका सम्झनाहरु, विनाधितो, विनाशुल्क दिउँला जति माग्छ्यौ त्यति नै । बरु आफ्नो ख्याल गर, तिम्रीप्रतिको मेरो प्रेम त तामाकोशी झै निश्चल, अविरल बगिरहेकै छ, गौरीशंकर झै अटल छ अनि बुकेनीमा बसन्तमा बुकी फुलेझै बाह्रैमास फुलिरहेको छ । किनकि म पनि शिशिर योगी झैं भन्छु ‘माया गर्नुको अर्थ सिउँदो भर्नु होइन’ तर सिउँदो पनि भर्न पाए, सुनमा सुगन्ध हुन्थ्यो भन्ने मात्र हो ।

प्रकाश पकुवाल

तपाईको प्रतिक्रिया