प्रिय,
प्रेमका प्रतीक ती मुनामदन, हीरराँझा, लैलामझ्नु, रोमियो जुलियटको अझै बखान गर्छन् दुनियाँले । किनकि ती त केवल पात्र मात्र हुन् । एक लेखकका कल्पना मात्र हुन् । कुनै मस्तिष्कको चित्रार्थ मात्र हुन् । वास्तविक जीवनका प्रेमीहरु त कहिँकतै गुमनाम छन् । आफ्नो प्रेमको बारेमा समाजले थाहा पाउला कि भनेर कहिँकतै चुपचाप छन् ।
दुनियाँका साँचा प्रेमीहरु त केवल आकाशले देखेको छ । तिनलाई स्पर्श त केवल धर्तीले गरेको छ । तिनका प्रेमका भाका त केवल नदीले जानेको छ । तिनको सम्बन्धको मजबुती त बस् चट्टानले मानेको छ ।

तिनको सामीप्यताको राप त केवल अग्निले तापको छ । तिनको मिलनको शीतलता त केवल चन्द्रमाले मापेको छ । तिनका भावनाको सुगन्ध त केवल पवनले थामेको छ । तिनका गाम्भीर्यको गहिराइ त केवल सगरमाथाले नापेको छ । यस्तै थियो हाम्रो प्रेम कहानी केवल आकाशले देखेको, भावीले होइन आफैले लेखेको !

मैले कहिल्यै सोचेकी थिइन, मेसेञ्जर र इमेलको जमानामा म कसैलाई पत्र लेख्छु भनेर ! प्रेमलाई केवल आकर्षण भन्ने म उसैमा कुनै दिन ईश्वर देख्छु भनेर ! सोच्थें पनि कसरी ? तिमीलाई भेटेकी जो थिइन मैले, प्रेमरुपी समुद्रमा पाइला जो टेकेकी थिइन मैले ।

मलाई सधैं याद आइरहनेछ, एसएलसी परीक्षाको पाँच दिनअघि तिमीले दिएको त्यो पहिलो पत्र । प्रेमपत्र होइन मित्रतापत्र । मैले तिमीलाई कहिल्यै बताउनै सकिन । मैले त्यो पत्र सबैसंग लुकाएर बाथरुममा पढेकी थिएँ भनेर । नलुकाउनु पनि कसरी तिमीले कसैलाई पनि नदेखाउ जो भनेका थियौ । तिमीले कहिल्यै जान्नै चाहेनौ कि त्यो पत्र पढेर म कति रोएकी थिएँ ।केही आँसु पश्चात्तापका थिए ।

पश्चात्ताप यो कुराको कि सबैभन्दा बढी सहयोग गर्नुपर्ने बेलामा म नै तिमीसँग रिसाएर बसिदिएँ । केही आँसु खुसीका थिए, खुसी यो कुराको कि अन्तिममै भएपनि मैले यो जान्ने अवसर पाएँ कि तिम्रो जीवनमा मेरो पनि एउटा अस्तित्व रहेछ ! अनि केही आँसु दुःखका थिए । दुःख यो कुराको कि जब मित्रताको बन्धन कसिन आट्यो तब समयले नेटो काट्नै आँटेको थियो । मैले तिमीलाई त्यो पत्र दिनै सकिन जुन मैले तिम्रो जवाफमा लेखेकी थिएँ । दिन्थे पनि कसरी, तिम्रो मित्र त्यति साहसिली कहाँ थिई ?

म कहिल्यै भुल्न सक्दिन नयाँ बानेश्वरको त्यो सडक, त्यो पूर्ण चन्द्रमा, त्यो उज्यालो रात अनि हामी दुईको त्यो साथ । हामी हिंडी त सँगै रहेका थियौं । तर, हाम्रो गन्तव्य फरक थियो । अनि गन्तव्य एक पार्ने लक्ष्यले तिमीले मेरो सामु राख्यौ पहिलो प्रेम प्रस्ताव ! आफ्नो जवाफ कहाँ भुल्न सक्छु र म ? आफ्नो गल्ती कहाँ भुल्न सक्छु र म ? भनेकी थिएँ, “यो त केवल मप्रतिको तिम्रो आकर्षण हो । यो त बस् दुई दिने माया हो, जुन तिमी आज मसँग गर्छौ, हिजो कोही अरुसँग गथ्र्यौ र सायद भोलि कोही अरु नै सँग गर्नेछौ । मलाई यस्तो प्रेमको कुरामा विश्वास नै लाग्दैन । भविष्यमा तिमीले पनि यो कुरा अवश्य थाहा पाउनेछौ । यी सबै एउटा भ्रम मात्र हो । बस् मप्रतिको तिम्रो आकर्षण मात्र !”

त्यसपछि न तिमीले केही बोल्न सक्यौ न मैले । अब त त्यो फराकिलो सडक पनि साँघुरो लाग्न थालेको थियो, एक अर्काको साथ पनि खल्लो लाग्न थालेको थियो । पूर्णिमाको रात पनि औशी झैँ लाग्न थालेको थियो । त्यो पूरा चन्द्रमालाई बादलले जो ढाकेको थियो ।

त्यसपछि तिमीले रोजेको मसँगको त्यो दूरी म कसरी बयान गरुँ ? चाहँदाचाहँदै पनि तिमीसँग बोल्न नसक्नुको त्यो मजबुरी म कसरी बयान गरुँ ?

तिमी मसँग जति टाढा जाँदै थियौ, त्यति नै टाढा म आफैसँग जाँदै थिएँ । जूनतारा नलाग्दा जसरी आकाश शून्य हुन्छ, तिम्रो अनुपस्थितिमा मेरो जीवनपनि त्यसरी नै रित्तिदै गएको थियो । नरित्तियोस् पनि कसरी मेरो जीवनको आकाशको एक तृतीयांश जो तिम्रो नाममा थियो । तिम्रो अभावमा मलाई त्यो प्रेमको आभाष भइसकेको थियो ।

जुन प्रेमलाई मैले सधैं मित्रताको नाम दिइरहें, मेरो मनमा जुन भावना थियो त्यो केवल मित्रता होइन त्यो त बहुमूल्य प्रेम हो भनेर मलाई त्यस दिन आभाष भयो, जुन दिन विवाह मण्डपमा बसेका दुलाहा–दुलही देख्दा मलाई तिम्रो र मेरो स्मरण भयो । मेरो मनमा तिमीप्रति जुन भावना थियो, त्यो आकर्षण होइन, त्यो त आत्मीय माया हो भन्ने मलाई त्यस दिन आभाष भयो, जुन दिन झुपडीमा बसेर गुन्द्रुक ढिंडो खाइरहेका आमाबुवा देख्दा मलाई तिम्रो र मेरो बुढेसकालको कल्पना भयो । साँच्चै मैले तिम्री भएर तिमीसँग जीवन काट्ने सपना देख्न थालिसकेकी थिएँ ।
त्यही सपना साकार पार्ने उद्देश्यले मैले हिम्मत जुटाएर तिमीलाई बोलाएँ नयाँ बानेश्वर, द बेकरी क्याफे । तिम्रो जन्मदिन, तिमी र म अनि हाम्रो प्रेमको नयाँ अध्याय । सोचेकी थिएँ तिम्रो यो जन्मदिन निकै यादगार बनाउँछु ।

त्यो दिन कति उत्साहित थिएँ शब्दमा बयान नै गर्न सक्दिन म । द बेकरी क्याफेमा पूरा तयारीका साथ तिम्रो प्रतीक्षामा थिएँ । तिम्रोसामु मैले प्रेम प्रस्ताव राख्दा तिमीले दिने प्रतिक्रियाको कल्पना गर्दै म मख्ख थिएँ । यस्तैमा बज्यो मेरो फोनको घण्टी । फोन लगेर कानमा राख्दा हाम्रो साथीको स्वर सुनियो, जसले भनिरहेको थियो, “टिप्परले हान्दा आशुतोषको बाइक एक्सिडेन्ट भयो ∕”

म स्तब्ध भएँ । मेरो आँखामा मैले तिमीलाई प्रेम प्रस्ताव राखेको दृश्य र केवल एक वाक्य थियो, “आशुतोषको बाइक एक्सिडेन्ट भयो।” म झसंगिदंै, तर्सिदंै, हतारिदैं त्यहाँ पुगें, जहाँ तिमी थियौ । वा भनौं अब केवल तिम्रो शरीर मात्र थियो । बाँकी कुरा उस्तै थिए, नयाँ बानेश्वरको सडक, तिम्रो जन्मदिन, म, हाम्रो सम्बन्ध अनि तिमी । फरक थियो त बस् अवस्था ! मेरो चित्र हुनुपर्ने ती आँखामा अब अन्धकार छाएको थियो । मेरो नाम हुनुपर्ने त्यो कण्ठमा अब मौनता छाएको थियो । तिम्रो जन्मदिन यादगार त भएकै थियो ।

तर, उत्साहजनक यादको ठाउँ शोकसन्तप्त यादले लिइदियो । म सोच्न सक्दिनँ, ममा के बितेको थियो भनेर । जुन हातमा तिम्रो नामको मेहन्दी लगाउने सपना देखेकी थिएँ, त्यो हातमा तिम्रो रगत लतपतिएको थियो । जुन अंगालोमा तिमीलाई बेर्ने सपना देखेकी थिएँ, त्यहाँ अब तिम्रो मृत शरीर थियो । जुन जिन्दगीमा तिम्रो आगमनको पञ्चेबाजा घन्किने सपना सजाएकी थिएँ, त्यहाँ त तिम्रो मृत्युको शोक छाएको थियो । तिम्री दुलही हुन् नपाउँदै म तिम्री विधुवा भइसकेकी थिएँ ।

तिम्रो नामको पत्र कोर्दै अझै पनि म यही धर्तीमा छु अनि तिमी बादल पारिको देश । एक प्रस्ताव त्यो थियो, जुन स्वीकार्ने साहस मैले कहिल्यै जुटाउनै सकिनँ । एक प्रस्ताव त्यो थियो, जुन तिमीसमक्ष राख्न मैले आफ्नो डर हटाउनै सकिनँ । अनि एक प्रस्ताव यो छ, जुन तिमीसमक्ष चाहेर पनि म राख्न सक्दिनँ, जसलाई स्वीकार्न चाहे पनि तिमी स्वीकार्नै सक्दैनौ ।

जसरी मीराले मोहनलाई चाहेकी थिइन्, त्यसरी नै म तिमीलाई चाहिरहनेछु । मूर्तरुपमा त तिमी मेरो सामु छैनौ अब । तर, हरेक अमूर्त वस्तुमा म तिमीलाई महसुस गरिरहनेछु । बसन्तको हरेक पालुवामा, वर्षाको हरेक थोपामा, हेमन्तको जाडोमा, गृष्मको न्यानोमा, शिशिरको सरसर हावामा, सरदको रमझममा म तिम्रो नै आभाष गर्नेछु । आफ्नो जीवन रहुञ्जेल केवल तिमीसँग प्रेम गर्नेछु । केवल तिमीसँगै पुनर्जन्ममा त म विश्वास गर्दिन, यदि रहेछ भने कामना गर्दछु कि हरेक जुनी केवल तिम्री हुन पाउँ ।

तपाईको प्रतिक्रिया