नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेडलाई बक्यौता रकम भुक्तानी गर्न १५ दिनको समय दिएको छ ।

आज सार्वजनिक सूचना निकालेर प्राधिकरणले आधारभूत टेलिफोन सेवा अनुमतिपत्रको शर्तबमोजिम बुझाउनुपर्ने साढे सात अर्ब भुक्तानी चुक्ता गर्न निर्देशन दिएको हो । प्राधिकरणका अनुसार युनाइटेडले अनुमतिपत्र नवीकरण दस्तुरबापतको किस्ता रकम, फ्रिक्वेन्सी, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषलगायतको सात अर्ब ४२ करोड ९३ लाख ९१ हजार ३३७ रुपैयाँ बुझाउन बाँकी छ ।

‘निज सेवा प्रदायकले अनुमतिपत्रको शर्तबमोजिम दूरसञ्चार सञ्चालन गरेबापत नेपाल सरकार तथा प्राधिकरणलाई नियमानुसार तिर्न-बुझाउनुपर्ने अनुमतिपत्र नवीकरण दस्तुरबापतको किस्ता रकम, फ्रिक्वेन्सी, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषलगायतका दस्तुर बापतको जम्मा रकम रु.७,४२,९३,९१,३३७.१२ (मिति २०८१ जेठ मसान्तसम्म कायम हुन आएको जम्मा बाँकी रकम) यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बुझाउनुहुन जानकारी गराइन्छ’, सूचनामा भनिएको छ ।

तोकिएको समयावधिभित्र बक्यौता रकम नबुझाएमा दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम अनुमतिपत्र खारेजीको प्रक्रिया अघि बढाउने पनि प्राधिकरणको चेतावनी छ ।

तपाईको प्रतिक्रिया