मोरङ,१८ जेठ । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले तीन तहको सरकारले जनतालाई स्वच्छ खानेपानी पिउन पाउने अधिकारको संरक्षण गर्नुपर्ने बताउनु भयो । मोरङको टंकीसिनवारी खानेपानी तथा सरसफाई सामुदायिक संस्था वुढिगंगा–३ नेमुवाले ३० प्रतिशत र सङ्घीय सरकारको ७० प्रतिशत लगानीमा रु २७ करोड ५५ लाख ४० हजार ९२८ लागतमा निर्मित आयोजनाको आज उद्घाटन गर्दै सो विचार व्यक्त्त गर्नु भएको हो ।मन्त्री राईले संविधान र कानूनमा भएको व्यवस्था अनुसार जनताको खानेपानीको समस्या हल गर्दै जाने जानकारी दिँदै यसका लागि एउटा नीति बनाई तीन तहको सरकारबाट अलग अलग होइन एउटा योजना संयुक्त रुपमा सञ्चालन गर्नु पर्ने जरुरी रहेको धारणा राख्नु भयो ।
मन्त्री राईले नागरिकको आर्थिक समृद्धिवाट मुलुकमा विकास निर्माण कार्य सुचारु एवं समयमा सम्पन्न गर्न सकिने हुनाले वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि कायम गर्ने दीशातर्फ हिड्रिहेको विचार राख्नु भयो ।उहाँले वजेट निर्माणको क्रममा विकासमा पहिलो प्राथमिकता खानेपानी हुनु पर्छ भनेको चर्चा गर्दै प्रदेश र सङ्घले निर्माण गरिरहेका योजना सम्पन्न गर्न आवश्यक बजेटका व्यवस्था गरिएको बताउनु भयो ।मन्त्री राईले कामको परिणाम ल्याउन ‘ कुरा थोरै गर्ने काम धेरै गर्ने ’ परिपाटीबाट मुलुकमा विकासको गति अगाडि वढ्ने विचार व्यक्त गर्दै सरकार भनेको नीति निर्माण गर्ने थलो भएकोले नागरिकहरु एकजुट विकासलाई आगाडि वढाउन आग्रह गर्नु भयो ।कोशी प्रदेशका खानेपानी, सिंचाई तथा उर्जामन्त्री एकराज कार्कीले पानीको स्रोत सुक्दै गैरहेको अवस्थामा हामीसबैले तराई पहाडमा पानी पुनःभरण गर्न आग्रह गर्नु भयो ।उहाँले जनताको भावना अनुसार स्वच्छ खानेपानी उपलव्ध गराउन जनप्रतिनिधिहरुले कार्य गरेकोमा खुशी व्यक्त गर्नु भयो ।सामुदायिक संस्थाका अध्यक्ष नवराज विष्ट,खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा मगर, उपाध्यक्ष अमृता गच्छदार लगायतले जनसङ्ख्याको चापको वृद्धि अनुसार खानेपानीको आवश्यक्ता टड्कारो रहेको विचार राख्नु भयो ।उक्त खानेपानी आयोजना ४५० घन मिटरको दई ट्याङी रहनुका साथै एक सय ६६ किलोमिटर पाइप विस्तारवाट सो गाउँपालिकाको वडा नं १,२,३,४,५ र ६ का दुई हजार ७१ घरधुरी स्वच्छ र गुणस्तरीय पानी प्राप्त गर्न लाभान्वित भएका छन् ।