काठमाडौँ– साहित्यकार उषा शेचरनको कथासङ्ग्रह ‘बेग्लै म’ सार्वजनिक भएको छ ।
साहित्यकार शेचरनले पहिलो कथासङ्ग्रह ‘तेस्रो रङ्ग’ सार्वजनिक भएको १० वर्ष पुगेकै दिन सोमबार साँझ उनले फेसबुक लाइभ मार्फत आफ्नो नयाँ कथासङ्ग्रह सार्वजनिक गरेकी हुन् ।
आफ्ना शुभचिन्तक, साहित्यका स्रष्टाहरु र साहित्यप्रेमीसँग एक घण्टाभन्दा बढी समयसम्म फेसबुक लाइभमा प्रत्यक्ष जोडिएर उनले खुसी साटिन् । प्रत्यक्ष लाइभमै उनले कथासङ्ग्रहको रचनागर्भ समेटिएका विषयवस्तु र यसमा समेटिएका कथाहरुबारे सार सङ्क्षेपमा सुनाइन् ।
उनका अनुसार पछिल्लो कथासङ्ग्रहमा जीवन र जगतलाई उतारिएको छ । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘मेरा कथाका प्लट र पात्रहरू जीवन र जगतबाट नै आएका हुन् । मेरा कथाहरु क्यानभासभित्र पोतिएका बेग्लाबेग्लै रङ्ग हुन् । जसका बेग्लाबेग्लै जीवन भोगाइहरु छन् ।’
उनले कथाहरु कोरोना महामारीको समयमा लेखेकी थिइन् । २०३५ सालमै ‘मोदी’ बेनी पत्रिकामा छापिएको कथा ‘लोप’लाई समेत उनले आफ्नो सिर्जना दस्तावेजका रुपमा पछिल्लो कथासङ्ग्रहमा समावेश गरेकी छिन् ।
आफ्नो कथासङ्ग्रह समाज र अरु सिर्जनाभन्दा फरक नभएको जिकिर गर्दै उनले सङ्ग्रहमा भएका केही कथाहरुमार्फत आम मानिसको सोच परिर्वतन आएमा आफ्नो लेखनले सार्थकता पाउने विश्वास राखेकी छिन् ।
साँढे चार दशकभन्दा बढी समयदेखि साहित्य लेखन यात्रामा उनले कथामात्र नभएर उनले मुक्तक, कविता, गजल, उपन्यास विधा तथा गीति लेखनमा समेत कलम चलाएकी छिन् ।
यसअघि उनका ‘नजन्मेका आस्थाहरु’ कवितासङ्ग्रह, ‘अक्षरहरुका शिविरबाट’ मुक्तकसङ्ग्रह, ‘सर्वकालीन पीडा र जागृतिका शङ्खघोष’ कवितासङ्ग्रह, ‘तेस्रो रङ्ग’ कथासङ्ग्रह, ‘आधि’ उपन्यास, ‘अभिप्सा’ लगायत गीति एल्बम समेत प्रकाशित भएका छन् ।