काठमाडौँ । स्वर्गीय लोकगायक पदम बिष्ट र गायिका लोचन भट्टाराईको स्वर रहेको गीत ‘जाउँ साइँली बेनी बजार’लाई गायक तथा संगीतकार हेमन्त ‘कान्छा’ रसाइलीले पुन रेकर्ड गराएका छन् । रसाइली र गायिका भट्टराईको स्वरमा यो गीत पुनः रेकर्ड भएको हो । मौलिक झ्याउरे लोकदोहोरी शैलीमा तयार गीतकको भिडियो पनि बनेको छ ।
भिडियोमा प्रकाश सपुत, अञ्जली अधिकारी, सुनिल बिक र दीपा शाहीको अभिनय छ । भिडियोका निर्देशन सुनिल विकले गरेका हुन् । रोशन विश्वकर्माको कोरियोग्राफी र करन चैसिरको छायाङ्कन भिडियोमा छ । गीतको शब्द स्वर्गीय विष्ट र सपना रसाइलीले लेखेका हुन् । संगीत भने स्वर्गीय विष्टकै रहेको छ । पुराना गायक तथा संकलकहरुको सम्मानमा गीतलाई पुनः रेकर्ड गरिएको गायक रसाइलीले बताए ।