✍️माधव खतिवडा
कति बन्छस् डुकु
कति कुद्छस्
बिष्ट हुन् ठान्दै आँगन आँगन
कति सहन्छस् दलन्
कति कहर प्रताडन्
बाबु आईज
अब केहि गरौँ
मेरो गल्तिले मेरो घरको
सिकुवा उदिन्निएकोछ
पाली भत्किएकोछ
दैलो भासिएकोछ।
आ,…
खर काटौँ छानो टालौँ
धुरी बलो फेरौँ
पुरानियो मक्कियो घरको धुरी बलो
हावा झरिले ,घामपानिले ….
मक्कियो मुल थाम
आईज जुठे
हामी
आफ्नै बाउ छोरा पहिला मिलौँ …
रिङ्गै
घरमा घुमाउने पाली हालौँ
बिष्टको डोके भागको फुर्तिले
करेसाबारी बाँझै राखेर
मैले गरेको गल्तिले
बस्तु भाउ नपालेर
कुखुरा बाख्रा नपालेर
मैले गरेको अल्छिले
मैले
बाजा बजाउन जानेको घमण्डमा
कोदाला डल्लेठा बजाउन बिर्सँदा
हो यो समाजले हैन मैले
तलाई
मैले दबित बनाएँ!
हो जुठे मैले
मेरै लाचारिले
म जस्तै अल्छिले लाछिपनले ……
ओई जुठे
बाबु यता सुन त
हामी त मन्दिरका
दमाहा नगरा बजाएर
गाउँ शहर ब्युझाउने
हामी दमाही
नगरे
हामी त चँदुवा तोरण खिप्ने
मन्दिरका चँदुवा दम्ने दमै
उधमी
उधोगपति
स्वरोजगार
त्यो जमानामा पनि….
आज सम्म
खै के खोज्दै
किन कता अल्मलिएँ
के रुङ्दै बसेँ
हामीले
हाम्रो ईतिहास
हामीले नै सर्लक्कै भुलेर….
आईज जुठे
अब त सबै सबै पन भुलेर
तँ खर काट्
म चोया काड्छु
पहिला आफ्नै चुहिएको घर छाउनुपर्छ
घरको गार्हो भत्किन नदिन
सिकुवा नउदिन्निन
अनि कि जुठे आईज
घर छाएपछि
करेसा बारीको बाँझो फोर्नु पर्छ….
जुठे तँ जुठे हैनस्
तँ त तेति बेलैको
उधोगी होस्
कलाकार होस्
सँगितकार होस्
नृत्यकार होस्
ईतिहास जन्मिनुभन्दा अघि देखि…
बाटो हामीले बिर्सिएका हौँ
तैँले अब बाटो बिराउन हुन्
जुठे अब तँ जुठे हैनस्…