विश्व घुम्ने र देशलाई समृद्ध पार्ने पालो नेपालीहरुको हो : प्राज्ञ शेर्मा
‘मसँग मेरो हत्केला छ
जसलाई उठाउदा गाउँ उजेलिन्छ
मसँग एकजोर पैताला छ
जसलाई हिँडाउँदा
सँगसँगै हिड्छ मुहारमा
उज्यालो बोकेर मेरो देश ।
म त कल्पनामा उदाउने जून टिप्न
समुद्र तरेको पथिक,
थाहा थिएन हर साँझ बिहान
मैले सजाएको जूनताराहरु
आफ्नै बारीखेतमा फुलिरहँदो रहेछ
जसलाई टिप्नुछ मेरै हत्केलाले
आमा….
म मेरै सपनाको बिहानी बोकेर
तिम्रो काखमा ब्युँझन चाहन्छु ।’
शनिबार चतरा ‘उधारो सपनाहरु’ जस्तै अन्य कविताहरुमा झुम्यो । अनि यी नै कविताहरुमाथि कवि तथा प्राध्यापकहरुले चित्त माझामाझ गरे । आफ्नो विचारहरू प्रस्तुत गरे । मङ्सिरे चिसोले सताउन थालिसकेको बेला सुन्दर कविता र कवि लेखकहरुको जमघटले चतराले न्यानोपनको महसुस गरे ।
सन्दर्भ थियो, हाल जापानमा रहेकी कवि सयपत्री थुलुङको हालसालै बजारमा आएको कविता कृति ‘गाउँ फर्किरहेको परदेशी’ माथिको पुस्तक विमर्श । चतरा साहित्यिक मन्चले आयोजना गरेको सो कार्यक्रममा सो कविता कृतिमाथि कवि सयपत्री थुलुङ, कवि तथा प्राध्यापक टीका आत्रेय र राजन इशारा राईले आ-आफ्नो धारणा राखे ।
कवि एवम साहित्यिक पत्रकार प्रकाश दिप्साली राईले सहजीकरण गरेको सो विमर्शमा कवि टीका आत्रेयले सयपत्रीका कविताहरुमा कला र बिम्बको अत्यन्तै सुन्दर ढङ्गले प्रस्तुत गरिएको बताइन् । धेरै कविहरुको कला र विम्ब प्रयोगमा मेल खाएको पाइन्छ तर यो कृतिभित्र सयपत्रीको खास अनुहार देखिएको बताइन् । उनले थपिन् “यो कृतिमा पचास प्रतिशत नारी मन समेटिएको छ । आमा र देशलाई धेरै सम्बोधन गरिनु पनि एउटा नारीमुखी कृति भन्न मिल्छ । साथै ठेट नेपाली शब्दहरुको प्रयोगले कृतिको अरु तौल बढाएको छ । अनि कहि कहि चै कविता अलमलिएको छ, आउने दिनमा कविले यस्ता कुरालाई ख्याल गरेको खण्डमा झन निखारिएका कविता आउन सक्छ।”
अर्का वक्ता पहिचानवादी कवि राजन इशाराले समग्रमा यो कृतिमा देशप्रेम तथा समसामयिक विषय वस्तु समेटिएको बताए । उनले भने, “पहिचानको दृष्टिले यो कृति शसक्त छ । यसको मिथक प्रयोगले पनि मैले थप चासो दिएर यो कृति पढेँ। कविले मातृभाषा थुलुङ भाषामा एउटा कविता राखेर कृतिलाई थप ओजनिलो बनाएको छ । नेपाली साहित्यमा पढ्न बाकी यी नै कुराहरु हुन् । सयपत्री बहिनीलाई यो साहस र आटको निम्ति सलाम छ, यस्ता कृतिहरु निरन्तर लेख्नुहोस् , शुभकामना ।”
यस्तै कवि सयपत्री थुलुङले आफ्नो धारणा राख्दै आफूलाई कविता जीवन भोगाइलाई प्रस्तुत गर्ने सबैभन्दा माध्यमको रुपमा लिने बताइन् । उनले थपिन्, “परदेशमा जाने खुसी मात्र हुन्छन् भन्नू भ्रम हो । त्यहाँ झन् अनगिन्ती पीडाहरु छन् , त्यो चै जब एउटा परदेशी घर फिर्न आटेको परदेशीलाई थाहा हुन्छ। साथै खास देश प्रेम परदशीलाई हुन्छ। यी कुराहरुको सङ्गालो हो यो कृति । यो कृतिले आफुलाई थप जिम्मेवारी थपेको छ । त्यो जिम्मेवारीलाई सकेसम्म भरपुर निर्वाह गर्नेछु ।”
‘मृत्यूको उत्सव’ कविता समेत सुनाएका उनले विमर्शको बिट भने ‘सोल्टी कान्छा’ले मारिन् ।
‘सोल्टी कान्छा…!
यसपाली उभौँलीमा
तिमीले बजाउनु ढोल
म मिलाउनेछु झ्याम्टाको लय
एकसाथ नाच्नुछ खुसीले साकेला
जिउनुछ उत्सवमय दिनहरु
किनभने
पुर्खाहरुले दिएको यो नासो
हाम्रै खुसीको लागि हो ।’
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ मुनाराज शेर्माले भने, “हामी सधैं देशभक्तको नारालाई ओकल्दै परदेश जानुहुँदैन मात्र भन्छौं । खासमा आज समृद्ध देशहरु परदेश घुमेरै उन्नति गरेका छन् । अब विश्व घुम्ने हाम्रो पालो हो । त्यहाँबाट अनेक कला, सीप र सिर्जना यता ल्याएर देशलाई समुन्नत बनाउनुपर्छ । अब हामीले यो भाष्य पतिवर्तन गर्नुपर्छ । अहिले हामी भरखर १२० वटा मुलुक त पुगेका छौँ क्यार ? अरु अझै कति छ कति ? अर्को कुरा पहिचान लेखनका बारेमा हामी स्प्ष्ट हुनै सकेका छैनौं । पहिचानलाई प्राथमिकता दिएर लेख्ने लेखकहरुले विभिन्न आरोपहरु खेप्नुपरेको छ । तर यो देशका अन्य भाषा र साहित्यलाई पनि नेपाली भाषासरह समृद्ध बनाउन खोजिएको हो । लेख्न बाकी कुराहरु लेख्न खोजिएको त हो । यसमा हामी किन कन्फ्युज हुने र ?
सयपत्री थुलुङको कविता कृतिमा प्रशस्त आशा गर्ने ठाउँहरु रहेका छन् । यो कृतिका केही कविताहरुले त साँच्चै छोयो ।”
कार्यक्रममा कवि तथा साहित्यकार प्रल्हाद पहरेदार, चन्द्र गुरुङ र अमित थेबेले आफ्नो मन्तव्य राखेका थिए । कवि सविता फागो र आर्यन निरौलाले कवि सयपत्री थुलुङको कविता वाचन गरेका थिए भने बाल गायक राजेश परियारले देशभक्ति गीत प्रस्तुत गरेका थिए ।
चतरा साहित्यिक मन्चका सचिव वर्षा भण्डारीले सन्चालन गरेको कार्यक्रमलाई स्वागत मन्तव्य सुगम घिमिरेले राखेका थिए भने कार्यक्रमका सभाध्यक्ष मन्चका अध्यक्ष दीपा मग्राती रहेकी थिइन् ।