यात्रामा निस्कनु विभिन्न स्थानको बारेमा जानकारी लिनु,रमणीय स्थानहरुको दृष्यापान गर्नु आहा कति रमाइलो । नयाँ कुरा सिक्ने अवसर उत्तिक्कै प्राप्त हुन्छ । जिन्दगीले एकोहोरोपनावाट मुक्ति पाँउछ । २०५९साल भदौको महिनाको अन्तिम साता अफिसियल कामको लागि बाग्लुँग सदरमुकामदेखि गल्कोट नरेठाँटीसम्मको यात्रा तय गरियो । यो करिव नौ कोस पश्चिमको दुरीमा पर्ने बागलुंग जिल्लाको पुरानो सदरमुकाम एरिया हो ।
प्रकृतिले आफ्नो घुम्टो उघारिन । वेलगाम छु म । कसैको पर्वाह छैन । यात्राको थालनीमा युद्ध विजेता जस्तै आनन्दित हुन्छु । वजारको जिप पार्कबाट जिप चढेर कालीमाटी,विहुँकोट तर्फ लाग्छौ । टिकाजीको आत्मियता र सद्भावको वजन कुनैपनि तराजुमा जोख्न सम्भव थिएन । उनले मप्रति बजाएका आफ्नोपनका धुनहरुमा म कृतज्ञ थिंए । उनले त्यतातिरको परिवेश वारे जानकारी दिंदै गए । धुलाम्मे र आउडे खाउडे बाटो । तिव्रगतिमा कुदेको जीप सिट संख्या भन्दा वढी यात्रु । गजवको अनुभव हुँदैछ । विहुँकोट पुगेर अलिकति दाहिने मोडिन्छ वाटो । वस्तीको वीचवाट जान्छ । सानो गाँउले बजार रहेछ । विंहुकोट उर्वर लाग्छ । बस्ती पनि अलिक चाक्लै छन् । रातो माटो र कमेराले पोतेका परम्परागत घरहरु । साँच्चै विहुँको डाँडा सुन्दर छ ।यहाँ कंडेल थरका मानिसहरुको बाहुल्यता भएको टिकाजीले बताए । प्रायः वाटोमा देखिएका मानिसहरुको निधारमा लगाइएको लामो चन्दनको ठाडो टिकाले वैष्णवहरुको संख्या वेशी छ भन्ने अनुमान गर्न गाह्रो परेन मलाई । धुलो उडेर कुईरीमण्डल छ । वाटा आसपासका घरका झ्यालहरुमा उत्तिकै टाँसिएको छ धुलो । टिकाजीले विहुँकोटको मन्दिर देखाए । कति सुन्दर छ ।
घोडावाँधे पुगियो । बाग्लुग बजारबाट करिव ६ कोष पश्चिमको जीपको यात्रा सकियो । यस ठाँउको नाम पनि ऐतिहासिक कुरा रहेछ । उतिवेला राजा महेन्द्रले उहिले घोडा चढेर यहाँ आई थकाई मारेका थिए रे । सोही कारण यहाँको घोडावाँधे नामाकरण भएको रे । डाँडामा अलिक फराकिलो समथर स्थान रहेछ । जीपहरु यहिंसम्म आएर फर्किंदा रहेछन् । यहाँ जस्तापाताहरुले बारेर बनाइएका पसल,होटल,लज रहेछन् । यहाँवाट गल्कोट भेगका नरेठाँटी,हटिया,मल्म हरिचौर,दुदिलाभाँटी,ढोरपाटन पैदलै जान पर्ने रहेछ । यहाँवाट ति स्थानहरुसम्म मालसामान ढुवानी गर्न खच्चरको प्रयोग गरिंदो रहेछ ।
एउटा होटलमा खाना खान गयौं । वन्दाकोभीको तरकारी,सेल्टुंगको दाल र गोलभेंडाको चटनी । भोकाएका थियौं हामी,साँच्चै अपूर्व स्वाद र सन्तुष्टी पायौं खानामा ।
घाम नलाग्ने छाँट देखियो आज । निम्छरो जस्तो भएँ चिसोले । हात खुट्टा कठ्याँग्रिए । कस्तो निरसिलो बाई मौसम । मैले सायद जीवनमै कल्पना पनि गरेको थिइन यति टाढा आइपुग्छु भनेर । उसो त मान्छेको जीवन सोचेजस्तो कहाँ हुनु । साँच्चै अर्गानिक भौगोलिक धरातलमा पाइला टेकेको छु मैले । धर्तीको अनुपम देहमा पदचाप राख्न सबैलाई अवसर कहाँ मिल्छ र १ धौलागिरी हिमाल मुस्कान छरिरहेछ आफ्ना सफेद दाँतहरु देखाएर । म उसको मुस्कानमा आफ्ना एकजोडी आँखा विछ्याइरहेछु । एक टक नियाले मैले घोडावाँधेवाट । मलाई खुशी नै खुशी मिलेको छ र यो खुशीमा मेरो मन गद्गद भईरहेको थियो । भावनाजनित तरंगहरुमा तरंगित थिंए म ।
केहीबेरपछि हामी अलिक ओरालो,त्यसपछि तेर्साे वाटो लाग्यौं । डुंगडुंग्ती गन्हाउने बाटो खच्चरको पिसाव र गोवरले । साँच्चै अचम्मको कुरा एउटा खच्चरले पिसाव गरेकै ठाँउमा अरुले पनि गर्दा रहेछन् । बाटोमा पिसावको कुलो नै बगेको छ । बाटोमा घण्टी बजाउँदै घोडावाँधे तर्फ उक्लँदै गरेका खच्चरहरुसँग पनि जम्का भेट हुन्छ ।
दाँयावाँयाको बनजंगल हरियाली । चरीहरुको चिरविर संगित । साह्रै प्राकृतिक मनोरम छटाले भरिपूर्ण परिवेश शब्दमा यहाँ कसरी उधिन्न सक्नु । साँँच्चै गाउँले वातवरणका अन्तस्करण मेरो मन पसन्द । हामी घसाको ओरालो झर्दैछौं । बाक्लै मान्छेहरु घोडावाँधेतिर उक्लिरहेका भेटिन्छन् । टिकाजीले चिनेका मान्छेसँग भलाकुसारी गर्न भ्याए । उनी अघि अघि म पछि पछि । म दाहिने तिर आँखा डुलाँउदै थिए । कति सुन्दर बस्ती । क्यामेरा निकालेर फोटो खिंचे मैले । साँच्चै खोलाको किनाराबाट अलिक माथि मानौं स्वर्गवाट झरेको टुक्रो । एक टक नियाँले ।
ुए साथी,झरांंै न हो । कहाँ टोलाएर बसेको ?ु
खासमा म टोलाएको थिइन । ुटीका जी,मलाई त्यो खोलापारीको गाँउको सुन्दरताले मोहनी लगायो ।ु
ुतिमीलाई त जे देखे पनि मोहनी लाग्दो रहेछ । अचम्म ।ु
ुटीकाजी प्रकृतिको सुन्दरता कसलाई पो मन पर्दैन र ? जाँउ अब ।ु
हामी घसाको ओरालो झरेर सितलपाटी पुग्दैछौ । सितलपाटी नि.मा.वि. देखिन्छ दाहिनेतिर । त्यहिं नजिक कुनामा म टुसुक्क शरीर विसाँउछु । कुनामा चिया होटल रहेछ । टीकाजी पनि सँगैको वेन्चमा बस्छन् । होटलवाला यसरी हेर्छन् कि म उनीसँग आँखा जुधाउनै सक्दिन ।
ुमिठो चिया पकाउनुस त साहुजी । ुटीकाले मुख फोर्छन ।
ुकाँटी आउनु भा हो के रे सरहरु ?ु
कालो वर्णका ती अर्धवैश्य होटल साहुले हाम्रो बारेमा चासो राख्छन् । मभन्दा अघि सरेर टीकाजीले वेलि विस्तार लगाँउछन् । चिया खाँदै गर्दा नजिकको स्कुल नियाल्छन् मेरा आँखा । उदास र कोपरिएका भित्ता देख्दा विधुवाको सिंउदो जस्तै उजाड लाग्दो देखिन्छ विद्यालय भवन । वडो जिर्ण छ । यस भेगका भोलीको भविश्य बालबालिकाहरुले ज्ञान आर्जन गर्ने थलो साँच्चै मन दुख्ने खालको छ । झ्यालहरु पmाटेको लुगा जस्तो ह्वाँगह्वाँगति परेका छन् भने ढोकाहरु पmुटेका छन् । आम सार्वजनिक विद्यालयहरुको अवस्थाको प्रतिनिधित्व गर्छ यस विद्यालयको दृश्यले । उफ् हाम्रो देशको वेथिती र अव्यवस्था । पिडाले मनमा औडाहा भयो । शौचालय उस्तै,चौरमा फोहर उस्तै । मन धमिलियो ग्रहण लागे झैं । टीकाले भोली विहान यहिं समुह गठन हुने जानकारी गराए मलाई । हामी सितलपाटीवाट भण्डारी गाँउको ओरालो झर्दैछौं ।
यात्राका फुलहरुको एउटा माला गास्ने प्रयत्न मेरो । शान्त परिदृष्य देखिन्छ । बाटो सुनसान छ । सिकुवामा वसेर तमाखु तान्दै गरेका बाजे देखिन्छन् वाटो नजिकैको घरमा । पर धारो छ । पानी पिउन गएँ म । चिसो पानी के पिउन सक्नु । धारामा अंजुली थापेर दुई अंजुली पानी पिंए । यात्राको जीवन्त भोगाईको मज्जा कसरी पोख्नु । एक हुल खच्चड पिठ्युँमा भारी बोकेर झर्दै छन् । तिनका पछी स( साना लौरो हातमा लिएका दुई जना सज्जनहरु खटेका छन् । अलिक पर पुगेपछि भेटिए वजार जाँदै गरेका स साना भुन्टाभुन्टी बोकेका आमाहरु भेटिए । पिठ्युँमा नानाबावु,हातमा झोला कहाँदेखि आएका होलान् विचरा ति आमाहरु । उनीहरुको अनुहार पढ्दा भेटिएका थकाईहरु देख्दा मन अविराम पोलिरह्यो । विषम पहाडी भौगोलिक धरातल,यातायातको असुविधाको कारण हामीले भोग्नु परेको शाश्वत सत्य पीडा हो यो । काशः आज यहाँ यातायातको पहुँच भएको भए उनीहरुले यस्तो अप्ठ्यारो यात्रा तय गर्नुपर्ने थिएन ।
हामी ओरालो सकेर नरेठाँटी खोलाको किनारै किनार तेर्सिन्छौं । करिव ८ मिनेट पैदल हिंडेपछि बन्दै गरेको पुल आँउछ । जाली र ढुँगाको ग्याप्लिंग गरिएको छ नरेठाँटी बजारलाई खोलावाट जोगाउन । वाक्लो बजार रहेछ नरेठाँटी । दाँया वाँया घरहरु विचमा ढुंगा छापेको बाटो । अलिक भित्तापट्टि रहेछ महेन्द्र मावि । यो विद्यालयको भौतिक संरचना राम्रै लाग्यो मलाई । त्यहाँको बजारमा मुस्लिमहरुको बसोबास पनि रहेछ । चुरा,धागा,पोते पसलहरु धेरैवटा देखें । मिठाइ पसल पनि रहेछ ।
ुहल्लो हिरा सर ।ुएउटा मध्यम कदका गोरा पुष्ट गाला भएको युवालाई टिकाजीले ध्यान आकृष्ट गराँउछन् । उनी हामीतिर फर्कन्छन् ।
ुओहो टिका सर । नमस्ते है नमस्ते ।ु हात जोड्छन् हिरा सर ।
उनको मुहारले उनी मगर भएको खुट्याउन गाह्रो भएन है मलाई । मलाई टिकाजीले परिचय गराँउछन् ।दोहोरो परिचय पछि हामी उनको फर्माइसमा चिया पिँउछौं नजिकैको चिया पसलमा ।
हिरा सर परिवार सहित त्यहिं बजारमा बस्दा रहेछन् । उनको सानो फेन्सी पसल पनि रहेछ । महेन्द्र माविमा उनी शिक्षक हुन ।हसिंलो र फरासिलो छन् उनी । मृदुभाषी उस्तै ।हामी केहिबेर चिया गफमा भूलेर हाम्रो यात्राको उद्देश्य वारे उनलाई जानकारी गराई सहयोगको अपेक्षा पनि राख्छौं र फेरी भेट्ने भन्दै अगाडी बढ्छौं । वजारको पल्लोपटि छेउमा अलिक ठूलो किराना पसल छ । त्यहाँ एक जना मोटी मोटी साहुनी दिदि देखिन्छिन् । टिकाजीले हात जोड्छन् भाउजुको नाता लगाउँदै ।
ुसर कहिले आउनुभयो बाग्लुगबाट ?केही कार्यक्रम पक्कै होला ? दाई एक छिनमा आउनुहुन्छ । चिया खाँउ ल ?ुएकै पटक वोल्छिन भाउजु ।
हामी पेटीमा भएको खाली बेन्चमा बस्छौं । चिया पाक्छ चियाको सुरुपसँगै गफगाफ चल्छ । यस्तैमा एकजना होचो कदका दाई आँउछन् कालो बर्णका । औपचारिकतासँगै थाहा भो उनी नरेठाँटी रेडक्रस उपशाखाका सभापति रहेछन् । केयरसिंह दाईको नामले चिनिने उनी सफल ब्यापारी भएपनि समाजसेवामा उत्तिक्कै मुठ्टी खोेलेर सहयोग गर्दारहेछन् । स्कुलमा दुई कोठेपक्की भवन वनाउँदै रहेछन् । त्यहिं गएर आएका रे । हामी भोली विहानको कार्यक्रम बारे फेहरिस्त बताँउछौं । खवर गर्न पनि अनुरोध गर्छाैं । खाजा खान्छौं त्यहिं हामी । बेलुका यहि बस्नुपर्छ नि सरहरु भनि पाहुना लाग्न अनुरोध गर्ने ति केयरसिंह दाई र भाउजुलाई स्विकारोक्ति दिंदै स्कुलतिर लाग्छौं हामी ।
महेन्द्र माविमा विद्यार्थी संख्या उल्लेख्य छ । पाँण्डे प्रधानाध्यापक रहेछन् । शिव पाण्डे सर जो रेडक्रस बाग्लुंग जिल्ला शाखाका उपसभापति पनि हुनुहुन्छ । यसैगरि अर्का दीनेश पन्त सरसँग पनि चिनापर्ची र भलाकुसारी गरियो । भोली विहानकोलागि समुदायमा आधारित दैवी प्रकोप पूर्वतयारी कार्यक्रम(सिविडिपी) अन्तर्गत समुह गठन गर्न सहभागिताकोलागि खवर गरिदिन अनुरोध गरेर हामी विद्यालयवाट ओझेल परेउँ । गोपाल शर्मा दाई वजारको छेउमा पसल छ । उनी हुलाक कार्यालयमा जागिरे पनि रहेछन् । उनी रेडक्रस उपशाखाका कोषाध्यक्ष हुन,उनलाई भेटेर सहभागी जुटाईदिन अनुरोध गरेउँ ।
समय रह्यो टिकाजीले मलाई पर दुधिलाभाँटी तिर जाने बाटोसम्म लगे । बर्षातको मौसम । खोलाको बहाव बढेकै देखिन्छ । फेरी दुधिलाभाटीतिरबाट पनि अर्काे खोला मिसिने रहेछ ।आहा कति समथर फाँटमा हरियाली धानवाली । गल्कोट एरिया हो यो । यो जिल्लाको मध्यभागमा पनि पर्छ रे । नरेठाँटी,हटिया,हरीचौर,मल्म,काँडेवास आदि गाविस पर्दारहेछन् । मनोरम प्राकृतिक छटा,उर्वरयोग्य जमिन,ऐतिहासिक गल्कोट दरवार,नजिकैको घुम्टे पर्वत जुन वाग्लुंगकै सवैभन्दा अग्लो पहाड हो यो देखेर किन मन मोहित नहुनु । निलुवा,कोतमैदान,गाईघाट झरना पनि यहि क्षेत्रमा पर्छ रे केयरसिंह दाइले भनेको । सम्भव भयो र समयले साथ दियो भने अवलोकनमा जानेछु मनमनै भनें मैले । यसो हेर्दा लाग्यो मलाई टाठाहरुले सदरमुकाम अपायक बनाएका रहेछन् । कहाँ यो जिल्लाभरीको बिच भाग । कहाँ अहिलेको सदरमुकाम ।
गल्कोट क्षेत्रका थुप्रै मानिस भारत मात्र नभएर बैदेशिक रोजगारको क्रममा जापान,जर्मन,अष्टेलिया आदि देशमा रहेछन् । यहाँ व्रम्हाणक्षेत्री,जनजाति मगर नेवार,दलित लगायतको बसोबास रहेछ । केयरसिंह दाजुका अनुसार यो पहिले राजा आनन्द बम मल्लको समय विं.सं. १६३० ताका एक स्वतंत्र राज्य थियो रे । गल्कोटे मल्ल राजको दरवार यसको प्रमाण हो । पहिले यस क्षेत्रको नाम गोलकोट थियो रे यसवाट पछि अप्रभंस हुँदै गलकोट भएको हो रे । यस्तै यस्तै थुप्रै जानकारी केयरसिंह दाईले हामीलाई गराए ।
ति दाजु भाउजुको आत्मियता र आतिथ्य सत्कार सम्हालिनसक्नु भयो हाम्रा लागि । मेरो मनको मानचित्रमा नमेटिने गरि कोरियो आत्मिय भाव र त्यसको अर्थ । मायाको थालमा स्नेही हातहरुले पस्किएको मिष्ठान्न भोजनको तृप्तिसंगै थकाई मेटाएर आनन्दको ओछ्यानमा मिठा सपना देख्दै कति बेला निदाएछु म पत्तै पाइन ।
(खुलामंच डटकममा २०७८।२।१५ शनिवार प्रकाशित)