विराटनगर। वैशाख ४ ।
नेपालमा शिक्षाको विकासका क्षेत्रमा लामो समयसम्म विद्यालय संचालन र व्यवस्थापन गर्दै हजारौं कर्मठ नागरिक उत्पादन गर्ने विराटनगरको अरनिको बोर्डिङ्ग स्कूलका राजबहादुर कुँवर र कमला कुवँरको सम्मानमा स्थापना गरिएको “कमला राजबहादुर कुँवर सामाजिक सेवा गुठी” ले विभिन्न विधामा २०७९ सालका पुरस्कारहरू फरक विषयमा विशिष्ट योगदान पुर्याउने निम्न स्रस्टाहरु तथा व्यक्तिहरूलाई प्रदान गर्ने निर्णय गरेको छ। जसअनुसार निम्न पाँच क्षेत्रहरू रहेका छन्:-
१) कमला राजबहादुर कुँवर साहित्य पुरस्कार -रु.२५,०००/- साहित्यकार श्री इन्द्र कुमार श्रेष्ठ ‘ सरित ‘
२) कमला राजबहादुर कुँवर शिक्षासेवा पुरस्कार -रु.१५,०००/- शिक्षासेवी श्री सर्वाणी भट्टाचार्य
३) कमला राजबहादुर कुँवर खेलकुद पुरस्कार -रु.११,०००/- अन्तराष्ट्रिय प्रशिक्षक श्री बिकेन थापा
४) कमला राजबहादुर कुँवर शिक्षा पुरस्कार -रु.११,०००/- डा श्री अनुपम कोइराला
५) कमला राजबहादुर कुँवर साहित्य पुरस्कार -रु.११,०००/- साहित्यकार श्री हरिप्रसाद बराल
गुठीका अध्यक्ष दिनेशराज सुवेदी ( दिङ्लाली कान्छो) को अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको निर्णय अनुसार राष्ट्रिय / अन्तराष्ट्रिय स्तरमा ख्याति कमाएका तथा अरनिको विद्यालयमा लामो समयसम्म सेवा प्रदान गर्ने र सोही विद्यालयमा अध्ययन गरेर उच्च शिक्षा हासिल गर्ने क्रममा स्वर्ण पदक प्राप्त गरेका छात्र/छात्रालाई पुरस्कृत तथा सम्मानित गर्ने परम्परा अनुसार यो वर्ष पनि सो कार्यलाई निरन्तरता दिइने गुठीका सचिव खगेन्द्र लामिछानेले जानकारी दिएका छन्। गुठीको छैठौ संस्करणको पुरस्कार वितरण कार्यक्रम यही वैशाख १५ गते शुक्रबार एक समारोहका बीच सम्पन्न गरिने जानकारी भएको छ।