लक्ष्मण अर्याल
छोरी आज समयमा घर फर्किन | आमा चिन्तित भइन् | साविकको समयभन्दा आधा घण्टा ढिलो फर्किई छोरी | छोरी घर फर्किनासाथ आमाले कचकच सुरु गरिन् | उनी भन्दै थिइन् – ”छोरीको जात घर आउँदा यस्तो ढिलो गर्नु हुँदैन नानी | समय राम्रो छैन कामबाट बरु दुई पाइला छिटो हिंड्नु पर्छ |”
सधैंकी साधु बिरालो छोरी आज बाघ बनी | उसलाई ‘छोरीको जात’ भन्ने भनाइ मन परेन | आमाको आशयलाई उसले इन्कार गरिन तर ‘छोराको जात’ र ‘छोरीको जात’ भन्ने विभेदकारी शब्द सुनेपछि उसले सहन सकिन र उसभित्रको साधु बिरालो बाघ बनेर प्रकट भयो |
जब छोरी बाघ भई तब आमा आफ्नो अतीतमा हराइन् | जतिबेला आफ्नै बाबुले उनलाई विवाहको अर्थ नबुझ्दै साटो विवाह गरेर बाल्यकालमै पराइघर पठाएका थिए |
आज आमालाई लाग्यो – ”म भित्रको छोरीको विद्रोह त्यतिबेला प्रकट हुन सकेको भए….|”