आइतबार राति कतारमा सम्पन्न फिफा विश्वकप फुटबलको फाइनल खेलमा बलिउड स्टारहरु पनि चम्किए । कतारको लुसैल रंगशालामा दीपिका पादुकोणदेखि नोरा फतेहीसम्म आकर्षणको केन्द्र बने ।
विश्व फेसन ब्राण्ड लुइस भिटनकी व्यावसायिक दूत समेत रहेकी दीपिकाले विश्वकपको चम्किलो ट्रफी अनावरण गरिन् । अर्जेन्टिना र फ्रान्सबीचको खेल हेर्न दीपिकाका पति तथा अभिनेता रणवीर सिंह पनि दोहा पुगेका थिए ।
दीपिका अभिनित फिल्म ‘पठान’ को-स्टार शाहरुख खानले पनि विश्वकपको प्रत्यक्ष प्रसारणको क्रममा टीभी स्टुडियोबाटै फिल्मको प्रमोसन गरे । स्पोर्टस्-१८ च्यानलमा उनी खेलाडी वाइन रुनीसँगै प्रस्तुत थिए ।
शाहरुखले उक्त टीभी प्रसारणमा पठानमा आफ्नो भूमिका एक चर्चित फुटबल खेलाडीको रुपमा रहेको बताए । फिफा समापनमा बलिउड अभिनेत्री नोरा फतेहीले ‘लाइट द स्काइ’लाई हिन्दीमा गाउँदै मनोरञ्जन प्रदान गरिन् ।
अन्य बलिउड कलाकारले पनि विश्वकप फाइनल खेललाई लिएर उत्साह व्यक्त गरे ।