विराटनगर / मोरङको बेलबारी साहित्य विकास समितिले नेपाली भाषा, साहित्य र चित्रकलाको क्षेत्रमा योगदान पुयाएबापत प्राज्ञ गंगा सुवेदीलाई विशेष सम्मान समर्पण गरेको छ ।
बेलबारीमा शनिबार आयोजित कार्यक्रममा चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्षसमेत रहनु भएकी प्राज्ञ सुवेदीलाई नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. गजमान गुरुङले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । विगत चार दशकदेखि नेपाली भाषा साहित्यका कविता, कथा, समीक्षालगायतका विधामा कलम चलाउँदै आएकी सुवेदीका विभिन्न कृति प्रकाशित छन् । त्यस्तै सोही अवसरमा बेलबारी साहित्य पुरस्कारबाट इरान राई र कला पुरस्कारबाट मेखबहादुर कार्कीलाई सम्मानित गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति गुरुङले नेपाल बहुजाति, बहुभाषी र बहुसांस्कृतिक देश रहेकाले नेपालको सामाजिक रूपान्तरणमा सबैको उत्तिकै भूमिका रहेको बताए । आफू जनजातिको छोरो पनि जातीय तथा धार्मिक अतिवादमा भने विश्वास नगर्ने उनको भनाइ थियो । त्यस्तै सम्मानितहरूका तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राज्ञ सुवेदीले अरूले आफूलाई के दियो भन्दा पनि आफूले के गर्न सक्यौँ भनेर सोच्नुपर्ने बताइन् । सम्मानले सर्जकलाई कला साहित्यका क्षेत्रमा काम गर्न थप हौसला प्राप्त हुने उनको भनाइ थियो । समारोहमा विभिन्न साहित्यकारहरूले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।
प्राज्ञ सुवेदीलाई बेलबारीमा विशेष सम्मान
