काठमाडौँ, २३ असोज, २०७८ । मुक्तककार पार्वती भट्टको पहिलो मुक्तकसंग्रह ‘अनिदा सपनाहरु’ विमोचन गरिएको छ । शनिबार काठमाडौँको सुकेधारामा आयोजित एक कार्यक्रमकाबिच मुक्तकसंग्रह ‘अनिदा सपनाहरु’ को विमोचन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार ज्ञानुवाकर पौडेल, अतिथिहरु मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, साहित्यकार विवश पोखरेल, समालोचक ज्ञानु अधिकारी र राजन सिलवाल, मुक्तकसागरकी सम्पादक तथा विमोचन कार्यक्रम संयोजक निशा केसी लगायतले संयुक्त रुपमा सो कृतिको विमोचन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि साहित्यकार ज्ञानुवाकर पौडेलले भट्टका मुक्तक अब्बल र सशक्त भएको बताए । नयाँ प्रतिभा भए पनि मुक्तककार महिलामा गन्दा भट्ट टपटेनमा आउने उनको दाबी छ । भट्टको भविष्य उज्वल रहेको भन्दै उनले निरन्तरता दिन आग्रह गरे ।
अर्को प्रसंगमा बोल्दै साहित्यकार पौडेलले मुक्तक, गजल लगायतका छोटा विधालाई साहित्यका विधा नै नमान्ने मान्छे पनि भएको बताए । छोटो विधाका साहित्य लेख्नेहरुलाई उनीहरुले मान्छे नगन्ने गरेको सुनाए । उनीहरुकै विरोध र टिप्पणीले पनि साहित्य लेखनमा मज्जा आइरहेको उनको भनाई थियो ।
केही समय अघि नै प्रकाशित भए पनि आजमात्रै यो मुक्तकसंग्रहको विमोचन गरिएको हो । पहिलो कृति भएकोले समालोचकीय दृष्टिकोणबाट आफू उत्साहित रहेको भन्दै मुक्तककार भट्टले चाँडै नै अर्को मुक्तकसंग्रह पनि बजारमा आउने बताइन् ।
मुक्तकसंग्रहको बारेमा राजन सिलवाल र ज्ञानु अधिकारीले विस्तृत टिप्पणी गरेका थिए । पुस्तकमा २ सय २० वटा मुक्तक रहेको र मुक्तकहरु दमदार रहेको उनीहरुको भनाई थियो ।
कार्यक्रममा, रामकाजी कोने, विवश पोखरेल, भट्टका श्रीमान डा. मोहनराज भट्ट लगायतले पनि छोटो मन्तव्य राखेका थिए । कार्यक्रम मुक्तकसागरकी सम्पादक निशा केसीको सभापतित्वमा भएको थियो ।