जाजरकोट, ८ भदौ

लागुऔषध कारोवारमा संलग्न थप दुई जना पक्राउ परेका छन् । जिल्लाको भेरी नगरपालिका– ४ निवासी २६ बर्षका शान्तबहादुर विक र बाँके नेपालगञ्ज उपमहानगरपालिका–१० स्थायी ठेगाना भई हाल जाजरकोट खलंगामा बस्ने २० बर्षका रमन सिंह पक्राउ परेका हुन् । यसअघि चार जना पक्राउ परेका थिए । उनीहरुकै बयानका आधारमा थप दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत साउन २५ गते लुकाइछिपाई अवैध लागुऔषध चरेस लिन थालेका एक भारतीयसहित दुई जनालाई जाजरकोट प्रहरीले पक्राउ गरेको थियो । भारतको प्रभुद्ध नगर नेशनल मार्केट निवासी ३१ बर्षीय मूताविन अहमद र बाँके नेपालगञ्ज-११ का २० बर्षीय उबेद खानलाई जिल्ला सदरमुकामस्थित शान्तिचौतारा बसपार्कबाट एक केजी चरेससहित पक्राउ गरिएको थियो ।

उनीहरुकै बयानका आधारमा चरेस ओसारपसारमा संलग्न भएको आरोपमा भेरी नगरपालिका –२ डिगा निवासी ५० बर्षीय चक्रबहादुर थापा र भेरी नगरपालिका ४ निवासी विजय भारतीलाई प्रहरीले २ भदौमा पक्राउ गरेको थियो ।

उनीहरुको बयानका आधारमा थप कारोवारी समातिएको जिल्ला प्रहरी प्रमुख डिएसपी मधुकुमार थापाले बताए ।

तपाईको प्रतिक्रिया