काठमाडौं। गायक सुरेन गौतमको म्यूजिक भिडियो सँधै सँधै बजारमा आएको छ। सुरेन गौतमको आफ्नो अफिसियल यूट्युब च्यानलमाफर्त सो म्यूजिक भिडियो सार्वजनिक गरएको हो।
नेपालको ताजमहल भनेर चिनिने पाल्पाको रानीमहललाई साक्षी राखी गायक सुरेन गौतमले “सधै सधै” बोलको गीत मार्फत इतिहासमा फर्किएर खड्ग शमशेर र तेजकुमारीबीचको अमर प्रेम कथालाई म्यूजिक भिडियोमा दमदार रुपमा प्रस्तुत गरेका छन्। सँधै सँधै भन्ने शब्दले नै एउटा अमर प्रेमको कथा बोकेको र त्यो कथा अनुसार एकान्तमा गई चित्र कोरिएको र गाइएको दृश्य आफैमा उत्कृष्ट देखिएको छ। मिठो संगीत तथा कर्णप्रिय स्वरले सजिएको यो गीतमा पाल्पाको उत्कृष्ट दृश्यावलोकन गर्न पाइन्छ।
काली गण्डकीको तिरमा बनेको नेपालको “ताजमहल” उपनामले प्रसिद्ध यो रानीमहल रहेको ऐतिहासिक क्षेत्रमा बनाइएको यो भिडियोले धेरैको मन जित्नेमा गायक आशाबादी छन्।
प्याट्रिक सिट्लिङको शब्द तथा संगीत रहेको गीतमा बिशाल पौडेलको संगीत संयोजन रहेको छ। ऐतिहासिक एबम पर्यटकीय स्थल पाल्पाको रानीमहलमा छायाँकन गरिएको गीतको कथा परिकल्पना संजय गौतमले लेखेका हुन् भने भिडियोलाई गायक सुरेनले नै निर्देशन तथा सम्पादन गरेका हुन्। यस गीतमा सुरज के सी क्यामेरा एबम ड्रोन र बिष्णुहरी तिमिल्सिना कलर ग्रेडीङ रहेको छ।
भिडियोलाई अर्का गायक तुलसी सिवाकोटीले निर्माण गरेका हुन्। गायक गौतमले यसअघि प्रनभ शुभ जीवन गरेर २ वटा सांगीतिक एल्बम बजारमा ल्याएका आइसकेका छन्। यो सँधै सँधै उनको तेश्रो एल्बम सुरसंगीत मा समाबेश रहेको गीत हो।
गायक गौतमले पहिलो गीत २०६० सालमा ‘तुसारो’ बोलको गीत रेकर्ड गराएका थिए तर आफ्नो उच्च शिक्षाका लागि विदेश अनि स्वदेश फर्केर पनि आफ्नो पेशामा आबद्ध हुनुपरेकोले संगीतमा समय दिन पाएका थिएनन्। तर २०७१ सालबाट भने उनी आफ्नो जागिर सँगसँगै संगीतमा पनि निरन्तर लागि रहेका छन्। उनले ल्याएका गीतहरु मध्ये ‘पिरती लरी लै’, ‘रेशमी पर्दाले छेकेन’, ‘छेक्यो डाँडा कुहिरोले’ भन्ने गीतहरुले श्रोता तथा दर्शकको मन जितेका छन्।