अष्ट्रेलियाको केन्द्रिय सरकारले सन् २०२२ पछि मात्र आफ्नो अन्तर्राष्ट्रिय सीमा खोल्ने स्पष्ट पारेको छ। सिमा नखुल्ने अनिश्चिततासँगै यहाँ आउन लागेका अन्तर्राष्ट्रिय विद्यार्थी र पर्यटकमा अन्यौल छाएको छ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अवस्था सामान्य नरहेसम्म बोर्डर नखुल्ने स्पष्ट पारेका हुन्। ‘यो अहिले खुल्ने र भोलि बन्द गर्ने कुरा होइन, नागरिकको सुरक्षाको सवाल हो। यसैले पनि सुरक्षीत अवस्थामा मात्र हामी बोर्डर खोल्ने योजनामा छौं’, सोमबार ब्रिजबेनमा कुराकानीका क्रममा प्रधानमन्त्री मोरिसनले भने, ‘यहाका सम्पूर्ण नागरिकले भ्याक्सीन लगाइसकेपछि मात्र यो सुरक्षीत हुने र त्यसपछि विस्तारै सुरक्षीत तबरले बोर्डर खोल्ने सरकारको योजना छ।’

सरकारको पछिल्लो निर्णयसँगै न्युसाउथवेल्स सरकारले शैक्षिक उद्योगलाई अगाडि बढाउन ६ सय विद्यार्थी अटाउने क्वारेन्टाइन व्यवस्थापन गर्ने र विस्तारै अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउने योजना हालका लागि स्थगन गरेको छ।

यसअघि एनएसडब्लु राज्यले यही अगष्टदेखि यहाँका विश्वविद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राखेर ल्याउने योजना सार्वजनिक गरेको थियो ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफूहरूले स्वास्थ्यसम्बन्धी सुझावअनुसार सन् २०२२ को मध्यसम्म पूर्ण रूपमा सीमा खोल्न नसकिने बताएका छन्। पछिल्लो समय अष्ट्रेलियामाथि अन्तर्राष्ट्रिय सीमा खोल्न दबाव बढेको थियो।

सन् २०२० को मार्चमा अष्ट्रेलियाले आफ्नो सीमा अन्य मुलुकका र अष्ट्रेलियामा स्थायी बसोबासको अनुमति नपाएका नागरिक र विद्यार्थीको लागि बन्द गरेको थियो। त्यसयता बिदेशमा रहेका अष्ट्रेलियाली नागरिक र पिआर होल्डर मात्र फर्किन पाएका छन्।

अष्ट्रेलियाका अर्थमन्त्री जोस फ्राइडेनबर्गले स्थानीय सञ्चारमाध्यमसँगको कुराकानीमा अन्तर्राष्ट्रिय सीमा बन्द राख्न दिइएको स्वास्थ्य सुझाव अनुरुपनै अष्ट्रेलिया अहिले कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट बचेको बताएका छन्।

अस्ट्रेलियाले हाल न्युजिल्यान्डसँगको सीमा मात्र खोलेको छ। दुबै देशका नागरिक एक अर्को देशमा बिना क्वारेन्टाइन भ्रमण गर्न पाएका छन्।

तपाईको प्रतिक्रिया