पछिल्लो केही वर्षयता नेपाली फिल्म क्षेत्रमा मुनाफा कमाएका फिल्मको सिक्वेल निर्माणमा बाढी आएको छ । नयाँ नाममा निर्माण भएका फिल्मभन्दा सिक्वेलप्रति दर्शकको चासो रहने र लगानी उठाउन सहज हुने सोचाइका कारण निर्माताहरु यसतर्फ आकर्षित भएको पाइन्छ । नेपाली फिल्मका बाघ निर्माताको रुपमा चिनिएका छविराज ओझा समेत सिक्वेल मोहबाट टाढा छैनन् ।

दशक अगाडिको सुपरहिट फिल्म ‘किस्मत’ को ‘नेम सिक्वेल’ निर्माण गरिसकेका उनी फेरि अर्को सुपरहिट फिल्म ‘कसले चोर्‍यो मेरो मन’ को दोस्रो श्रृंखला निर्माणको तयारीमा जुटेका छन् । फिल्म निर्देशनको जिम्मेवारी सविर श्रेष्ठको काँधमा छ । यो फिल्मको पहिलो पार्टलाई पनि उनैले निर्देशन गरेका थिए । फिल्मको सिक्वेल निर्माण हुने पक्का भए पनि स्क्रिप्ट फाइनल भएको छैन ।

‘कसले चोर्‍यो मेरो मन २’ को स्क्रिप्ट छेतन गुरुङले लेखेका थिए । उनको निधन भएपछि अपुरो स्क्रिप्ट कसले पूरा गर्ने र त्यसको राइट्स कोसँग लिने भन्नेमा निर्माण टिम अन्योल छ । सविर श्रेष्ठ स्क्रिप्ट फाइनल नभएकाले फिल्ममा पुराना कलाकार दोहोर्‍याउने वा नयाँ लिने भन्नेमा निर्णय नभएको बताउँछन् । ‘कसले चोर्‍यो मेरो मन’ मा रेखा थापा र आर्यन सिग्देलको अभिनय थियो ।

यो फिल्मको दोस्रो पार्ट निर्माण हुने खबर बाहिरिएसँगै फिल्ममा रेखा र आर्यन दोहोरिन्छन् वा दोहोरिँदैनन् भन्ने चासो धेरैमा छ । फिल्ममा उनीहरु दोहोरिने सम्भावना कति छ ? भन्ने प्रश्नमा सविर भन्छन्, ‘स्क्रिप्ट फाइनल नभएसम्म यो भन्न गाह्रो छ । कथाले उहाँहरुलाई माग्छ कि माग्दैन त्यो महत्त्वपूर्ण कुरा हो । आर्यन र रेखा दोहोरिने र नदोहोरिने सम्भावना ५०/५० प्रतिशत छ ।’

लकडाउनभन्दा अगाडि निर्देशक श्रेष्ठ अभिनेत्री रेखा थापाको नयाँ फिल्मको तयारीमा थिए । फिल्मको स्क्रिप्टदेखि कलाकारसम्म फाइनल भइसकेका छन् । तर, कोरोनाका कारण यो फिल्मको छायांकन सुरु हुन सकेको छैन । फिल्ममा रेखाले अभिनेता सौगात मल्लसँग काम गर्दैछिन् । कोरोनाका कारण सिर्जित स्थिति सामान्य भएपछि छायांकनमा निस्कने तयारीमा निर्माण टिम छ ।

तपाईको प्रतिक्रिया