काठमाडौं। पछिल्ला दिन र्‍यापर भिटेन उर्फ समिर घिसिङ चर्चामा छन्। उनी चर्चामा आउनुको कारण दुई वटा छन्।

पहिलो, उनको नयाँ र्‍याप ‘पारा’को म्यूजिक भिडिओ सार्वजनिक भएलगत्तै युट्युब ट्रेन्डिङको नम्बर एकमा रहन सफल भयो।

दोस्रो, ट्रेन्डिङमा परेको सोही र्‍यापका कारण प्रहरीले उनीमाथि कारबाही प्रक्रिया अघि बढायो।

भिटेनलाई कारबाही अघि बढाउन प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोलाई पत्रपठायो। त्यसपछि साइबर ब्यूरो २४ वर्षीय भिटेनको खोजीमा छ।

‘पारा’ र्‍यापमा भिटेनले राखेका केही शब्द अश्लिल भएको जनाउँदै प्रहरीले उनलाई कारबाही प्रक्रिया अघि बढाएको हो। भिटेनलाई गत वर्ष पनि उनको र्‍यापकै कारण प्रहरीले पक्राउ गरेको थियो। पक्राउको धेरै आलोचना भएपछि सात दिन थुनामा राख्ने तयारी गरेको प्रहरीले दुई दिनमै उनलाई छोड्न बाध्य भएको थियो।

एक वर्षपछि प्रहरी फेरि भिटेनको खोजीमा छ। कात्तिक ८ गते उनले ‘पारा’को म्यूजिक भिडिओ आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेका थिए। सोही र्‍यापका कारण प्रहरीले खोजी गरेपछि उनले कात्तिक १३ गते उक्त भिडिओ आफ्नो युट्युब च्यानलबाट हटाएका छन्। तर, धेरैले उक्त र्‍याप डाउनलोड गरी युट्युबमा राखेका छन्, जुन अहिले पनि हेर्न/सुन्न सकिन्छ।

कात्तिक १५ गते एक विज्ञप्ति जारी गर्दै भिटेनले उक्त र्‍यापले कुनै निकायप्रति ठेस पुग्न गएकोप्रति माफी माग्दै ‘संशोधित भर्सन’ ल्याउने घोषणा गरे।

भिटेन र प्रहरीको लुकामारीसँगै यतिबेला दर्शक/श्रोता पनि दुई कित्तामा विभाजित भएका छन्। एकथरी र्‍याप र हिप-हप संस्कृति बुझ्नुपर्ने बताउँदै भिटेनले र्‍यापमा समेटेका शब्द सामान्य हुन् भन्दै छन्। यस्तो तर्क गर्नेहरू यस्ता गीत रेडियो र टेलिभिजनमा प्रसारण नहुने र इच्छा हुनेले युट्युबमा मात्र हेर्न सक्ने हुँदा कसैलाई हानी नगर्ने बताउँछन्। भिडिओ नै ‘१८ वर्षभन्दा माथिकालाई’ भनेर राखिएको हुँदा यसलाई सोहीअनुसार बुझ्नुपर्ने उनीहरूको तर्क छ।

भिटेनको र्‍यापले विकृति फैलायो, संस्कृति बिगार्‍यो भन्ने अर्कोथरी समूह छ। यस्तो तर्क गर्नेहरूको प्रश्न छ- समाजमा अपाच्य हुने, घर परिवारसँग बसेर सुन्न नसकिने शब्द राखेको पनि गीत/र्‍याप हुन्छ?

अहिले सामाजिक सञ्जालमा यस्तै दुई थरी तर्क बितर्क चलिरहेका छन्। यो बहस तत्कालै एउटा निष्कर्षमा पुग्ने भने देखिँदैन।

०००

पञ्चायत होस् वा राजतन्त्र, गीत गाउँदा निकै पापड बेल्नुपर्थ्याे। राजतन्त्र वा पञ्चायतको विरूद्धमा गीत गाइयो भने प्रतिबन्ध लाग्थ्यो वा जेल जानुपर्थ्याे।

जेवी टुहुरे होस् वा जीवन शर्माहरू गीत गाएकै कारण त्यो बेला थुप्रै पटक राज्यको दमनमा परे। उनीहरूले आफ्नो सिर्जनामार्फत् नागरिकको आवाज बोल्थे, तर राज्यलाई त्यो अपाच्य हुन्थ्यो।

जनताको गीत गाएकै कारण राज्यले एक पटक जीवन शर्माको टाउकोको मूल्य नै तोकेको थियो। उनले जुनसुकै गीत गाउँदा पनि राज्यको टाउको दुखाइको विषय बन्थ्यो।

राज्यले गायकको टाउकाको मूल्य तोकेको ठ्याक्कै ३० वर्ष बित्यो। यो बीचमा व्यवस्था फेरियो, लोकतन्त्र आयो। अवस्था भने फेरिएन। त्यो बेला जनताको आवाज बोल्दा थुनिन्थ्यो। अहिले ‘छाडा गीत गाएको’ भन्दै थुनिँदै छ। सर्जकले सिर्जना गरेबापत राज्यको निगरानीमा परी नै रहेका छन्।

त्यो बेला जेवी टुहुरे, जीवन शर्मा थुनिन्थे भने अहिले र्‍यापर भिटेन उर्फ समीर घिसिङ, दुर्गेश थापा थुनिएका छन्।

“जनताको आवाज बोल्ने गीत गाउने र छाडा शब्द प्रयोग गरेर गीत गाउनेबीचको तुलना गर्न मिल्दैन,” जनताको गीत गाउँदै हिडेका लोकगायक बद्री पंगेनी भन्छन्।

“पञ्चायतको बेला होस् या राजतन्त्रको समय, त्यो बेलाको सिर्जनामाथि प्रतिबन्ध लाग्नुको कारण त्यही बेलाको कानुन थियो। अहिलेको कानुनले त्यस्तो कुराहरूलाई सहज बनाएको छ। तर, छाडा तथा अश्लिल कुरालाई बन्देज लगाएको छ।”

जनवादी गीत गाउने र अहिलेको ‘छाडा’ शब्द प्रयोग गरेको भनिएका गीतको तुलना गर्नुको कारण हो- सर्जकले गरेको सिर्जना सधैँ राज्यको विरोधी बन्यो।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा पूर्वअध्यक्षसमेत रहेका गायक पंगेनी थप्छन्, “सर्जकको सिर्जनामा रोक लगाउनु त हुँदैन, तर कस्तो खालको सिर्जना हो? त्यसले समाजलाई कस्तो खालको प्रभाव पार्छ भन्ने कुराको चाहिँ हेक्का हुनुपर्छ।”

सेल्फ सेन्सरसीप अनिवार्य

वाक स्वतन्त्रताको नाममा जे मनमा लाग्यो त्यही सिर्जना गर्ने अधिकार कसैलाई नभएको गीतकार प्रा.डा. कृष्णहरी बराल बताउँछन्। कानुनले वञ्चित गरेका कुरा कुनै पनि हालतमा सिर्जना गर्न नमिल्ने उनको भनाइ छ।

“मानिस सामाजिकसँगै चेतनशील प्राणी हो। मनोरञ्जनको नाममा समाजलाई पाच्य नहुने कुरा त गर्नु भएन। कानुनले रोक लगाएको कुरा गर्न कहीँ पनि मिल्दैन,” प्रा.डा. बरालले भने।

गीत संगीत क्षेत्र सधैँ राज्यको उत्पीडनमा परेको र यसका लागि स्पष्ट कानुनको आवश्यकता रहेको उनको तर्क छ।

“पञ्चायतको बेला होस् या राजतन्त्रको समय, त्यो बेलाको सिर्जनामाथि प्रतिबन्ध लाग्नुको कारण त्यही बेलाको कानुन थियो,” उनले भने, “अहिलेको कानुनले त्यस्तो कुराहरूलाई सहज बनाएको छ। तर, छाडा तथा अश्लिल कुरालाई बन्देज लगाएको छ।”

बेला-बेला आउने यस्ता खालका विवादको समाधान भनेको सिर्जना गर्ने सर्जक नै ‘सेल्फ सेन्सरसीप’मा बस्नुपर्ने गायक पंगेनीको भनाइ छ।

राज्य गम्भीर नबन्दा सर्जकमाथि आक्रमण

गीत संगीतमा एकरूपता ल्याउन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले नीति नियम बनाउन राज्यसँग माग गर्दै आएको छ। तर, सरकारले यो विषयमा अहिलेसम्म सुनवाइ गरेको छैन।

प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले सम्पूर्ण गीतहरूलाई एकद्वार नीतिमार्फत सार्वजनिक गर्ने नीति बनाउन राज्यसँग माग गर्दै आएको बताए। “धेरै वर्षदेखि हाम्रो लबिङ भनेकै एकद्वार नीतिमार्फत जानुपर्छ भन्ने छ। तर, राज्यको कुनै पनि निकायले सुनेको छैन,” अध्यक्ष बिजीले भने।

चलचित्रमा सेन्सरसीप छ। तर, गीत संगीतमा भने कुनै खालको रोकावट छैन। यसले गर्दा एकातिर समाजमा गलत प्रभाव परिरहेको छ भने अर्कोतिर राज्यले करोडौंको राजस्व गुमाइरहेको उनको भनाइ छ।

गीत संगीतबारे राज्य गम्भीर नबन्दा सजर्कहरू मनलाग्दी शैलीमा हिँड्ने र पछि प्रहरीको निगरानीमा पर्ने गरेको उनको भनाइ छ।

“यदि सेन्सरसीप भएको भए त गीत कस्तो छ? शब्द कस्ता खालका छन्? भनेर गीत बन्नुभन्दा पहिला र बनेपछि पनि हेर्न सकिन्छ। त्यस्तो नहुँदा लाखौं खर्च गरेर गीत सार्वजनिक भइसकेको हुन्छ। त्यसपछि राज्यको आँखा जान्छ,” अध्यक्ष बिजीले भने।

तपाईको प्रतिक्रिया