पछिल्लो समय बलिउडका हिट मेशिन भनिने अभिनेता आयुष्मान खुरानाको सोमवार जन्मदिन हो । ३६औं वर्षमा प्रवेश गरेका उनी बलिउडका प्रतिभाशाली कलाकारमध्ये एक हुन् । अभिनयका अलावा उनले नृत्य, गायन र लेखनबाट पनि दर्शकको मन जितेका छन् । हरेक प्रकारका चरित्रमा आफूलाई ढाल्न माहिर मानिने उनी आफ्नो डेब्यू फिल्मलाई भने अभिसाप मान्थे ।

आयुष्मान खुराना सन् २००४ मा एमटिभीको शो रोडिजमा देखिएका थिए । यो शोको उपाधि जितेपछि उनले उद्घोषणको दुनियाँमा पाइला राखे । यसपछि सन् २०१२ मा आएको फिल्म ‘विक्की डोनर’ बाट उनले अभिनय करिअर सुरु गरे । तर, यो फिल्म उनका लागि अभिसाप बन्यो । यो फिल्मपछि उनले थुप्रै फिल्ममा काम गरे तर कुनै चलेनन् । उनले हार पनि मानेनन् ।

एक अन्तर्वार्ताको दौरानमा उनले भनेका थिए, ‘म पहिलो फिल्म ‘विक्की डोनर’ लाई अभिसाप मान्छु । यो मेरो पहिलो फिल्मको अभिसाप हो कि बाँकी फिल्म फ्लप रहे । ‘विक्की डोनर’ एक बेन्चमार्क फिल्म थियो, जसले मप्रति दर्शकको अपेक्षा बढाएको थियो ।’ जब उनले सन् २०१५ मा फिल्म ‘दम लगा के हईशा’ मा काम गरे, यसपछि उनले करिअर पछाडि फर्केर हेर्नु परेको छैन ।

यो फिल्मले दर्शकको मन जितेको थियो । फिल्मका लागि आयुष्मानले निकै मिहेनत गरेका थिए । फिल्ममा उनी अभिनेत्री भूमि पेडनेकरभन्दा कम तौल भएको देखिनु पर्ने थियो, जसका लागि उनले तौल घटाएका थिए । फरक विषयवस्तुका फिल्म गर्न रुचाउने अभिनेता आयुष्मानको पछिल्ला फिल्म ‘अन्धाधुन, बधाई हो, आर्टिकल १५ र ड्रिम गर्ल’ सुपरहिट सावित भएका थिए ।

तपाईको प्रतिक्रिया