- नवीन प्यासी

एक जमाना थियो, गायक गायिकालाई गीत रेकर्ड गराउनै मुस्किल हुन्थ्यो । ६–७ महिना पालो कुरेर रेडियो नेपालमा स्वर परीक्षा पास गर्नुपथ्र्यो । गीत तयार भएपछि स्रोतामाझ पुर्‍याउने एउटै माध्यम थियो, रेडियो नेपाल । अलि पछि रत्न रेकर्डिङ हुँदै निजी व्यावसायिक कम्पनी खुल्न थाले । क्यासेट, सिडीको जमाना आयो ।

पछिल्लो समय भने नेपाली संगीतको ठूलो प्लेटफर्म भनेकै युट्युब भएको छ । दर्शक-स्रोताको पहुँच बढी रहेको यो प्लेटफर्ममा दिनदिनै दर्जनौँ गीत अपलोड हुन्छन् । अन्य डिजिटल प्लेटफर्ममा गीतहरू अपलोड हुने गरे पनि सबैको सहज पहुँच युट्युबमै हो । युट्युबमा अपलोड हुने गीतहरूको यकिन तथ्यांक भेटिन गाह्रो छ, तर हजारौँको संख्यामा नेपाली गीत अपलोड भएका छन् ।

पछिल्लो समय कमजोर र कमसल गीतहरूले बजार पिटिरहेको देखिन्छ । द्विअर्थी शब्द, कमजोर कम्पोज, अटोट्युनको लहर नै भेटिन्छ युट्युबमा । यस्तै, गीत ट्रेन्डिङमा आइरहेका हुन्छन् । जब कि रेडियो नेपालमा एक टेकमा गीत सक्नुपथ्र्यो । अहिले प्रविधिका कारण जति टेकमा पनि गीत रेकर्ड गराउन सक्ने सुविधा छ । जसकारण राम्रो प्रतिभा नजन्मिएको गायक नवीन के भट्टराई बताउँछन् । अहिले पनि एक टेकमै गीत रेकर्ड गराइरहेका भट्टराई भन्छन्, ‘अहिले युट्युब ट्रेन्डिङलाई लिएर कलाकारको क्षमतामाथि निक्र्योल गर्न गाह्रो छ ।’

पछिल्लो समयको नेपाली संगीत बढी इलेक्ट्रोनिक हुँदै गएको र प्राकृतिक स्वरको खडेरी देखिएको भट्टराईको आकलन छ । यसमा पहिलो समस्या त मिहिनेतकै कमी देख्छन् उनी । अहिले भट्टराईको समयमा जस्तो गाह्रो छैन गीत श्रोतासम्म पुर्‍याउन । युट्युबमार्फत आफैँले आइडी बनाएर अपलोड गरे हुन्छ । संसारको जुनसुकै कुनाबाट पनि अपलोड गर्न सकिन्छ । डिजिटल प्लेटफर्मका कारण राम्रा प्रतिभा रातारात सेलिब्रेटी भएका उदाहरण पनि प्रशस्तै छन् ।

तर, मानिसहरूले यस सुविधाको गलत फाइदा उठाइरहेको बुझाइ छ भट्टराईको । ‘पहिला गीत राम्रो हुनुपर्छ । तर, हामीमा गीत राम्रोभन्दा पनि कसरी भाइरल कन्टेन्ट ल्याउने भन्ने ध्येय बढी देखिनुमा समस्या छ । गीत त सुन्ने चिज हो, तर भिडियोलाई बढी प्राथमिकता दिँदै गर्दा असल गीत मरेर जान्छ,’ भट्टराई भन्छन्, ‘तर, एकदिन परिवर्तन त आउने नै छ । अब त अति भयो भन्ने अवस्थामा पुगेका छन् श्रोताहरू । अहिले जुन किसिमको लहर छ, त्यो धेरै समय टिक्दैन । मानिसले अन्तिममा खोज्ने भनेको त क्वालिटी नै हो ।’

अंग्रेजी पपगीतका स्टार जस्टिन बिबर पनि डिजिटल प्लेटफर्मबाटै दर्शक÷श्रोताको नजरमा परेका थिए । सन् २००८ मा स्कुटर ब्राउनले युट्युब भिडियो हेरेकै भरमा जस्टिनको गीत रेकर्ड गराइदिए । त्यसपछि उनी रातारात स्टार भए ।

गत वर्ष भारतीय गायिका लता मंगेशकरको एउटा गीतको कभर भाइरल भयो, ‘एक प्यारका नग्मा हें..’ । गीत गाएकी थिइन् रानु मण्डलले । उनी रेल्वे स्टेसनमा बसेर गीत गाउने गर्थिन् । तर, गीत भाइरल भएपछि उनी बलिउडका ठूला संगीतकर्मीको नजरमा परिन् । गायक तथा संगीतकार हिमेश रेशमियाले उनलाई गीत रेकर्ड गराउने अवसर पनि दिए । अहिले मण्डल स्टार भएकी छिन् । तर, लताको कपी मात्र भएको भनेर उनको आलोचना पनि हुने गरेको छ । तर, डिजिटल प्लेटफर्मले गर्दा नै उनको जीवनले कायापलट गरेको छ । उनी ‘भाइरल’को ट्यागबाट भने मुक्त हुन सकेकी छैनन् ।

नेपालमा पनि कभर गीत गाएर चर्चामा आउने कलाकार निकै छन् । यसमा पहिलो स्थानमा नाम आउँछ, त्रिशाला गुरुङ । उनलाई सुरुवाती चरणमा युट्युबमार्फत नै दर्शक÷श्रोताले चिनेका थिए । अहिले उनले आफ्नै गीत बजारमा ल्याइरहेकी छिन् । यसरी संसारभर नै डिजिटल प्लेटफर्मको सदुपयोग गरेर स्टार भएका कलाकारको लिस्ट लामै छ । तर, नेपालको परिप्रेक्ष्यमा भने अपवादबाहेक कलाकारहरू ‘भाइरल’को पछि दौडिएका देखिन्छन् । दिनमा दर्जनौँको संख्यामा अपलोड हुने गीतहरू दर्शक÷श्रोतालाई यादै हुन्न । सामाजिक सञ्जालमा पैसा तिरेर बुस्ट पनि गराइरहेका हुन्छन् । एक गायिकाको अनुभव छ, एकपटक युट्युबमा अत्यधिक भ्युज पाएका कलाकारसँगै उनको स्टेज सो भयो । करोड भ्युज भएको गीत गाउँदा दर्शक भने चुप रहे । उनी व्यंग्य गर्दै भन्छिन्, ‘कमसेकम त्यत्रो भ्युज गएको गीत त दर्शकलाई याद हुनुपर्ने र कलाकारसँगै गाउनुपर्ने हो । तर, दर्शक त वाल्ल परे ।’

पछिल्लो समय नेपाली संगीतमा हाबी भइरहेको यस्तो प्रवृत्तिले नेपाली संगीतको भविष्य कता जाँदै छ भनेर प्रश्नहरू तेर्सिएका छन् । संगीतकार सुरेश अधिकारीलाई त पछिल्लो समय कलाले आफ्नो सम्मान र इज्जत गुमाइसकेको लाग्छ । ‘पछिल्लो समय नेपाली संगीत दुई किसिमले ध्वस्त हुने चरणमा छ । पहिलो कुरो त व्यापारमा मात्र लाग्नु दुर्भाग्य हो । अर्को कुरा, अहिलेको संगीतको स्वतन्त्र अस्तित्व छैन । संगीत कसैको बकवास झगडासँग, राजनीतिक एजेन्डासँग मिसिएको छ,’ अधिकारी भन्छन्, ‘नेपाली संगीत जब मेकानिकल बनेर गयो, त्यहीँ समाप्त भयो ।’

अहिले अपवादबाहेक प्रायः गीत युट्युबमा विभिन्न किसिमको विवादसँग भिडिरहेको छ । लफडासँग भिडिरहेको छ । युट्युब ट्रेन्डिङमा कुनै बकवास झगडा या लफडा ट्रेन्डिङमा आइरहेको हुन्छ । त्यहीँ गीतहरू यस्ता कन्टेन्टसँग भिडिरहेका हुन्छन् । यहीकारण नेपाली संगीतको भविष्य करिब–करिब समाप्त भइसकेको अधिकारी बताउँछन् । तर, सकारात्मक हुने ठाउँहरू त होलान् नि ? ‘अब त कलाको सम्मान नै बाँकी रहेको देख्दिनँ म । नयाँ गीत आउँछ, न सुर छ न ताल । न कुनै गायकीको ज्ञान छ,’ अधिकारी निराशा पोख्छन्, ‘हामीभन्दा अग्रज कलाकार आफ्नो क्षमताप्रतिको विश्वास र इज्जतका साथ बाँचेका थिए । तर, अहिलेको परिवेश हेर्दा आशावादी हुने कुनै ठाउँ नै देख्दिनँ ।’

अचेल गीत प्रमोसनको सबैभन्दा ठूलो क्षेत्र टिकटकले ओगटिरहेको छ । प्रायःजसो १५ सेकेन्डको भिडियो अपलोड हुने टिकटकमा गीतका केही लाइनमा अभिनय गर्ने या लिपसिङ गर्ने लहर छ । जसको बढी टिकटक बन्यो, त्यही गीतलाई हिटको दर्जा दिने पनि गरिएको छ ।

एउटा गीत कम्पोज, मिक्सिङदेखि रेकर्ड हुँदै भिडियोसम्म आइपुग्दा लाखौँ रुपैयाँ खर्च हुने गर्छ । गीतलाई युट्युबमा अपलोड गरिन्छ । युट्युबबाट प्राप्त हुने न्यूनतम रकमले गीतको लगानी नउठाउने र गीतमाथिको लगानी बालुवामा पानी हालेझैँ हुने एक गायक बताउँछन् । ‘एकदम थोरै गीतले मात्र लगानी सुरक्षित गरेको हुन्छ । तर, हामीजस्तो संघर्षशील कलाकारले ऋण खोजेर गीतमा लगानी गरिएको हुन्छ । पछि गीत पनि चल्दैन, लगानी पनि उठ्दैन,’ उनी भन्छन्, ‘नेपाली संगीतमा दलालहरूको उस्तै बिगबिगी छ । विदेशमा बसेका गीतकार, यहाँ संघर्ष गरिरहेका हामीजस्ता कलाकारबाट मोटो रकम असुलिन्छ । यस्तो प्रवृत्तिको एक पीडित म पनि हुँ ।’

गायक तथा संगीतकार सुनील गिरी यस्तो प्रवृत्तिले आफू हैरान भएको बताउँछन् । सुरुवाती चरणमा सांगीतिक क्षेत्रमा भएका बिचौलिया, दलालहरूको फन्दामा गिरी स्वयं परे । अहिले आएर त्यस्ता प्रवृत्तिबाट आफू मुक्त भए पनि ‘भाइरल’हरूले आजित बनाएको बताउँछन् । ‘बुस्ट गर्ने, ट्रेन्डिङको पछि दौडने, एउटै गीतका लागि चार पाँच लाख खर्च गर्ने प्रवृत्ति मौलाइरहेको छ,’ यस्तो प्रवृत्तिले कालान्तरमा नेपाली संगीतलाई ठूलो घाटामा पु¥याउने बताउँदै उनी भन्छन्, ‘विवादित विषयमा योजनाबद्ध हिसाबले गीत बनाउनु सामान्य भइसक्यो । तर, यसरी नकारात्मक कुरा फैलाएर कहिलेसम्म हिट हुने ? मलाई लाग्छ, यस्ता विषय क्षणिक हुन् ।’

विवादित विषयलाई उठाएर गीत ल्याउने लहरमा गायक तथा मोडेल दुर्गेश थापा पछिल्लो उदाहरण हुन् । एक अन्तर्वार्तामा उनले नारायण गोपालको भनेर भक्तराज आचार्यकोे र यम बरालको भनेर रामकृष्ण ढकालको गीत गाएका थिए । उनको यस अन्तर्वार्ताको भिडियो क्लिप्स भाइरल बन्यो । उनको गायकीमाथि धेरैले प्रश्न गरे । त्यसको केही समयपछि उनै थापाले गीत ल्याए, ‘आलुजस्तो गायक…’ । उनले गीतको भिडियो त्यही विवादलाई आधार बनाएर सुरु गरेका छन् । आफूले अन्तर्वार्तामा गरेको गल्तीप्रति कुनै पनि किसिमको हीनताबोध नभएको आसय गीतमा दर्शाएका छन्, न त कुनै ग्लानि र पछुतो नै । त्यही आफ्नो गायकीमाथिको प्र्रश्नलाई थापाले अवसर ठानेको देखिन्छ ।

गत वर्ष नयाँ वर्षको अवसरमा पोखरामा भएको एक कार्यक्रममा र्‍यापर भिटेनमाथि दर्शकबाट ढुंगा प्रहार भएको थियो । त्यसको केही समयपछि भिटेनले त्यही प्रसंगलाई केन्द्रमा राख्दै ‘साइफर…’ बोलको र्‍याप ल्याए । भिडियोको सुरुवातमै भिटेन अनुहार छोपिएको एक व्यक्तिको हत्या गर्छन् । त्यसपछि पोखरामा आफूमाथि भएको ढुंगा प्रहारको भिडियो क्लिप्स देखिन्छ । भिडियोको ध्येय छ, भिटेनमाथि आक्रमण गर्नेहरूको नियति यस्तै हुन्छ । भिटेनले आफूमाथि भएको आक्रमणलाई समीक्षात्मक कोणबाट लिएको देखिँदैन, बरु बदला लिन खोजेको देखिन्छ । तर, त्यस घटनालाई लिएर गीत नै बनाउनुको कुनै तुक देखिन्न । उनको भिडियोलाई युट्युबमा अहिलेसम्म एक करोड दश लाखले हेरिसकेका छन् ।

यी र यस्तै कारण नेपाली संगीतले आफ्नो सम्मान गुमाइसकेको संगीतकार सुरेश अधिकारी बताउँछन् । जुन किसिमको गहिराइ, गम्भीरता र इज्जतका साथ नेपाली संगीत उभिएको थियो, त्यो ध्वस्त भएको उनको आकलन छ । गायक भट्टराई भने अहिले नेपाली संगीतमा देखिएको ‘भाइरल’ लहर अब उत्कर्षमा पुगेको अथवा मानिसको घाँटीसम्म आइपुगेको बताउँछन् । र, यो संक्रमणकालको आयु धेरै नरहेको उनको भनाइ छ । अर्का गायक गिरी भन्छन्, ‘पैसाको खेतीले मात्र संगीतलाई धान्दैन । अहिले राम्रो गीत सुन्नु भनेको हिमाली भेगमा यार्सागुम्बा खोज्नु जस्तो छ, एकदम दुर्लभ ।’

Sorce :- NayaPatrika

तपाईको प्रतिक्रिया