सामाजिक विषयवस्तुलाई मनछुने ढंगबाट प्रस्तुत गर्न माहिर मानिन्छन्, निर्देशक दीपेन्द्र के. खनाल । यसकारण पनि उनी निर्देशित फिल्मले दर्शक तथा समीक्षकको स्याबासी पाउने गर्दछन् । कमर्शियल र आर्ट दुवै प्रकारका फिल्ममा आफूलाई प्रमाणित गरिसकेका उनी कुशल छायांकार पनि हुन् । दुई फिल्म ‘आमा’ र ‘धनपति’ मा उनको छायांकनको प्रशंसा भएको थियो ।
फिल्म ‘पशुपति प्रसाद’ पछि बजारु मसलाको पछाडि दौडिँदा उनले आफ्नो लय विगारेको आरोप लागेको थियो । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘आमा’ बाट भने उनले पुनः आफूलाई ट्रयाकमा ल्याएका छन् । यो फिल्मले बक्सअफिसमा सानदार कमाई नगरे पनि गत वर्षको उम्दा फिल्म मानिएको छ । यसमा उनको निर्देशकिय शिल्पको मुक्तकण्ठले प्रशंसा भएको थियो ।
‘आमा’ को कलेक्सन ग्राफ उकालो लाग्दै गर्दा देश लकडाउन भयो । यसपछि घरभित्रै सीमित भएका निर्देशक खनाल यतिबेला नयाँ फिल्मका लागि स्क्रिप्ट लेखिरहेका छन् । ‘लगभग लगभग एउटा खाका त बनाइसकेको छु । तर, अलिकता रिसर्ज गरेर जोड्नु पर्नेछ । त्यसका लागि बाहिर निस्किएर खोज्नु पर्ने हुन्छ । काठमाडौंमै हुने जति त गरिरहेको छु,’ निर्देशक खनालले भने ।
उनले नयाँ फिल्म पनि सामाजिक विषयवस्तुमा नै आधारित हुने बताए । उनले अगाडि भने- ‘‘आमा’ र ‘पशुपति प्रसाद’ मा त्यो बेलाको महत्त्वपूर्ण चिजहरु अथवा घटनाहरु समाजलाई भन्नुपर्ने थियो, त्यस्तै नै आउँछ नयाँ फिल्ममा पनि । अहिलेसम्म राम्रै चिज बनेको छ जस्तो लाग्छ । ‘आमा’ भन्दा अझै राम्रो बनाउनु पर्ने चुनौती पनि थपिएको छ । त्यसैले स्क्रिप्टमा मिहेनत गरिरहेको छु ।’’
दशैंपछि छायांकन सुरु हुने फिल्मलाई सर्मिला पाण्डेले निर्माण गर्नेछिन् । फिल्म ‘लभ लभ लभ’ बाट निर्देशक खनालसँग व्यवसायिक सहकार्य गर्न थालेकी उनी पुनः समाजमा घटेको घटनामा नयाँ फिल्म बनाउन लागेको बताउँछिन् । दर्शकले आफ्नो टिमबाट सामाजिक कथाका फिल्म अपेक्षा राख्ने भएकाले ‘आमा’ भन्दा राम्रो फिल्म बनाउन प्रयास गर्ने उनको भनाई छ ।