जानेहरु गइहाले
कहाँ-कहाँ पुग्ने कुन्नि !
यादको मझधारबाट
यादहरु पठाइरहेछु म
कलेटी ओँठमा मुस्कान फिटेर ।
भुल्नु र फुल्नु बिल्कुल उस्तै
फुलेपछि झर्नुपर्छ
बिर्सिएर पनि
नामेट हुन्छन् यादहरु
आजसम्म म तिमीलाई
भुलेकी छैन कसम
यादको गोरेटोहरुमा
तिमीले मैले छोडेर राखेका
थुप्रै यादहरु छन् ।
तिम्रो मायाको परिभाषा
र मेरा यादहरुको
अनुच्छेद
बिल्कुल अर्थहीन भइदिए यहाँ
न आजसम्म अर्थ दियो
तिम्रो मायाको परिभाषाले
न मेरा यादका अनुच्छेदहरुले
पूर्णता पायो
यादका तरेलीहरुमा ।
जब बर्षाहरुले
जमिन भिजाएर जान्छ
उस्तरी भिज्छु म तिम्रो यादमा
सडक किनारमा फुलेका शिरीष
र त्यो झरी
तिम्रो हात समाएर हिँडेका ती
कयौँ उकाली-ओराली ।
कहिलेकाहीँ तिम्रा यादहरुले
मुटु फुट्लाजस्तै गरी चिथोर्छ
फेरि तिम्रो खुसीहरुको
लहर-लहर देख्छु
र यतिकै चुपचाप रहन्छु
बिल्कुल चुपचाप
पोखरीजस्तै जमिरहन मन लाग्छ ।
बाँचिरहेको छु आज
जिउँदो लास भएर
न कोही आउँछन र
समाधिसम्म लैजान्छन्
न कोही आएर दिन्छन् दागबत्ती
कस्तो मसी थियो
लेख्ने मेरो जिन्दगीका रंग
रंगीन भएर पनि
बेरंग-बेरंग छु आज
बेरंग जिन्दगी ।