अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरले २०७औं भानु जयन्ती एवं आधुनिक नेपाली भाषा एकीकरण दिवस कविता बाचनसहित मनाएको छ। समाजले कोरोना कहरको बीचमा समेत भौतिक दूरी लागायत बेल्जियम सरकारले तोकेको मापदण्डलाई पालना गर्दै नेपाली भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन र आधुनिकीकरणमा आदीकविले पुऱ्याएको योगदानउपर चर्चाका साथ आइतबार (१२ जुलाई) भानु जयन्ती एवं आधुनिक नेपाली भाषा एकीकरण दिवस विशेष कार्यक्रमसहित मनाएको हो ।
सो विशेष कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमको सभापतित्व गर्नुभएका अनेसास बेल्जियमका अध्यक्ष परमानन्द सापकोटाले नेपाली भाषा, साहित्यको प्रवर्द्धन तथा विकासका लागि समाज निरन्तर लागिरहेको बताउनुभयो । अध्यक्ष सापकोटाले समितिमार्फत भैरहेका गतिविधिहरुको सह्राहना गर्दै कठिन परिस्थितिमा समेत भौतिक रुपमा उपस्थिति भएर भानुको योगदानबारे चर्चा गर्न पाएको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो।
सो अवसरमा कार्यक्रमका विशेष अतिथिद्वय विमल गिरि र दीपेन्द्र केसीले सबै साहित्यप्रेमी एकापसमा सहकार्य गरेर भाषा, साहित्यको क्षेत्रमा लागिरहेको बताउँदै समाजले सामुहिक रुपमा साहित्यिक कार्यक्रम र प्रकाशनलाई अझै महत्व दिनुपर्ने धारणा राख्नुभयो ।
यसैगरी उहाँहरुले भानु जयन्तीका लागि एनआरएनसँग समेत सहकार्य गरेर तयार रहेको जानकारी दिनुभयो। प्रमूख अतिथिको रुपमा एनआरएनए बेल्जियमलाई आमन्त्रण गरिएको भए पनि उहाँहरु उपस्थित हुनुभएन । अनेशास सदैव सबै संघसंस्थाका साहित्यप्रेमीहरुसंग सहकार्य गर्न तयार हुनुलाई कसैले पनि कमजोरीका रुपमा बुझ्न नहुने गुनासो समेत चर्चाको क्रममा उठेको थियो ।
कविता बाचनमा समाजका कोषाध्यक्ष गोपाल दाहालले सपनामा भानु आए… नामक कवितामार्फत सबैलाई भावुक बनाएका थिए भने समाजका संस्थापक उपाध्यक्ष तथा पुर्वअध्यक्ष विमल गिरि, पुर्वअध्यक्ष दिपेन्द्र केसी, उपाध्यक्ष मोहन खत्री, महासचिव सौरभ कारन्जित, उपाध्यक्ष डिल्ली अम्माई, सचिव लोकनाथ शर्मा, मंजु सापकोटा लगायतले कथा, कविता, गजल र मुक्तक सुनाएर आदीकविप्रति सम्मान भाव प्रकट गरेका थिए ।
कोरोना कहरको बीच बृहत रुपमा बेल्जियमस्थित नेपाली साहित्य र भाषाप्रति अभिरुचि राख्ने व्यक्तित्वहरुलाई सहभागी गराएर भानुजयन्ति मनाइएको हो । करिवदुई घण्टा लामो कार्यक्रमको संचालन बेल्जियम च्याप्टरका महासचिव सौरभ कारंजितले गर्नुभएको थियो। कार्यक्रमको समाप्तिपछि कार्यसमितिको विशेष बैठक बसेर प्रकाशन र संगठनसम्बन्धी केही ठोस निर्णयहरु समेत गरिएको छ ।