लकडाउन नहुँदो हो त बालबच्चाले अभिभावकसँग यति लामो अवधि खेल्न, रमाउन पाउने थिएनन् । आमाबुवा आ–आफ्नै काममा व्यस्त, छोराछोरी विद्यालय र पढाई–लेखाईमा व्यस्त । दुबैले आपसमा भलाकुसारी गर्ने, खेल्ने, रमाउने पर्याप्त अनुकुलता पाएका थिएनन् । जसै लकडाउन भयो अभिभावक र बालबच्चाले एकअर्काको सामिप्यमा रमाउने मौका पाए ।
तर, यस अवधीमा अभिभावकले बालबच्चासँग कति समय भन्दा पनि कस्तो समय विताए भन्ने कुरा महत्वपूर्ण छ । एउटै घरभित्र रहेर पनि अभिभावकले बालबच्चासँग संवाद गरे ? खेल्ने र रमाउने गरे ? घरायसी कामधन्दा सिक्ने र सिकाउने गरे ?
बालबच्चासँग कति समय बिताए भन्ने कुराले खास अर्थ राख्दैन । बरु कस्तो समय बिताए भन्ने कुरा महत्वपूर्ण हो । किनभने लकडाउनकै अवस्थामा पनि धेरै बालबच्चाले आत्महत्यासम्म गरेको पाइन्छ । घरभित्र आमाबुवासँग बस्दा उनीहरु किन यस्तो अवस्थामा पुगे ? यो सोचनिय विषय हो ।
घरभित्र बस्दा बालबालिकाले कस्तो समय विताए ? उनीहरुको दैनिकी थप जटिल वा पट्यारलाग्दो पो बन्यो कि ? आमाबुवाको झगडा वा कलहले पिरल्यो कि ?
हामीले बालबच्चाको अवस्था, मनोविज्ञानलाई कति नजिकबाट बुझ्यौं भन्ने कुरा पनि महत्वपूर्ण छ । घरभित्रै बसिरहँदा उनीहरुको मनमा के के कुरा खेल्यो होला ? उनीहरुले कोरोनालाई कसरी बुझे होलान् ? आफ्नो पढाईबारे उनीहरुले के सोचे होलान् ? अब कहिले स्कुल खुल्छ, कहिले घर बाहिर निस्कन पाइन्छ भनेर कति सोचे होलान् ?
यसै सन्दर्भमा मैले आफ्नो बच्चासँगको अन्र्तसंवाद प्रस्तुत गरेको छु, जसले अभिभावक र बालबच्चावीचको सम्बन्धलाई केही मात्रामा भएपनि उजागर गर्छ भन्ने लागेको छ ।
डा.बालकृष्ण साह
प्रश्न : तपाईं अफिस जान मिल्ने म स्कुल जान किन नमिल्ने ?
उत्तर : बाबु अहिले कोरोना छ, स्कुलमा भिडभाड हुन्छ अनि कोरोना सर्न सक्छ । त्यहि भएर नपठाएको ।
प्रश्न : तपाईं अफिस जाँदा, बजार जाँदा, साथिहरुसंग भेट्दा चाहिँ कोरोना सर्दैन ? म चाहिँ आफ्नो साथिसंग स्कुल जादा चाहिँ सर्ने हो ?
उत्तर : हामी बुझ्छौं । बाबुहरु अलिक बुझ्दैनौ अनि संगै बस्छौं । हात धुदैनौ । मास्क लगाउदैनौ, त्यसैले ।
प्रश्न : साथीसँग चिया, नास्ता खाँदा वा गफ गर्दा पनि मास्क लगाउनु हुन्छ ? बाहिरी सामान छोएर हात धोइहाल्नु हुन्छ ?
उत्तर : होईन । तर म बाहिर नगए, काम नगरे हुदै नहुने भएकाले हो ।
प्रश्न : बाबा, ३ महिना भईसक्यो घर बसेर बोर भईसकें । २–४ घण्टा भए नि स्कुल जान पाए, साथिहरुसँग खेल्न पाए रमाइलो हुन्थ्यो । तपाईं बाहिर गएर आएर हामीसंगै बसे पछि म बाहिर जानू र नजानुले के फरक पर्ला ? कोरोना त तपाईंसंगै घरमा आउन सक्छ, मलाई लाग्न सक्छ । होईन र ?
उत्तर: कुरो त तिम्रो ठिकै हो ।
अहिले विद्यालय बन्द छन् । सरकारले पनि विद्यालय खोल्ने अनुमति दिएका छैनन् । यसको कारण हो, कोरोनाको संक्रमणबाट बालबालिकालाई जोगाउनु । हाम्रा बालबालिकाहरुमा कोरोना संक्रमण नहुन दिन एसईई पनि यस पटक नलिने भएको छ, ११ र १२ को परिक्षा भएको छैन । अहिले विद्यालय खुलिहाले भने पनि हामी आफ्नो प्यारो नानी बाबुहरुलाई विद्यालय पठाउने मनस्थितीमा पक्कै छैनौं । हामी आफुलाई जोखिममा राखे पनि हाम्रा बच्चालाई जोखिममा राख्न पक्कै चाहदैनौ ।
कोरोना चाडै फैलन सक्ने संक्रमण हो । यो भाईरस ह्याछ्युँ गर्दा, खोक्दा वा सास फेर्दा हावामा आउछन् र हाम्रो हाथ तथा श्वासप्रश्वासको मद्दतले अर्को व्यक्तीमा सर्ने भएकाले मास्क लगाउने, समाजिक दुरी कायम गर्ने र बारम्बार हाथ धुने तथा हाथ नधुई नाक, मुख नछुने गर्नु पर्छ भन्नेकुरा सबैलाई थाहा छ । तर पनि यो लागु हुन गा¥हो भएकै कारण पहिले लकडाउन र अहिले पनि भिडभाड नगर्न, सभा सम्मेलन गर्न रोक लगाएको हो । स्कुले बालबालिकाहरुले यी सावधानी पक्कै अपनाउन सक्दैनन्, त्यसैले स्कुलका कुनै विद्यार्थीमा संक्रमण भए सबै विद्यार्थीहरु संक्रमित हुने र विद्यार्थीका संगसगै अभिभावक सम्म यो फैलिन सक्ने हुन सक्छ । त्यसैले विद्यालय सञ्चालन गर्नु भनेको ठुलो जोखिम लिनु हो ।
अहिले हामी बाहिर जान थालेका छौ । हुनत् हाम्रो समुदायमा कोरोना देखिएको छैन तर घर बाहिर काम गर्दा, बजार जादा तथा बजारका सामग्रीहरु घरमा भित्रयाउदा कोभिड१९ पनि भित्रिने केहि सम्भावना अवश्य छ । अझ अहिले लामो समय देखि रोकिएको बैठक, भेटघाट तिब्र भएका छन् । हाम्रा नानीहरु घरमा सुरक्षित भएता पनि हामी असुरक्षित छौ र हाम्रा कारणले घरका अन्य सबै असुरक्षित पक्कै भएका छन् । त्यसैले विद्यालय बन्दले हाम्रो नानी विद्यालयबाट सुरक्षित होला तर वास्तविक सुरक्षित छन् र ?
लामो समयदेखि बालबालिकाहरु स्कुल नगए पछि, साथीहरुसँग खेल्न नपाए पछि उनीहरुमा पनि मानसिक र समाजिक असरहरु देखिदैन भन्नु गलत होला । साथिसँग खेल्ने रहर कसलाई हुदैन र ? स्कुलमा नानीहरु पढ्ने मात्रै हुदैनन्, रमाईलो नि गर्छन्, आनन्दित हुन्छन् । घरमा दिनभरी मोवाईल र टेलिभिजनमा व्यस्त राख्नु भन्दा थोरै समय उनकै साथीहरुसँग रमाउनु राम्रो हुन्छ कि ?