काठमाडौं – हास्य टेलिश्रृङ्खला ‘जे होला होला’ले दर्शकको मन जितिरहेको छ । रमाइलो टेलिभिजनबाट हरेक बिहिबार ८ः३० बजे प्रशारण हुने हास्य टेलिश्रृङ्खला ‘जे होला होला’को २५ औं भाग दर्शकमाझ आइ पुग्दा यो श्रृङ्खला दर्शकको अत्याधिक रोजाइमा पर्न सफल भएको हो ।

समसामयिक विषयका साथै घरवेटी र भाडावालका कुरा उठान गरिएको यो हाँस्य टेलिश्रृङ्खला दर्शकको चाहना अनुसार प्रस्तुत गरिरहेको टेलिश्रृङ्खलाका लेखक तथा निर्देशन सल्लाहकार उत्तम केसीले जानकारी गराए । ‘लकडाउनको अवधिमा पनि हामीले घरमै बसिरहनु भएका दर्शकलाई मनोरञ्जन प्रदान गर्ने हेतुले यसलाई निरन्तरता दिइरहेका छौ’, उत्तमले भने ‘हाम्रो टिमले मिहिनेत गरेर एउटा समसामयिक हाँस्य टेलिश्रृङ्खला दर्शकमाझ प्रस्तुत गरिरहेका छौ, यसले छोटो समयमै सबैको मन जित्न सफल भएकोमा हामी उत्साहित पनि भएका छौ ।’

‘हामीले हरेक श्रृङ्खलामा फरक स्वाद पस्किने कोशिस गरेका छौ र सबैको साथ सहयोग पाइरहेका छौ, अझ मायाको अपेक्षा गरेका छौ’, निर्देशक दमनले भने । यस्तै श्रृङ्खलामा घरबेटी आमाको भूमिका निभाउने गीता नेपालले ‘जे होला होला’ हास्य श्रृङ्खलालाई दर्शकको रुची अनुसार पस्किने कोशिस गरेको बताइन भने मुख्य सहायक निर्देशक उत्सव केसीले सवै वर्ग र समुदायलाई लक्षित गरेर सामाग्री प्रस्तुत गर्ने गरेको बताए । उनले भने ‘लकडाउनले केही समस्या आएको भए पनि हामीले दर्शकमाझ यो टेली श्रृङ्खला मार्फत हास्य खुराक पस्किरहेका छौ ।’

अग्रज र अनुभवि हाँस्य कलाकार उत्तम के.सी. नेपालको लेखन, दमन रुपाखेतीको निर्देशन रहेको यो हाँस्य टेलिश्रृङ्खलामा उत्सव केसीको मुख्य सहायक निर्देशक रहेको छ । टेलिश्रृङ्खलामा उत्तम केसी नेपाल, लक्ष्मण विक्रम वस्नेत, दमन रुपाखेती, मुकुन्द मैनाली, सुशीला निरौला, गीता नेपाल, उत्सव केसी, लक्ष्मिनाथ तिमिल्सना, विमला गौतम, सुमितकुमार घिमिरे, सबिता गजमेर, पूरुषोत्तम खडका, मनिता डंगोल, सरस्वती पाण्डे, सागर खडका, कृष्णभिर, प्रकाशविक्रम थापा, दिक्क्षा थापा, मिठ्ठुकृष्ण श्रेष्ठ, टिकटकमा धेरै मन पराइएका जुमल्या दिदी बहिनी सतरकता र सजगता श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

तारकेश्वर कला प्रतिष्ठानको प्रस्तुति रहेको यो हाँस्य टेलिश्रृङ्खलाको कार्यकारी निर्माता उज्मा केसी र श्रीतिजा केसी रहेका छन् ।

तपाईको प्रतिक्रिया