केही समययता नेपाली सांगीतिक क्षेत्रमा प्रतिलिपि अधिकारको कुराले निकै गर्मागर्मीको स्थिति पैदा गराइरहेको छ। रेडियो नेपालले उत्पादन गरेका गीतहरु निजी संगीत कम्पनीहरुले बिक्री वितरण गर्दै नाफा कुम्ल्याएको र रेडियो नै त्यसको पक्षधर भएको आरोप लागिरहेका बेला रेडियो नेपालले ३५ दिने सूचना जारी गरी आफ्नो सम्पत्तिको रक्षाको कदम अघि बढाएको थियो। यसै सन्दर्भमा हामीले सो सूचनापछि रेडियो नेपालको कदम, भावि योजना र सम्पत्ति रक्षाका लागि रेडियो नेपालको लडाईं लगायतका प्रसंगमा रेडियो नेपालका उपनिर्देशक टीका भण्डारीसँग ईश्वरकुमारको अन्तरंगः
कुनै समय चचित संगीताकार हुनुहुन्थ्यो, अहिले त सुस्ताएझैँ लाग्छ नि ? जागिरले त मान्छेको रचनात्मक क्षमतालाई असर गर्दोरहेछ कि क्या हो ?
सुस्ताएकै भन्न त मिल्दैन। गीतसंगीतमै सक्रिय छु। एक समय ‘गोली शिशाको’ले अपार सफलता पायो। त्यसपछिको समय पनि बदलियो। निर्देशककै घरमा गएर काम गर्नुपर्ने अवस्था आयो। यता जागिर पनि थियो। समय पर्याप्त दिन नसक्दा उल्लेख्य काम हुन सकेन। जागिरले केही समय बढी लिँदा रचनात्मक कार्यलाई असर त पक्कै पनि परिहाल्छ !
संगीतको रस कसरी पस्यो तपाईंमा ?
मेरी आमा भजन गाउनु हुन्थ्यो। बा बच्छे बाजा (माउथअग्र्यान) बजाउनु हुन्थ्यो। काकाको परिवारमा पनि सांगीतिक माहोल थियो। विषेशतः मेरी आमाबाट संगीतको गुण ममा आयो जस्तो लाग्छ मलाई।
अनि पिएचडी पनि संगीतमै ?
हो, मैले ‘नेपालको राजनैतिक परिवर्तनमा गीतको भूमिका’मा पिएचडी गर्दैछु।
पिएचडीका क्रममा के पाउनुभयो त ? राजनैतिक परिवर्तनमा गीतसंगीतको भूमिका के पाउनुभयो ?
हरेक राजनैतिक परिवर्तनमा गीतसंगीतले जागरण ल्याउन असाध्यै ठूलो भूमिका खेल्दै आएको छ। २०४६ सालको आन्दोलन, २०६२–६३ कै आन्दोलन हेर्नुस्, मधेस आन्दोलनमै र माओवादी द्वन्द्वका लागि गीतलाई भरपूर प्रयोग गरियो। विषेशतः जागरण ल्याउन, ऊर्जा बढाउन र सधैँ झक्झकाइरहनका लागि अति नै महत्वपूर्ण भूमिका खेल्ने गर्छ र गर्दै आएको अध्ययनले पनि देखाउँछ।
तपाईं गीतसंगीतलाई माया गर्ने मान्छे, रेडियो नेपालको पनि कर्मचारी अनि रेडियोकै गीतहरु बिचल्लीमा परिरहेका छन्, निजी कम्पनीले यसका गीत बेचेर नाफा कमाइरहेका छन्। मनमा कस्तो–कस्तो लाग्दैन ?
खासमा हामीले हाम्रो सम्पत्तिको महत्व बुझ्न सकेनौँ। राज्यले जहिले पनि गीत संगीतलाई हल्का मनोरञ्जनात्मक सामग्रीको रुपमा मात्र देख्यो। रेडियोमा जति पनि प्रमुखहरु आउनु भयो, कसैले पनि गीतको महत्व बुझ्न सक्नु भएन। पछिल्लो समय रेडियोका गीतहरुबाट बाहिरी कम्पनीहरुले आर्थिक कारोबार गर्दै आएको कुरा आयो, त्यसपछि स्रष्टालाई पनि मर्का नपारी आफ्नो अधिकारको बारेमा सचेत हुन खोज्दैछ।
आफ्नै सम्पत्तिलाई अरुले करोडौँको आर्थिक कारोबार गर्दै आएको प्रमाण नै भेटिएपछि पनि रेडियो अझै सचेत हुन मात्र खोज्दैछ है ? रेडियो किन डराएको यसरी ?
डरायो नै नभनौँ। रेडियोले आफ्ना गीतको खोजी सुरु गरिसकेको छ। रेडियोका जुन गीत चोरिएका छन्, ती गीतबारे छनबिन गर्न समिति गठन भएको छ। रेडियो प्रक्रियागत रुपमा जाँदैछ।
आफ्ना गीत आफ्नै भन्न पनि यत्रो प्रक्रिया मिलाउनुपर्ने है ?
रेडियो नेपालले उत्पादन गरेका गीतहरु रेडियोकै हुन्। त्यस बेलाको प्रचलित शर्त र ज्याला दिएर रेडियोले गीतहरु उत्पादन गरेको हो। आफ्नो सम्पत्तिलाई हामी हिजो पनि आफ्नै भनिरहेका छौँ, आज पनि र भोलि पनि त्यै भन्छौँ। बकाइदा सर्जकले रेडियोबाट पारिश्रमिक लिएर रेडियोलाई मञ्जूरी दिनु भएको छ।
अनि म्युजिक नेपाल त सर्जकहरुले नै व्यापार गर्न मञ्जुरी दिएको हो भन्दैछ त ?
मैले अघि पनि भनेँ, सर्जकलाई रेडियोले पैसा दिएर गाउन, बजाउन, लेख्न, लगाएको हो। रेडियोको लगानीमा उत्पादन भएका गीत कसरी अरु कसैको हुनसक्छ ? रेडियो नेपालले उत्पादन गरेका गीतहरु रेडियो नेपालकै हो। हामी कुनै भ्रममा नपर्दा हुन्छ।
सर्जकलाई त मजदुर पो बनाउनु भयो त ?
त्यति बेला एउटा गीत गाएको पैसाले घरजग्गा जोड्न सकिने अवस्था थियो। त्यति बेलाको राम्रो पारिश्रमिक दिएर रेडियोले गीत उत्पादन गरेको हो। अनि उनीहरुको संलग्नतालाई रेडियोले सदैव कदर गर्दै आएको छ। भनेपछि कसरी मजदुर बनाइयो र ?
गीतसंगीत सर्जकको बौद्धिक सम्पत्ति होइन र भन्या ? अचल सम्पत्ति जसरी रेडियोले व्यवहार गरेको देखियो नि त ?
बौद्धिक सम्पत्ति होइन भन्ने त सवाल नै छैन। रेडियोले सर्जकको बौद्धिक क्षमताको पारिश्रमिक तिरेको छ नि ! त्यै पनि पहिले आजको जस्तो जमाना थिएन। त्यति बेला गीतसंगीत भनेको साधना थियो। आत्मसन्तुष्टि थियो। सर्जकहरु पैसा भन्दा पनि सृजनामा केन्द्रित थिए। रेडियो बाहेकको विकल्प अरु थिएन पनि।
त्यही विकल्प नहुँदा रेडियोले शोषण ग-यो। जस्तो गीत कति पटक बज्छ ? अनि त्यो बजेको बापतको रोयल्टी पाउने नपाउने, कहिलेसम्म रेडियोको सम्पत्ति रहने भन्ने लगायतका कुराहरु त त्यति बेलाको सम्झौतामा थिएन नि होइन ?
त्यतिबेला सम्झौता भनेको ‘मेरो राजीखुसीले यति पारिश्रमिक लिएर मैले रेडियोलाई सृजना सुम्पेको छु’ भनेर सर्जक आफ्नो बाटो लाग्थे। अनि त्यति बेलाको समयमा गीत बज्नु र गाउनु नै ठुलो कुरा थियो। न सर्जक नै दूरदर्शी हुन सके, न रेडियो नै। अब रोयल्टीको कुरा त कति नै पो पुरानो हो र ? त्यतिबेलाको प्रचलित कानुनअनुसार रेडियोले काम–कार्बाही गरेको हो। यसलाई शोषण भन्न मिल्दैन। रेडियोले बकाइदाले उनीहरुको क्षमताको कदर गर्दै पैसा दिएको छ।
रेडियोका पचास हजार गीत निजी कम्पनीमा पुग्यो भन्ने हल्ला छ। रेडियोले उत्पादन गरेका गीत संख्या चाहिँ आधिकारिक रुपमा कति हो ?
पचासौँ हजारको कुरा सरासर झूट हो हेर्नुस्। रेडियोसँग भएको गीत भनेको ३५ हजार हो। २५ हजार हाम्रो आफ्नै उत्पादन हो। बाँकी १० हजार अन्य छन्।
अनि रत्न रेकर्डिङले उत्पादन गरेका गीतहरु नि ?
रत्नका गीतहरु घुमाउरो तरिकाबाट केही रेडियो नेपालमा आइपुगेका छन्। ती गीतहरुको अवस्था के–कसो छ, नेपाल टेलिभिजनलाई राम्रोसँग थाहा होला।
कति जति गीत रेडियोबाट हराएछन् ? तपाईहरुसँग तथ्यांक छ ?
ट्याक्कै यत्ति नै भन्न अहिले सकिँदैन। त्यसबारे छानबिन हुँदैछ। समितिले खोजी गर्दैछ।
भनेपछि अर्थ–मन्त्रालयसँग पैसा माग्न आवश्यक तथ्यांक मात्र छ होला है ?
हाहा… त्यस्तो पनि होइन। हामी चुकेका हौँ। मैले अघि पनि भनिसकेँ, हिजोको व्यवस्थाले गीतसंगीतलाई कुनै महत्वमै राखेन। त्यो बेला नै हामी आत्मनिर्भर हुन सक्थ्यौँ।
आत्मनिर्भर हुन भोलिका दिनमा पनि सम्भव देखिदैन यहाँ त !
हैन, हामीले करिब २० वर्षअघिदेखि नै रेडियोका गीतहरु चोरी भइरहेका छन् भनेका थियौँ तर हाम्रो कुरा कसैले सुनेनन्। विगत छ वर्षयता रेडियोले आफूले उत्पादन गर्दै आइरहेको श्रव्य सामग्रीको डिजिटलाइज गर्दै आइरहेको छ। भोलिका दिनमा हाम्रा नीति तथा कार्यव्यापार समयानुकूल हुँदै जाला। हाम्रो सम्पत्तिको उचित व्यवस्थापन भएको खण्डमा एक दिन रेडियो आत्मनिर्भर नहोला भन्न सकिदैन।
आत्मनिर्भर हुने क्रमका लागि आफ्नो सम्पत्ति खोज्दै ३५ दिने सूचना जारी गरेको थियो नि, आज त ७० दिनै कट्लाजस्तो भयो नि ?
रेडियोले सूचना जारी ग-यो। त्यसपछि छलफलका लागि म्युजिक नेपालका सन्तोष शर्मा आउनु भयो।
छलफल मात्र भयो ? ३५ दिनभित्र सम्पूर्ण आर्थिक कारोबारसहित गीत फिर्ता गर्न निर्देश नै जारी भएको थियो नि ?
यसबारे निष्कर्षमा पुग्न सञ्चारमन्त्रीले राजीनामा दिनु भएपछि अहिले संस्कृति मन्त्रालयले गम्भीर भएर यस विषयलाई हेर्दैछ। छानबिन हुँदैछ। रेडियोले आफ्नो सम्पत्ति जसरी पनि लिन्छ। त्यसमा दुई मत छैन।
केही सर्जकहरुले त उत्पादन मात्र रेडियोको हो। रोयल्टी चाहिँ सर्जकले पाउनु पर्छ भन्ने कुरा राखेको पाइयो नि ?
भनेर हुन्छ र ? अर्काको सम्पत्तिको हिसाब मागेर पाइन्छ ?
अनि आफ्नै सम्पत्तिको त हिसाब मागेर पाइन्छ होला नि ! सबै कुरा थाहा हुँदाहुँदै किन तैँ चुप–मै चुप ? कि सञ्चारमन्त्रीको छायाँ परेको छ नेपालको जेठो प्रसारण संस्थालाई ?
यत्ति केमा ढुक्क हुनुस् भने रेडियोले उत्पादन गरेका गीतहरु हिजोको दिनमा छरिए। कति सामुदायिक प्रयोगका लागि भनेर, कति सार्वजनिक प्रयोगका लागि भनेर, कति सरकार मातहतको संस्थातिर पुगे तर व्यापारिक प्रयोजनका लागि रेडियोले कसैलाई, कतै गीत दिएको छैन। अब जस–जसले रेडियोको गीतबाट आर्थिक कारोबार गरिरहेका छन्, ती सबैको छानबिन गरेर समितिले निर्णय निकाल्ने छ। यति चैँ पक्का हो, रेडियोको गीत अब रेडियोमा नै आउँछ।
मानौँ, यदि निजी संस्थाले नाफाको आर्थिक कारोबारसहित गीत फिर्ता ग¥यो भने हिजोका दिनमा सर्जकले लिएको रोयल्टी चैँ के हुन्छ ? सर्जकसँग लडाईं गर्ने कि सर्जकलाई गरी खा भनेर छाडिदिने ?
यो त हाम्रो समस्या होइन। जसले हाम्रो गीत बेचेको छ, उसैले गर्छ जे गर्ने हो। सर्जकसँग उठाउने हो कि आफैँले तिर्ने हो कि ! हामी कसैसँग लडाईं गर्दैनौँ र हाम्रो सम्पत्ति कतै कसैलाई यसै छाड्दैनौँ पनि।
तर हेरी ल्याउँदा त्यस्तो व्यवहार त देखिदैन नि ?
सबै कुरा समयमा निर्भर हुन्छ हेर्नुस्, समय अब बदलिँदैछ। हामी समय अनुकूल हुन खोजिरहेका छाैँ। हामीलाइ यो जुन गीत प्रकरण छ, यसले हाम्रो जिम्मेवारी अझ बढी बोध गराएको छ। राज्य नै गम्भीर भएको छ यस विषयमा। अब यसले एउटा राम्रो बाटो समात्ने छ भन्नेमा म आशावादी छु।
सर्जकहरु साह्रै बदमास है ?
सबै सर्जकलाई बदमास भन्न मिल्दैन तर केही सर्जक बदमास भएकै हुन्। उनीहरुले रेडियोलाई घात गरेकै हुन्। कति त बितेर गइसके, कति हुनुहुन्छ पनि। उहाँहरुले गरेको बदमासीको जवाफ हामीले अहिले दिइरहनु परेको छ !
आफ्नो सम्पत्ति संरक्षण गर्न नसक्ने, अनि दोष पूरै अरुमाथि थोपर्नु जायज होला र ?
हामीले त्यस बेलाको प्रविधिअनुसार अर्काइभ गरेर राखेका हौँ। हामीले राखेको चिजहरु हामीसँगै छन्। सर्जकले निजी प्रयोजन भन्दै लोभमा परेर निजी संस्थालाई दिए। रेडियोका कत्ति कर्मचारीको पनि संलग्नता रह्यो होला। देशको राजनैतिक अवस्थाले पनि हामीलाई प्रभाव पा¥यो होला। रेडियोमा जति आए, गीतसंगीत बुझ्ने र रेडियोलाई आत्मनिर्भर बनाउने मान्छे कमै आए। अनि सबैभन्दा ठूलो कुरा हामी दूरदर्शी हुन सकेनाैँ।
चोरी भएका भनिएका सबै गीतहरु र आर्थिक हिसाब फिर्ता पाउनु भयो भने त्यसको व्यवस्थापनको तयारी के छ ?
हामी अहिले अध्ययन र छलफलको क्रममा छौँ। गठित समितिले पनि कुनै उपाय निकाल्ला नि ! आर्थिक पाटो चैँ सर्जकहरुकै हकहितमा प्रयोग हुन सक्ला !
रेडियो अलमलमा छ है ?
अलमलमा नै त छैनौँ। हामी प्रक्रियागत रुपमा जाँदैछाैँ।
आज आएर तपाईंहरु सृजनाको बजार र मूल्य खोज्दै हुनुहुन्छ। पहिल्यै यी कुरामा ध्यान दिएको भए,
आज न सर्जक बदमास हुनुपथ्र्यो, न कुनै संस्था, अनि न रेडियो नेपाल बदनाम हुन्थ्यो, होइन ?
कमजोरी रह्यो। रहेन म भन्दिनँ। सर्जकले आफ्नो निजी लगानीमा उत्पादन गरेका सामग्री होइनन् ती। राज्यका सम्पत्ति हुन्। मैले अघि नै पनि भनेँ, हामी दूरदर्शी हुन सकेनौँ। अब भोलिका दिनमा यस्ता समस्या नहुन् भनेर हामी सचेत भने पक्कै हुनेछौँ।
पछिल्लो समय रेडियो नेपालले रेकर्डिङ नै किन बन्द गरेको नि ?
बजारमा धेरै स्टुडियोहरु आए।
भनेपछि अब हामीले भित्र–भित्र पैसा खान नपाउने भयौ, के रेकर्ड गर्नु भनेर हो कि ?
गीतहरु आउनलाई समस्या भएन अनि राज्यले पनि त्यसमा थप लगानी गरेन।
अनि रेडियोले गर्ने वार्षिक गायन प्रतियोगिता नि ?
चलिरहेको छ। हरेक चैत्र २० गते हुने गथ्र्यो। अब यो साल कोरोनाको भय छ। अहिले भन्न सकिने अवस्था छैन।
अब त पहिले जस्तो रेडियोको जमाना पनि रहेन। रेडियो त लगभग मरी नै सक्यो है !
छैन नि मरेको ! रेडियोको छुट्टै अस्तित्व छ।
हिजोका दिनमा रेडियो नेपालका लोकप्रिय कार्यक्रमहरु आज लोप भए ?
लोप भन्दा पनि त्यसको प्रकृति फेरिएको हो। हामी समयअनुसार चल्न खोज्दै छौँ। तेसैले त्यस्तो लागेको हुनसक्छ। हिजोको समयमा हिजोका कार्यक्रमको महत्व जस्तो थियो, आज त्यही नहुन सक्छ। समय अनुसारका कार्यक्रमहरु बन्दै छन्, बनाइरहेका छौँ। एउटा अध्ययनअनुसार रेडियो नेपाल अझै पनि सबैभन्दा बढी सुनिनेमा पर्छ। हाम्रा अधिकांश कार्यक्रम प्रायोजित छन्। भनेपछि, लोकप्रिय त अचेलका कार्यक्रम पनि छन्।
पहिले र अहिलेको रेडियो नेपाललाई हेर्दा के फरक पाउनु हुन्छ त ?
पहिलेको रेडियो नेपाल एक्लैटी थियो। अहिले प्रतिस्पर्धा छ। सुन्ने विकल्प बढी छ। रेडियो नेपाल सञ्चार इतिहासमा सदैव अगाडि नै रहनेछ। देशको राजनैतिक अवस्थासँगै हामी पनि बदलिरहेका छाँै। समय सबैभन्दा ठूलो कुरा हो। समयसँग हामी पनि मिल्न खोज्दैछाैँ।